• १२ साउन २०८१, शनिबार

मानस रामायणको अनुशीलन

blog

रामायण र रामकाव्य दक्षिण एसियाकै लोकप्रिय कथाका रूपमा आदिकालदेखि वर्तमानसम्म रहँदै आएको छ । रामकथामा असङ्ख्य प्रतिभाले कलम चलाएका छन् । दक्षिण एसियाकै सबैजसो लिखित साहित्य भएका भाषामा रामगाथा र कृष्णगाथाको कुनै न कुनै रूपमा प्रवेश भएको देखिन्छ । यी दुई पात्रका स्रोतग्रन्थ रामायण र महाभारत यस क्षेत्रका लागि मात्र होइन विश्वसाहित्यकै लागि उपजीव्य काव्य पनि हुन् । नेपालमा नेपाली, मैथिली, अवधी, भोजपुरी, नेवारी, थारूलगायतका अनेक भाषामा रामगाथाका सन्दर्भहरू सुललित स्वर र शैलीमा अभिव्यक्त भएको पाइन्छ । 

नेपालीमा लेखिएका अनेक रामगाथाको पङ्क्तिमा अर्को एउटा कृति थपिएको छ–युवराज पन्थी  (विसं १९७९–२०५०) को मानस रामायण (विसं २०७९) । यो रामायण ४०३ पृष्ठ, सात सोपान र १२ हजार श्लोकमा फैलिएको छ । प्रथम संस्करण २०५० मा छापिए पनि परिष्कार र परिमार्जन गरेर सम्पादित संस्करणका रूपमा यो काव्य पुनः पाठकका हातमा प्राप्त भएको छ । काव्यका सम्पादक मेरा मित्र कवि यदुप्रसाद पन्थी हुनुहुन्छ । भूमिका खण्डमा डा. दुर्गाप्रसाद अर्यालको समीक्षा, काव्यकारको आफ्नै कुरासहित सात जनाको मन्तव्य रहेको छ भने परिशिष्ट भागमा इन्दु शोककाव्य र यायावर लघुकाव्यसहित केही समीक्षात्मक टिप्पणी रहेका छन् । यस काव्यलाई रचनाकारले ‘नेपाली भक्तिकाव्य’ भन्नुभएको छ । महाकाव्यको लक्षण अनुसार विचार गर्दा संरचनाको आधारमा यसलाई बृहत् महाकाव्य मान्नु पर्छ । 

आदिकवि वाल्मीकिले संस्कृत भाषामा सात काण्ड २४ हजार श्लोकमा वाल्मीकि रामायणको रचना गर्नुभएको थियो । त्यस आदिकाव्यको प्रभाव सबैजसो उत्तरवर्ती रामकाव्यमा परेको देखिन्छ । वाल्मीकि रामायणपछि सर्वाधिक प्रभाव अध्यात्म रामायणको रहेको दृष्टिगोचर हुन्छ । अध्यात्म रामायणमा पनि सात काण्ड नै छन् । त्यस्तै तुलसीदासकृत रामचरित मानसमा पनि सात काण्ड नै छन् । त्यसैको प्रभावमा यस मानस रामायणमा पनि सात काण्ड नै रहेका छन् तर त्यसलाई काव्यकारले सोपान नाम दिनुभएको छ । पहिलो र दोस्रो सोपानको विषय विन्यासमा केही भिन्नता छ । काव्यस्रष्टाले सोपानको आदि र अन्त्यमा छन्द परिवर्तन गरेका छन् भने सबैजसो काव्य रचना अनुष्टुप छन्दमा गरिएको छ । काव्यकारले सबै सोपानमा आएका मूलकथा र अनेक अवान्तर कथाहरूलाई उपशीर्षक दिएर सुगठित र सुबोध्य बनाउन प्रयत्न गर्नुभएको छ भने कवि कल्पनाको प्रवाह सर्वत्र छङछङाएको अनुभव हुन्छ ।                                   

