• ४ जेठ २०८३, सोमबार

महाकाली कोरिडोर : ट्र्याक खोल्न अझै बाँकी

blog

महाकाली कोरिडोरको बेत–उकु क्षेत्र । तस्बिर : कृष्णबहादुर धामी

खलङ्गा समाचारदाता  

खलङ्गा (दार्चुला), जेठ ४ गते ।   कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्कर नाका जोड्ने सडकका रूपमा रहेको महाकाली कोरिडोरको हालसम्म २८७.५ किलोमिटर ट्र्याक खुलिसकेको छ । 

आर्थिक वर्ष २०६५/६६ देखि सञ्चानलमा रहेको सडक योजनाले गएको १८ वर्षमा सडकको ट्र्याक खोलेको महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजनाका योजना प्रमुख ईश्वर कार्कीले जानकारी दिनुभयो । कञ्चनपुरको ब्रह्मदेव, डडेलधुराको जोगबुढा, बैतडीको पञ्चेश्वर, चमेलिया, दार्चुलाको लाली, उकु, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा तुसारपानीसम्मको ३३४ किलोमिटरमध्ये २८७.५ किलोमिटर सडकको ट्र्याक खुलेको उहाँले बताउनुभयो । 

कोरिडोर अन्तर्गत ४७ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी रहेको बताइएको छ । यो सडक योजनालाई यस क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक विकासमा योगदान पु¥याउने योजनाका रूपमा लिइएको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुलामा गरेर सडकको कुल लम्बाइ ४१३ किलोमिटर रहेको योजना प्रमुख कार्कीले बताउनुभयो । ४१३ किलोमिटरमध्ये दार्चुलामा रहेको तुसारपानीदेखि तिङ्कर नाकासम्मको ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । 

नेपाली सेनाले आव २०८१/८२ सम्ममा १९.८ किलोमिटर सडकको ट्र्याक खोलेको छ भने १२ किलोमिटर सडक (दुम्लिङगाउँसम्म) सम्म गाडी पु¥याएको छ । सेनाले यो सडकलाई आव २०७७/७८ देखि निर्माण गरिरहेको छ ।

सडक निर्माणका लागि चालु आव २०८२/८३ मा सरकारले कोरिडोरलाई २२ करोड ९७ लाख रुपियाँ विनियोजन गरेकोमा सबै खर्च भएर १५ करोड रुपियाँ बजेट रकमान्तर भई थप भएको तथा चार करोड रुपियाँ खर्च भइसकेको योजना प्रमुख कार्कीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “असारसम्ममा थपिएको बजेट सबै खर्च गर्ने गरी सडक निर्माणको काम गरिरहेका छौँ, सडक निर्माणमा उल्लेख्य भौतिक प्रगति भएको छ ।” योजना अन्तर्गत हालसम्म कञ्चनपुरमा ११ किलोमिटर, डडेलधुरामा ३४.४ किलोमिटर, बैतडीमा १३८.९ किलोमिटर र दार्चुलामा १०३.२ किलोमिटर सडकको ट्र्याक खुलेको उहाँले जानकारी दिनुभयो । 

चालु आवमा डडेलधुराको १.६ किलोमिटर सडक कालोपत्रे गरिएको उहाँले बताउनुभयो । डडेलधुरा र बैतडीमा गरेर यस वर्ष सात किलोमिटर सडकको नयाँ ट्र्याक खोलिएको छ । यसै वर्ष सडक कालोपत्रे गर्नका लागि दार्चुलामा १२ किलोमिटर सडक ग्राभेल गरिएको उहाँले जानकारी दिनुभयो । ट्र्याक खुलाउन बाँकी रहेको सडक निर्माणका लागि ४० करोडको बजेट आगामी आव २०८३/८४ मा विनियोजन हुने पनि योजना प्रमुख कार्कीले जानकारी दिनुभयो । 

सो सडक अन्तर्गत दार्चुलाको मालिकार्जुन गाउँपालिका सलेतीदेखि बेत खण्डको १२.३ किलोमिटर र खलङ्गादेखि सुन्सेरा खण्डको १८.५ किलोमिटर सडक कालोपत्रे गर्ने काम गरिरहेको छ । यसैबिच महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजनामा सडक कालोपत्रे गर्नका लागि ५२ करोड रुपियाँको स्रोत सुनिश्चितता भएको छ । 

अर्थ मन्त्रालयले गत वैशाख २९ गते मन्त्रीस्तरीय निर्णय गरेर ५१ करोड ९९ लाख रुपियाँ निर्माण कार्य अघि बढाउन सहमति दिएको योजना प्रमुख कार्कीले बताउनुभयो । बहुवर्षीय ठेक्का प्रक्रियामार्फत ६.२ किलोमिटर सडक कालोपत्रे गरिने उहाँले बताउनुभयो । महाकाली कोरिडोर अन्तर्गत दुहुँ गाउँपालिकाको तिमुरपाटा–जोशीगाउँ खण्डको चार किलोमिटर र त्यसभन्दा माथिल्लो क्षेत्रमा दुई किलोमिटर सडक कालोपत्रे गरिने छ ।