• १२ साउन २०८१, शनिबार

विश्व शान्तिको नेतृत्व गर्ने अवसर

blog

नेपाल संयुक्त राष्ट्रसङ्घका शान्ति स्थापना मिसनमा सबैभन्दा बढी शान्ति सेना पठाउने मुलुकमा सूचीकृत भएको छ । द्वन्द्वग्रस्त क्षेत्रमा नेपाली शान्ति सेनाको अब्बल कार्यसम्पादनकै कारण यो सफलता हासिल भएको हो । यसअघि बङ्गलादेश शान्ति सेना पठाउने पहिलो मुलुक थियो । राष्ट्रसङ्घद्वारा २०२३ नोभेम्बरमा सार्वजनिक सूची अनुसार छ हजार २६७ जना शान्ति सेना पठाएर नेपाल एक नम्बरमा दर्ज भएको छ । यतिबेला बङ्गलादेश दोस्रो स्थानमा झरेको छ । त्यहाँका छ हजार १९५ फौज शान्ति स्थापना मिसनमा कार्यरत छन् । 

शान्तिका अग्रदूत गौतम बुद्धको देशका नामले संसारभर परिचित नेपाल यतिबेला ‘विश्व शान्तिका नेपाली दूत’ को देश भनेर पहिचान स्थापित गर्न सफल भएको छ । यो राष्ट्रसङ्घीय मिसनमा खटिएका नेपाली सेना तथा प्रहरीका लागि मात्र नभएर नेपाल र नेपालीका लागि गौरवको विषय हो । मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकता रक्षामा निर्वाह गरेको भूमिकाका कारण यसै पनि नेपाली सेनाको छवि उच्च छ । व्यावसायिक निष्ठा र निःस्वार्थ सेवाभाव सेनाको महत्वपूर्ण पहिचान त छँदै छ । 

द्वन्द्वग्रस्त क्षेत्रमा नेपाली शान्ति सैनिकको टोली सबैका लागि पहिलो रोजाइ बन्ने गरेको छ । द्वन्द्वग्रस्त मुलुक होस् वा त्यहाँका विद्रोही शान्ति स्थापनार्थ नेपाली मिसन खटिँदै छ भन्ने राष्ट्रसङ्घको सूचनालगत्तै राहतको सास फेर्ने गर्छन् । नेपाली शान्ति सेनाको व्यवहार, व्यावसायिक धर्म निर्वाहमा अनुशासित, द्वन्द्वग्रस्त समाजसँग भिज्न सक्ने खुबी, मानवीय संवेदना, सबैको पीडामा मलहम लगाउने नेपाली शैली र पूर्वाग्रही भावनाको विरोधी भएकाले नेपाली सेना सबैको रोजाइमा पर्छ । त्यसैले त आज राष्ट्रसङ्घको आह्वानमा धेरै शान्ति सेना पठाउने सूचीमा पहिलो नम्बरमा पुगेको हो । नेपाल दस हजार शान्ति सैनिक पठाउन तयार छ । 

शान्ति प्रयास चार

नेपालमा बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ सञ्चालन भइरहेको छ । शान्ति स्थापना मिसनमा सहभागी हुने फौजको पेसागत दक्षता, आपसी समन्वयात्मक क्षमता अभिवृद्धि र अनुभव आदानप्रदान अभ्यास शान्ति प्रयासको मुख्य उद्देश्य हो । कार्यक्रममा राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति कार्यमा खटिने गरेका १९ मुलुकका एक हजार १२५ सैनिकको सहभागिता छ । 

अमेरिकी ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोग एवं नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा उक्त अभ्यास सञ्चालन भएको हो । यही फागुन ८ मा सुरु भएको अभ्यास २१ गते सकिने छ । शान्ति स्थापनामा देखा परेका चुनौतीबारे सहभागी राष्ट्रका सैनिकबिच अनुभव आदानप्रदान हुनुका साथै चुनौती सामना गर्न आवश्यक क्षमता एवं समान व्यावसायिक कार्यशैली विकास गर्न उक्त अभ्यास सफल हुने विश्वास गरिएको छ । 

ठुला र शक्तिशाली देश युद्धमा होमिएसँगै विश्वमा उत्पन्न जातीय तनाव र आतङ्कवादी क्रियाकलापले शान्ति स्थापनार्थ तैनाथ सैनिकमाथि सङ्कट थपिँदै गएको छ । यो सारा विश्वका लागि चिन्ताको विषय हो । त्यसैले त ठुलो भनिएका देश शक्ति आर्जनका लागि युद्धमा होमिएकै कारण नेपाल जस्ता साना राष्ट्रको भूमिका बढेर गएको छ । सानो देशको ठुलो प्रभाव त्यसै भनिएको होइन । यही भूमिका प्रयोग गरेर नेपाललाई शान्तिको मात्र नभई समृद्धिको देश बनाउने अवसर आएको छ । 