संस्कृत भाषामा विभिन्न कालखण्डमा दुई दर्जनभन्दा बढी प्रसिद्ध रामायण लेखिएका छन् भने विभिन्न नाममा रामगाथालाई समेटेर अनेक कृतिको रचना भएको पनि पाइन्छ, तिनको सङ्ख्या तोक्न सकिँदैन, ती अपरिमित छन् । विश्वप्रसिद्ध संस्कृतका महाकवि कालीदासको रघुवंश महाकाव्यमा पनि रामगाथा अनुस्युत रहेको छ । त्यस्तै वेदव्यासकृत महाभारत वन पर्वमा ‘रामोपाख्यान’ वा रामकथा  (द्रोणपर्व र शान्ति पर्वमा पनि) आएको छ भने कृष्ण द्वैपायनकृत सबैजसो पुराणमा रामगाथा पाइन्छ । ब्रह्माण्ड पुराणको उत्तरखण्डमा शङ्करले पार्वतीलाई रामकथा सुनाएको प्रसङ्ग आएको र तदनुसारकै कथानक अध्यात्म रामायणमा आएकाले यस कृतिलाई व्यासकृत रामायण मानिएको देखिन्छ । त्यस्तै प्रस्तुत रामायण पनि अध्यात्म प्रभावित रामचरित मानसकै भावधारामा आप्लावित भएको छ भने पौरस्त्य जगत्मा ब्राह्मी, वैष्णवी र शाङ्करी विद्या परम्परा रहेकामा प्रस्तुत काव्य शाङ्करी परम्पराबाट प्रभावित रहेको अनुभव हुन्छ ।

वाल्मीकि रामायणपछि सर्वाधिक लोकप्रिय छ अध्यात्म रामायण । अध्यात्म रामायणमा ६५ अध्याय, करिब चार हजार पाँच सय श्लोक भएकाले हस्तलिखित कालखण्डमा ग्रन्थ सार्न र लिएर हिँड्न सजिलो हुने हुँदा नेपाल भारतका व्यापक क्षेत्रमा यसको प्रचारप्रसार भएको दृष्टिगोचर हुन्छ । तुलसीदासकृत रामायण र भानुभक्तीय रामायण पनि अध्यात्म रामायणकै प्रभावमा रचित छन् । प्रस्तुत मानस रामायण तुलसीदासकृत रामचरित मानसबाट प्रभावित भएकाले प्रकारान्तरबाट अध्यात्म रामायणकै प्रभाव यसमा पनि पर्न गएको छ । वाल्मीकि रामायणको तेस्रो सर्गमा रहेको विषयसूची र तुलसीदासकृत रामायण र मानस रामायणको विषयसूची दाँजेर हेर्दा पनि पन्थी रामाचरित मानसबाट प्रभावित भएका देखिन्छन् । साथै ग्रन्थको नामकरणमा पनि रामचरित मानसको प्रभाव रहेको प्रतीत हुन्छ । मानस रामायणको भूमिका खण्डमा डा. टीकाराम पन्थीले पनि मानस रामायण तुलसीदासकृत रामायणबाट प्रभावित छ भनी स्पष्ट गर्नुभएको छ । काव्यस्रष्टा पन्थी नित्य तुलसीदासकृत रामायण पाठ गर्नुहुन्थ्यो भन्ने जानकारी पनि उहाँका अनुज मेरा गुरुपुत्र डा. लक्ष्मीकान्त पन्थीबाट पाएको हुँ । काव्यकार पन्थी मेरा प्रातःस्मरणीय गुरु पं भीमकान्त पन्थीका भतिजा र गुल्मी धुरचौरका लामो पाण्डित्य परम्परा रहेको पण्डितकै छोरा हुनुहुन्छ । व्याकरण, कोश र काव्य रटेर संस्कृत वाङ्मयमा पकड बनाएका पन्थीले नेपालबाट मध्यमा (विसं २०००) र सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट धर्मशास्त्रमा सर्वप्रथम भई आचार्य उत्तीर्ण (विसं २०२९) गरेका थिए । विसं २००२ मा भाषा पाठशालाबाट अध्यापन सुरु गरेर विसं २०४६ मा शिक्षण पेसाबाट निवृत्त भएका थिए काव्यकार ।

अध्यात्म रामायणमा मर्यादा पुरुषोत्तम रामचन्द्रको पावन चरित्र पद पदमा रसमय शैलीमा वर्णन गरिएको छ भने रामकथाको प्रवाहमा भक्ति, ज्ञान, वैराग्य, उपासना, नीति, सदाचार र ब्रह्मसूत्र एवं शङ्कराचार्य प्रतिपादित ब्रह्मवाद वा कैवल्यवादको अभिव्यञ्जना सुललित ढङ्गमा गरिएको छ । यही प्रतिपाद्य विषयको अनुगामी छ प्रस्तुत मानस रामायण । 

