धादिङ समाचारदाता
धादिङ, फागुन २१ गते । धादिङमा आयुर्वेद सेवाप्रति आकर्षण बढ्दो छ तर आयुर्वेद अस्पतालमा बिरामी भर्ना गरेर उपचारार्थ राख्न सक्ने अवस्था छैन । पछिल्लो समयमा आयुर्वेद सेवातर्फ सेवाग्राहीको आकर्षण बढेको र धादिङमा दैनिक ८० जनाभन्दा बढीले सेवा लिने गरेको जिल्ला आयुर्वेद कार्यालय धादिङका प्रमुख डा. अमुल्य दाहालले बताउनुभयो ।
धादिङमा आयोजित कार्यक्रममा कार्यप्रगति विवरण प्रस्तुत गर्दै प्रमुख दाहालले चालु आर्थिक वर्ष २०८०-८१ को हालसम्म १४ हजार ३९२ जना नागरिकले सेवा लिएको बताउनुभयो ।
जसमध्ये चार हजार ३९६ ले बहिरङ्ग सेवा, एक हजार १११ जना ज्येष्ठ नागरिक, ८६ जना स्तनपायी आमा, दुई हजार ६३६ जनाले पूर्वकर्म-पञ्चकर्म, ७३७ ले प्याथोलोजी ल्याब सेवा, ८०५ जनाले अकुपन्चर सेवा, ८०१ ले फिजियोथेरापी सेवा र नागरिक आरोग्य सेवा केन्द्रबाट तीन हजार ७५७ जना नागरिकले सेवा लिएका छन् ।
आयुर्वेद सेवामा उपचारात्मक र प्रवर्धनात्मक सेवा सञ्चालन गरिएको बताउँदै डा. दाहालले १६ श-याको अस्पताल भनिए पनि एक जना पनि भर्ना गरेर राख्न मिल्ने अवस्था भने नभएको बताउनुभयो । कार्यव्रmममा सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले मौलिक चिकित्सा प्रणाली आयुर्वेद भएकोले प्रचारप्रसार गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष भरत ढुङ्गानाले सरकारले व्यवस्थापन समिति गठन गरेर काम गर्न नदिएको भन्दै हातखुट्टा बाँधेर काममा पठाएको आरोप लगाउनुभयो ।
पछिल्लो समय जिल्लाका विभिन्न स्थानबाट पेट दुख्ने, खान नरुच्ने, ग्यास्टिक, ढाड, कम्मर दुखेको जस्ता समस्या भएका बिरामी आयुर्वेद औषधालय तथा नागरिक आरोग्य केन्द्रमा धाउन थालेका भन्दै केन्द्रका सूचना अधिकारी प्रकाश सापकोटाले आयुर्वेद उपचार पद्धतिमा नागरिकको विश्वास बढ्दै गएको बताउनुभयो ।
उहाँले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट २३ प्रकारको आयुर्वेद औषधी निःशुल्क पाउने बताउनुभयो । त्यस्तै केन्द्रको सःशुल्क फार्मेसीमा ६० प्रकारको औषधी पाइन्छ ।
धादिङबेँसीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ भने सिद्धलेक, नेत्रावती डबजोङ, थाक्रे, गल्छी, ज्वालामुखी गाउँपालिका र धुनीबेँसी नगरपालिकामा नागरिक आरोग्य केन्द्र सञ्चालनमा रहेको छ ।