विश्वमा शान्ति स्थापनाको नेतृत्व लिने अवसर

शान्ति स्थापना र कार्यान्वयनमा भएको उच्च सुधारकै कारण नेपाल विश्वमै शान्ति स्थापनाको नेतृत्व लिने बाटोमा अग्रसर छ । गौतम बुद्धले छरेर गएको शान्तिको सन्देशलाई नेपाली सेना विश्वभर फैलाउने बाटोमा अग्रसर छ । अरूको मर्म बुझ्न सक्ने र सम्झाउन सक्ने मानवीय क्षमताकै कारण उसको यो बाटो सुरक्षित र भरपर्दो हुँदै गएको हो । त्यसैले त विश्वका सबै देशले नेपाली सेनालाई स्वीकार गर्छन् । यही पहिचानको माध्यमबाट मुलुकलाई समृद्धिको बाटोमा लैजानु पर्छ । त्यसका लागि सेनाप्रतिको राजनीतिक दृष्टिकोण बदलिनु पर्छ व्यवहारतः । 

हालै मात्र नेपालस्थित राष्ट्रसङ्घीय कार्यालय र नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (नाइस) ले ललितपुरमा आयोजना गरेको नयाँ बहुधु्रवीय विश्वमा शान्ति स्थापनामा नेपालको सम्भावना विषयक अन्तरसंवादमा नेपालले विश्वमै शान्ति स्थापनाको नेतृत्व लिने अवसर आएको बताइएको थियो । राष्ट्रसङ्घको एसिया तथा प्रशान्त क्षेत्रमा शान्ति र निःशस्त्रीकरण मामिला हेर्ने क्षेत्रीय निर्देशक दिपायन बासु रेले नेपालले चार किसिमबाट नेतृत्व लिन सक्ने औँल्याउनुभएको थियो । उहाँले द्वन्द्वरत पक्ष मुलुक तथा अन्य मुलुकबिच छलफल चलाएर, आफ्ना सफलता अभिव्यक्त गरेर, वैश्विक चुनौतीबारे आपसी सहकार्य गरेर र नियम बनाउने ठाउँमा हैसियतको विकास गरेर विश्व शान्तिको नेतृत्व लिन सुझाउनुभयो । यो नेपालका लागि गौरवको विषय हो ।  संसारका दुई सय देशमध्ये यतिबेला ३० देश युद्धमा छन् । युद्धग्रस्त देशका अधिकांश मानिस आफूलाई असुरक्षित महसुस गरिरहेका छन् । यही बेला हो– नेपालले शान्ति स्थापनाको नेतृत्व लिने अवसर । लुम्बिनी विश्व शान्तिको मुहानका रूपमा विख्यात छ । त्यसमा पनि शान्ति सेनामार्फत नेपालको उपस्थितिले मुलुकको सान बढाएको छ । नेपालको मुख्य सम्पत्ति भनेको पनि यही हो, अहिलेका लागि । संसारभर नेपाल चिनाउने माध्यम पनि गौतम बुद्धपछि सैनिक कूटनीति भएको छ । इजरायल र प्यालेस्टाइनको होस् वा रुस–युक्रेन द्वन्द्वको समाधान लुम्बिनीको सन्देश, नेपाली सेनाको समर्पण र वीरताको योगदानबाटै खोज्न सकिन्छ । मुलुकलाई थप उचाइमा लैजान यो नै मूल मार्ग हुन सक्छ, जसमा सरकारको भूमिका महत्वपूर्ण हुन्छ । 

सैनिक कूटनीतिले जोडेको सम्बन्ध

नेपाल पछिल्लो समय संयुक्त राष्ट्रसङ्घको प्राथमिकतामा परेको छ । यसलाई विश्व शान्ति र मानव अधिकार संरक्षणका क्षेत्रमा नेपाली शान्ति सेनामार्फत आर्जन भएको उच्च कूटनीतिको प्रतिफल मान्नु पर्छ । तुलनात्मक रूपमा भूगोल र जनसङ्ख्यामा केही सानो देखिए पनि नेपालको अन्तर्राष्ट्रिय जगत्मा शान्ति कायम गर्ने कार्यमा महìवपूर्ण योगदान छ । केही समयअघि भएको राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेर्रेसको नेपाल भ्रमण यसैको कडी हो । 