नेपालीमा भानुभक्तीय रामायण, आदर्श राघव (सोमनाथ सिग्देल), राघवालङ्कार (कुलचन्द्र गौतम), भरतमिलन महाकाव्य (गुणराज खनाल), बालरामायण (गायत्री गणेश), सीतायन (रमेशचन्द्र अधिकारी), गीति लयमा लेखिएको रविकृत रामायण (रविलाल कण्डेल), रामायण चम्पु (मुकुन्द शर्मा चालिसे), गद्यमा नेपाली सङ्क्षिप्त रामायण –चक्रपाणि चालिसे) आदि रामायण लेखिएका छन् भने पङ्क्तिकारले पढ्न नपाएका यस्ता अरू अनेक रामायण पनि नेपालीमा होलान् । आकृतिका दृष्टिले सीतायन र भरतमिलनपछि तेस्रो नम्बरमा मानस रामायण देखिन्छ । आदर्शराघव, राघवालङ्कर र भरतमिलन महाकाव्य ज्यादै प्रौढ छन्, रस, अलङ्कर र ध्वनिबाट महिमा मण्डित छन् भने मानस रामायण ज्यादै सरल रहेको छ ।

नेपालबाहिर भारतमा हिन्दीमा ११, मराठीमा आठ, बङ्लामा २५, तमिलमा १२, तेलगुमा १२, उडियामा छ, असमियामा पाँच, सिंहालीमा तीन रामायण लेखिएको सूचना पाइन्छ । संस्कृत, प्राकृत, पाली एवं नेपाल र भारतका अनेक भाषामा समेत गरी चार सयभन्दा बढी मौलिकता झल्किने गरी रामायणको रचना भएको कुरा अध्येताहरूले उल्लेख गरेको पाइन्छ । त्यस्तै जैन, बौद्ध र सिख धर्मका आचार्यहरूले समेत रामगाथालाई सुललित भावधारामा रङ्गाएर अभिव्यञ्जित गरेको देखिन्छ । यसबाहेक तिब्बती रामायण, पूर्वी तुर्किस्तानको खोतानी रामायण, इन्डोनेसियाको ककविन रामायण, जावाको सेरतराम, पातानी–रामकथा, इन्डोचायनाको रामकेर्ति, खमैर रामायण, बर्माको युतोकी रामगायन, थाइल्यान्डको रामकियेन आदि रामायणमा पनि रामगाथा रसमय शैलीमा रचना गरेको कुरा अध्येताहरूले उल्लेख गरेको पाइन्छ । यस्ता असङ्ख्य रामायण लेखनको प्रवाहमा छुट्टै पहिचान लिएर देखापरेको छ मानस रामायण । नेपालबाहिर पनि रामगाथाका अध्येताहरूले भानुभक्तीय रामायणको चर्चा गर्ने गरेको पाइन्छ भने प्रस्तुत रामायण पनि थप अध्ययनको ग्रन्थ बन्न पुगेको अनुभव हुन्छ । 

काव्यको बाह्य कलेवरको चर्चा माथि गरिएको छ । काव्यको आन्तरिक संरचनाको अनुशीलन गर्दा रामकथाको तन्तुमा भक्ति रसको तरङ्ग छङछङाएर भावप्रवाहमा काव्य प्रणयन गरिएको अप्रतीत हुन्छ । अलङ्कार शास्त्रको शब्दावलीमा भन्नुपर्दा नवरसमध्ये यस काव्यमा निर्वेद स्थायीभाव भएको शान्तरस अङ्गीरसका रूपमा अभिव्यञ्जित भई परिपाकमा पुगेको छ । साथै अन्य अङ्गरसको उपस्थितिले पनि काव्यलाई आह्लादनीय बनाएको छ । रसचर्वणा र रसास्वादनका दृष्टिले भावकमा के कस्तो प्रभाव पर्छ भन्ने काव्यिक सन्दर्भलाई ख्यालै नगरी काव्यकार स्वयम् भक्ति रसमा चुर्लुम्म डुबेका छन् । न त यो काव्य नरिवल जस्तो छ न त यो काव्य आम्रफल जस्तो छ, भक्तिरसको चास्नीमा डुबेको लालमोहन र रसबरी जस्तो छ तर यस काव्यको भावक भगवद्भक्त हुनु पर्छ । तब मात्र त्यसले रसबरीतुल्य काव्यरसको आस्वाद प्राप्त गर्न सक्तछ । 

काव्यमा शब्दालङ्कार, अर्थालङ्कार उभयालङ्करको प्रयोग देखिन्छ भने वस्तुध्वनि, रसध्वनि र अलङ्कारध्वनिको छटा पनि पाउन सकिन्छ । सातौँ सोपानको अन्त्यतिर राम रहस्य, मायाकृत गाँठो फुकाउँदा चाहिने सर्जाम, भक्ति चिन्तामणि र मानस रोग जस्ता उपशीर्षकमा सत्कर्म, उपासना, भक्ति, ज्ञान, वैराग्य र मुक्तिको सोपानलाई प्रतिपादन गर्दै भक्तिको श्रेष्ठता स्थापित गरी काव्य टुङ्गिएको छ ।   

Author

डा. नवराज कट्टेल