• ४ जेठ २०८१, शुक्रबार

अस्पतालकै एम्बुलेन्स निर्देशिकाविपरीत

blog

बनेपा समाचारदाता 

बनेपा, फागुन २० गते । राष्ट्रिय एम्बुलेन्स निर्देशिकाले एम्बुलेन्समा जिपिएस जडान भएको, तालिम प्राप्त चालक र उक्त एम्बुलेन्समा आकस्मिक चिकित्सकीय प्राविधिक रहनुपर्ने व्यवस्था गरे पनि जिल्लामा सञ्चालित अधिकांश एम्बुलेन्समा यो व्यवस्था पालना गरिएको छैन । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले माग गरेको जिल्लाका स्थानीय तहमा सञ्चालित एम्बुलेन्सको अवस्थाको विवरणमा निर्देशिकाले भनेबमोजिमको मापदण्ड नरहेको देखिएको छ । 

काभ्रेपलाञ्चोक जिल्लामा स्थानीय तहमा ४४ वटा एम्बुलेन्स छन् । जिल्लामा रहेका कुल एम्बुलेन्समध्ये मण्डनदेउपुर नगरपालिकामा रेडक्रसद्वारा सञ्चालित एम्बुलेन्स नचलेको र चौँरीदेउराली केही समयअघि आएको एम्बुलेन्स सञ्चालनमा आउन बाँकी रहेको तथा गाउँपालिकाभित्र रहेको डिसिडब्लुसी आधारभूत अस्पतालद्वारा सञ्चालित एम्बुलेन्सले आंशिक रूपमा मात्रै सेवा प्रवाह गरेको विवरणमा उल्लेख छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका अनुसार धुलिखेल अस्पतालका तीन वटा एम्बुलेन्समा १८ जना आकस्मिक चिकित्सकीय प्राविधिक (इएमटी) रहेका छन् । यस्तै ४० वटा एम्बुलेन्समा आकस्मिक चिकित्सकीय प्राविधिक (इएमटी) नभएको, ३५ वटा एम्बुलेन्समा जिपिएस प्रणालीमा आबद्ध नभएको र २८ वटा एम्बुलेन्सका चालकले प्राथमिक उपचार तालिम नलिएको पाइएको छ ।

जिल्लामा सञ्चालन रहेका एम्बुलेन्समध्ये खानीखोला गाउँपालिकामा सञ्चालित दुई वटा र बेथानचोकमा सञ्चालित एउटा एम्बुलेन्सको नवीकरण नभएको देखिएको छ । बनेपा नगरपालिकामा सञ्चालित आठ वटा एम्बुलेन्समा सद्भाव सामुदायिक, शिर मेमोरियल, स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्र, अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र, रेयुकाई एईको मासुनागा अस्पताल, कृष्णप्रसाद अस्पताल, भोमी अस्पताल र आमा स्मृति क्लबद्वारा सञ्चालित एम्बुलेन्समा समेत जिपिएस प्रयोग नगरिएको र इएमटी नरहेको पाइएको छ । यस्तै महाभारत गाउँपालिकामा एउटा एम्बुलेन्स सञ्चालनमा रहे पनि इएमटी, जिपिस प्रणालीमा आबद्ध नभएको, मण्डनदेउपुर नगरपालिकामा तीन वटा एम्बुलेन्स सञ्चालनमा रहेकामा एउटा एम्बुलेन्स बन्द, जिपिएस प्रणाली जडान नभएको, इएमटी नभएको र चौँरीदेउराली गाउँपालिकामा रहेका आठ वटा एम्बुलेन्समध्ये सात वटा सञ्चालनमा एक जना चालकले तालिम नलिएको, जिपिएसमा आबद्ध नभएको र इएमटी नरहेको देखिएको छ । 

त्यस्तै धुलिखेल नगरपालिकाभित्र सञ्चालित चारमध्ये नगरपालिकाको एम्बुलेन्समा जिपिएस नभएको, इमटी नभएको, पाँचखाल नगरपालिकामा रहेका चार वटा एम्बुलेन्सका चालकले तालिम नलिएको, इएमटीको व्यवस्था नभएको र जिपिएस प्रणालीमा नचलेको पाइएको छ । भुम्लु गाउँपालिकाभित्र तीन वटा एम्बुलेन्स सञ्चालनमा रहेकामा तीन वटै एम्बुलेन्समा आपत्कालीन चिकित्सकीय प्राविधिक (इएमटी) नरहेको र बेथानचोक गाउँपालिकामा रहेका दुई एम्बुलेन्समध्ये एउटाको नवीकरण नभएको, चालकले तालिम नलिएको, जिपिएस र इएमटीको व्यवस्था छैन । यसै गरी खानीखोला गाउँपालिकामा सञ्चालित दुई वटै एम्बुलेन्सको नवीकरण नभएको, चालकले तालिम नलिएको, जिपिएसमा आबद्ध नभएको र इएमटीको व्यवस्था नभएको र तेमाल गाउँपालिकामा सञ्चालित एउटा एम्बुलेन्स जिपिएसमा आबद्ध नभएको र इएमटी रहेको स्थानीय तहले पठाएको विवरणमा उल्लेख छ । 

रोसी गाउँपालिकाभित्र सञ्चालित तीन वटै एम्बुलेन्सका चालकले तालिम नलिएको, जिपिएसमा नरहेको र इएमटीको व्यवस्था नभएको, नमोबुद्ध नगरपालिकामा सञ्चालन भएका तीन वटा एम्बुलेन्सका चालकले तालिम नलिएको, इएमटी नभएको र जिपिसमा आबद्ध नभएको र पनौती नगरपालिकामा सञ्चालित दुई वटै एम्बुलेन्समा इएमटीको व्यवस्था नरहेको पाइएको छ । धुलिखेल अस्पतालका आकस्मिक विभाग प्रमुख डा. सानुकृष्ण श्रेष्ठले जिल्लामा सञ्चालित एम्बुलेन्समा राष्ट्रिय एम्बुलेन्स निर्देशिकाले भनेबमोजिमको सुविधा नरहेको बताउनुभयो । उहाँले जिल्लामा सञ्चालित अधिकांश एम्बुलेन्सका चालकले प्राथमिक उपचारको तालिम नलिएको, इएमटीको व्यवस्था नगरेको, जिपिएसमा नभएको र धुलिखेल अस्पतालमा रहेको डिस्प्याच सेन्टर (प्रेषण केन्द्र) अन्तर्गत सञ्चालनमा नरहेको बताउनुभयो । 

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोककी निमित्त प्रमुख अनिता खनालले जिल्लामा रहेका एम्बुलेन्समा एकरूपता ल्याउन तथ्याङ्क सङ्कलन गरिएको बताउनुभयो । उहाँले जिल्लामा रहेका सबै एम्बुलेन्सलाई एकै प्रणालीमा ल्याउन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले काम गर्न लागेको बताउनुभयो ।