गुटेर्रेस नेपाली शान्ति सेनाको योगदान, सङ्व्रmमणकालीन न्याय र जलवायु परिवर्तनबाट नेपाललाई परेको असरको स्थलगत अध्ययन गरेर त्यसको वास्तविकताबारे विश्व समुदायलाई ध्यानाकर्षण गराउने उद्देश्यले नेपाल भ्रमणमा आउनुभएको थियो । महासचिव गुटेर्रेसले नेपाल भ्रमणका क्रममा भन्नुभएको थियो, “नेपाल विश्वको मित्र हो । विश्व नेपालका लागि असल मित्र हुनु पर्छ । राष्ट्रसङ्घले यसलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि सङ्घर्ष गर्न छाड्ने छैन । नेपाली जनताको समर्पण, अदम्य साहस र सेवाका लागि म हृदयदेखि कृतज्ञ छु । हाम्रो निलो झन्डामुनि रही सेवा गर्दै आफ्नो जीवन गुमाएकाहरूलाई सम्मान गर्न म एक क्षण लिन चाहन्छु ।” यी शब्द शब्दमा नेपालप्रतिको सद्भाव र प्रेम झल्कल्थ्यो । जसले विश्व शान्तिको नेतृत्व लिन मार्ग प्रशस्त गरेको छ । 

नेपाली शान्ति सेनामार्फत जोडिएको सैनिक कूटनीतिले राष्ट्रसङ्घको विश्वास मात्र जितेको नभई विश्व सम्बन्ध दरिलो बनाउन पनि महìवपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसैको प्रतिफल हो– विश्व शान्तिको नेतृत्व नेपालले लिनु पर्छ भन्ने आवाज । नेपाली सेनाले पछिल्लो छ दशकदेखि विश्व शान्तिमा योगदान पु¥याउँदै आएको छ । शान्ति स्थापनामा सैनिक सङ्ख्या थपको माग पनि त्यसैको प्रतिफल हो । मुलुकको परराष्ट्र नीति दरिलो बनाउन नेपाली सेनाले अवलम्बन गरेको कार्यशैली संसारका अन्य मुलुकका लागि उदाहरणीय अभ्यास बनेको छ, जुन कुरा महासचिव गुटेर्रेसले नेपाल भ्रमणका क्रममा बताउनुभएको थियो । 

नेपाल राष्ट्रसङ्घको शान्ति स्थापना अभियानमा १० हजार सैनिक उपलब्ध गराउन तयार छ । छ हजारभन्दा बढी सैनिक शान्ति कार्यमा खटिएका छन् । चार हजार सैनिक थप्न त्यही अनुसारको प्रविधि र उपकरण आवश्यक छ । फौज विवेकले मात्र चल्न सक्दैन, समयसापेक्ष उपकरणले सुसज्जितसमेत हुनु पर्छ भन्ने विश्वकै मान्यता हो । सैनिक क्रियाकलापसँग सुरक्षा मात्रै नभई देशको प्रतिष्ठा पनि गाँसिएको हुन्छ, जुन कुरा महासचिव गुटेर्रेसको भ्रमणले पुष्टि गरेको थियो । 

मुलुकको पहिचान भूगोल र जनसङ्ख्याले मात्र स्थापित हुँदैन । नेपालभन्दा ठुलो भूगोल र जनसङ्ख्या भएका धेरै मुलुक छन् । शान्ति सेनाको भूमिकाको समीक्षा हुनासाथ राष्ट्रसङ्घमा पनि नेपालको नाम अग्रपङ्क्तिमा आउँछ । राष्ट्रसङ्घले नेपालप्रति विशेष चासो व्यक्त गर्नु हाम्रा लागि गौरवको विषय हो । आफ्नो मुलुक सशस्त्र द्वन्द्वको चपेटामा परेका बेला पनि नेपाल राष्ट्रसङ्घप्रतिको प्रतिबद्धतामा कहिल्यै टसकोमस भएन । ऊ विश्वमै शान्ति स्थापना हुनु पर्छ भन्ने मान्यतामा दृढ थियो र यद्यपि छ । त्यसैले त नेपालले विश्व शान्तिको नेतृत्व लिओस् भन्ने चाहना व्यक्त भएका हुन् । 

हरेक नेपालीको सुखमा मात्र होइन, दुःख, पीडा र कठिन कर्ममा सेना नै अग्रपङ्क्तिमा खटिँदै आएको छ । पछिल्लो पटक जाजरकोट भूकम्पमा सेना नै अग्रपङ्क्तिमा खटिएर उद्धार कार्यमा लाग्यो । यो मुलुक र नागरिकप्रतिको पूर्ण बफादारीको परिणाम थियो । जहाँ नागरिक पीडामा छ, त्यहाँ सेनाको उपस्थिति हुन्छ । मानवीय संवेदना सेनाले बुझ्छ भन्ने आमविश्वास र भरोसा छ । त्यसो त बेला बेलामा सेनालाई चाहिने उपकरण जुटाउन भएका काममा व्यापारिक फाइदासँग जोडेर बदनाम गर्ने कोसिस नभएका होइनन् । आजसम्म नागरिक हितमा बाहेक कसैबाट प्रयोग, उपयोग वा दुरुपयोग हुनबाट जोगिएको सेनालाई मानमर्दन गर्न केही पात्र र प्रवृत्ति नदेखिएका होइनन् तर ती स्वतः बिलाएर जाने छन् । 

