• ४ जेठ २०८३, सोमबार

इन्दिरा चिनी मिलले अझै तिरेन किसानको उखु भुक्तानी

blog

प्रतापपुरमा बन्द अवस्थामा रहेको इन्दिरा चिनी मिल । तस्बिर : विकास अधिकारी

बिकास अधिकारी
पश्चिम नवलपरासी, जेठ ४ गते ।
पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी मिल (इन्दिरा सुगर एण्ड एग्रो इन्डस्ट्रिज प्रा.लि.) ले किसानको उखु खरिदबापतको भुक्तानी अझै नगरेको पाइएको छ । मिलले करिब ६ करोड रुपियाँ तीन वर्षभन्दा बढी समयदेखि भुक्तानी गर्न बाँकी राखेको हो ।

उखु क्रसिङको सिजन सकिन लाग्दा समेत इन्दिराले किसानको लामो समयदेखिको बक्यौता भुक्तानी गरेको छैन भने चालु सिजनमा समेत उद्योग सञ्चालनमा आएको छैन । जिल्लाका अन्य चिनी उद्योगहरूले धमाधम उखु क्रसिङ गरिरहँदा इन्दिरा मिलका सञ्चालक सम्पर्कविहीन रहेको बताइएको छ । उद्योग सञ्चालक भारतमा बस्दै आएको पनि स्रोतले जनाएको छ ।

उद्योगमा केही कच्चा पदार्थ र बिक्रीयोग्य सामग्री रहेकाले ती सामग्री बेचेर भए पनि किसानको भुक्तानी गर्ने प्रयास भइरहेको उखु उत्पादक महासङ्घका प्रवक्ता तथा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । तर सो प्रयास पनि सफल हुन नसकेको उहाँको भनाइ छ । हाल उद्योग परिसरमा बैंकका सुरक्षागार्ड मात्र रहेको बताइएको छ ।

“हामीले किसानको भुक्तानीका लागि पहल गरिरहेका छौँ, तर अब सङ्घीय सरकारले नै ठोस पहल गर्नुपर्छ,” यादवले भन्नुभयो, “उद्योगका कुनै पनि जिम्मेवार व्यक्ति सम्पर्कमा छैनन् ।”

नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य विक्रम खनालले उखु बक्यौता भुक्तानीका लागि सरकारले आवश्यक वातावरण बनाउन माग गर्नुभएको छ । उहाँले भुक्तानी माग्न जाँदा सधैँ ‘भोलि’ भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने भन्दै सरकारलाई सदनबाट पनि ध्यानाकर्षण गराएको बताउनुभयो ।

उखु खेती गर्दै आएका किसानहरूले लामो समयसम्म भुक्तानी नपाउँदा पनि सरकार गम्भीर नभएको गुनासो गरेका छन् । जिल्लाका तीन चिनी उद्योगमध्ये लुम्बिनी सुगर मिल (सुनवल) र बागमती खाडसारी चिनी उद्योग (सुस्ता) सञ्चालनमा रहेका छन् ।