• १२ साउन २०८१, शनिबार

धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

blog

प्रादेशिक ललितकला प्रदर्शनी उद्घाटनको क्रममा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कमलबहादुर शाह।

अविनाश चौधरी

धनगढी, फागुन २० गते। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आजबाट प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ। 

नेपाल ललितकला प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको हो। प्रदर्शनीको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्नुभयो। सो क्रममा उहाँले प्रदेश सरकारले ललितकलामा क्रियाशील सृजनशील व्यक्तिको उच्च सम्मान गर्ने बताउनुभयो। ललितकलामा आवद्ध भएका व्यक्तिहरुलाई हौसला प्रदान गर्ने गरी प्रदेश सरकारले आगामी दिनमा पनि विभिन्न कार्यक्रम गर्ने मुख्यमन्त्रीको भनाइ थियो। 

प्रदेश सरकारले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन बनाउने क्रममा रहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो,“विभिन्न कुरालाई हामीले ऐनमा समेट्ने कोसिस गरिरहेका छौं।” सबैको अपनत्व हुने गरी ऐन बनोस भन्ने आफ्नो चाहना रहेको मुख्यमन्त्री शाहको भनाइ थियो। 

फागुन २४ गतेसम्म हुने प्रदर्शनीमा हस्तकला, चित्रकला, मूर्तिकला र लोककला समावेश रहेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले जानकारी दिनुभयो।