राष्ट्रहित, सुरक्षा संवेदनशीलता, नागरिक र वैधानिक सरकारप्रति नेपाली सेना सदैव बफादार रहँदै आएको छ । जहाँ अप्ठेरो पर्छ, त्यहाँ सेना पुग्छ । आलोचनाको प्रतिवाद गर्न सेना आवश्यक ठान्दैन किनकि ऊ संविधानले तोकेको जिम्मेवारीप्रति सचेत छ । नागरिक–सेना सम्बन्धको कडीलाई छिन्नभिन्न पार्न क्रियाशील व्यक्ति र समूहप्रति सजग र सचेत हुन आवश्यक छ । संसारले यति धेरै प्रशंसा गरेको अनुशासित र मर्यादित सैनिक सङ्गठनको गरिमा जोगाउनु हामी नेपालीको जिम्मेवारी होइन र ? 

नेपाली भाषाप्रेम घट्दो छ । देशको संस्कृतिप्रति घृणा उत्पन्न गराउनेहरूको बाहुल्य बढ्दो छ । संस्कृति देशको पहिचान हो, त्यो पहिचान स्खलित हुँदै छ । एकापसमा रहेको सहिष्णुता खल्बलिँदै छ । नेपाली सेना मात्र त्यस्तो सङ्गठन हो, जसले सहिष्णुता बचाएको छ । भाषा, संस्कार र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ । त्यो सङ्गठनभित्र शान्तिको ऊर्जा छ, त्यो ऊर्जालाई तिखार्दै लैजान सके विश्व शान्तिको नेतृत्व गर्न समर्थवान् हुने छ । 

राष्ट्रहित, सुरक्षा, नागरिक र वैधानिक सरकारप्रति सेना सदैव बफादार छ । त्यसैले त नागरिक–सेना सम्बन्ध कसिलो छ । कसैले चाहँदैमा खुकुलो हुँदैन । सेना निरन्तर नागरिकका सेवामा खटिइरहेको हुन्छ । मुलुकका कठिन पहाड फोडेर मोटर बाटोको ट्र्याक खन्न जुटिरहेको छ, यो सबै नागरिकको सुविधाका लागि हो । अप्ठेरा सडक निर्माणको जिम्मा सेनालाई दिइन्छ तर ‘हलो अड्काएर गोरु चुट्ने’ शैली अझै कायम छ । तैपनि सेनाले नबोलेरै आफूले लिएको जिम्मेवारी पूरा गर्दै आएको छ । 

राष्ट्रिय सुरक्षा सेनाको मूल मन्त्र छँदै छ, सामरिक महत्वको विरासत जोगाउने जिम्मेवारी पनि उसैमा केन्द्रित छ । हरेक देशको संसारलाई हेर्ने एउटै कूटनीतिक कार्यशैली हुन्छ तर नेपालमा कूटनीतिको दलपिच्छे फरक परिभाषा छ । शान्ति सेनामार्फत संसारसँग जोडिएको सम्बन्धले नै मुलुकको कूटनीति धानिइरहेको छ यतिबेला । त्यसैले यो ऐतिहासिक सङ्गठनको क्षमता र उसले निर्वाह गरेको व्यावसायिक धर्ममाथिका राजनीतिक टिप्पणी सुखद हुन सक्दैन । राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा गम्भीर हुन सकिएन भने त्यसको दुष्प्रभाव मुलुकमाथि पर्ने छ । 

सेनालाई हेर्ने दृष्टिकोणमा दलगत स्वार्थ र आस्थाको कुनै प्रभाव पर्नु हुँदैन । नेपाली शान्ति सेनाको बढ्दो प्रभाव संसारभर मुलुकको प्रतिष्ठा बढाउन सहायकसिद्ध भएको छ । सेनाको भूमिकालाई फराकिलो बनाउन नागरिक, राजनीतिक दल र सबैको साथ र सहयोग अपरिहार्य छ । विश्व शान्तिको नेतृत्व गर्न विभिन्न कोणबाट आएका प्रस्तावको पक्षमा समर्थन जुटाउन सरकारले सक्दो पहलकदमी गर्नु आवश्यक छ ।  

Author

विनोद न्यौपाने