• २३ मंसिर २०८१, आइतबार

राणाविरोधी आन्दोलनमा महिला

blog

विसं १९०३ सालमा प्रधानमन्त्री जङ्गबहादुर राणाले मुलुकको  शासनसत्ता हातमा लिई निरङ्कुश जहानियाँ शासनको शूत्रपात गरेका थिए । जहानियाँ राणा शासनविरुद्ध जङ्गबहादुरकै पालादेखि देशका विभिन्न स्थानबाट आवाज नउठेको होइन तर जङ्गबहादुरले आफ्ना विरोधीलाई हत्या गरिदिए । मुलुकको शासनसत्ताको बागडोर परिवारका सदस्यमा रहने गरी रोलक्रमको व्यवस्था गरे उनले । उनको निधनपछि उनकै भाइभतिजा देशको प्रधानमन्त्री बनेका थिए ।

त्यस क्रममा पनि राणा शासनविरुद्ध आवाज उठ्दै गर्‍यो तर त्यसरी आवाज उठाउनेलाई राणाले कसैलाई देश निकाला त कसैलाई दण्ड सजायसहित कालकोठरीमा कैद गरे । प्रधानमन्त्री चन्द्रशमशेरले सुब्बा कृष्णलाल अधिकारीलाई मकैको खेती नामक पुस्तक लेखेको अभियोगमा जेल सजाय तोके । अधिकारीको जेलभित्रै निधन भयो । बीपी कोइरालाका पिता कृष्णप्रसाद चन्द्रशमशेरकै पालामा देश निकाला गरिए ।

विसं १९८८ मा खडकमानसिंह बस्न्यात, मैनाबहादुर, उमेशविक्रम शाह, रङ्गनाथ शर्मा, चन्द्रविक्रम शाह आदिले भूमिगत रूपमा ‘प्रचण्ड गोर्खा’ नामक सङ्गठन खोलेका थिए । सो सङ्गठनबारे पोल खुलेपछि प्रधानमन्त्री भीमशमशेरले रङ्गनाथ शर्मालाई ११ वर्ष तथा अन्यलाई आजीवन कैद सजाय सुनाए । सो काण्डपछि केहीको जेलमै निधन भयो । बचेकाहरू २००७ सालको क्रान्तिपछि जेलमुक्त गरिए ।

प्रधानमन्त्री जुद्धशमशेरले त देश र जनताको अधिकारका लागि आवाज उठाएको अभियोगमा विसं १९९७ माघमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्युदण्ड नै दिएर कायरता प्रदर्शन गरेका थिए । उनै चार जना महान् सहिदको सम्झनामा हरेक वर्ष सहिद सप्ताह मनाइँदै आइएको छ । जहानियाँ राणा शासन विरोधी आन्दोलनको कुरा गर्दा पुरुषको नाम बढी आउने गरेको छ तर राणा विरोधी आन्दोलनमा महिलाको भूमिका पनि कम थिएन ।

महिला समिति

विसं १९७४ मा बीपी कोइरालाकी आमा दिव्या कोइरालाको अगुवाइमा नेपालमा पहिलो पटक ‘महिला समिति’ बनेको थियो । सप्तरीको चन्द्रगन्जमा गठन भएको उक्त समितिमा सरदार कालीदास (कालीदास कोइराला भैरवप्रसाद कोइरालाका बुवा, बीपी कोइरालाका ठूलो–बुवा हुन् । भैरवप्रसाद, कामाक्षाप्रसाद र सरोज कोइरालाका बुवा हुन्) की पत्नी योगमायादेवी सभानेत्री, कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी दिव्यादेवी सेक्रेटरी, सुब्बा रामचन्द्र अधिकारीकी कान्छी पत्नी पूर्णकुमारीदेवी (मनमोहन अधिकारी, भरतमोहन अधिकारीकी आमा) अर्की सेक्रेटरी, सुब्बा रामचन्द्र अधिकारीकी जेठी पत्नी देवकुमारीदेवी (नरोत्तम अधिकारीकी आमा) र कृष्णप्रसाद कोइरालाकी जेठी पत्नी मोहनकुमारी देवी (मातृकाप्रसाद कोइरालाकी आमा) सदस्य थिए ।

‘महिला समिति’ गठनका लागि चन्द्रशमशेरकी रानीलाई विराटनगरबाट पत्र लेखिएको थियो । दिव्या कोइरालाले नेपालका महिलाको सुधारमा पनि ध्यान जानुपर्छ भन्ने विचारले प्रधानमन्त्री चन्द्रशमशेरकी पत्नी (कान्छी रानी) लाई बिन्तीपत्र लेखेकी थिइन् । महिलाको एउटा सङ्गठन हुनुपर्ने र त्यसको अध्यक्षता अथवा सङ्रक्षक स्वयम् चन्द्रशमशेरकी रानी भइदिने कृपा भए नेपालका स्त्री जातिको अविलम्ब सुधार हुने विचार दिव्या कोइरालाको थियो ।

समितिमा चन्द्रशमशेरकी रानीबाट अध्यक्ष पदमा आसीन हुने स्वीकृति आएको र उक्त समितिको उद्देश्य समाज सुधार थियो तर दुर्भाग्य महिला समिति गठन भएको छ महिनाभित्रै कोइराला परिवारले देश छोड्नु पर्‍यो ।

नेपाल प्रजा–परिषद्मा महिला

टङ्कप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा र जीवराज शर्माको अगुवाइमा विसं १९९३ जेठ २० गते झोँछे, ओमबहालमा रहेको धर्मभक्त माथेमाकी फुपूको घरमा ‘नेपाल प्रजा–परिषद्’ को गठन भएको थियो । प्रजा–परिषद्ले राणा विरोधी गतिविधि अघि बढाएपछि टङ्कप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, चूडाप्रसाद शर्मा, गोविन्दप्रसाद उपाध्यायलगायतका नेता जेल परेका थिए ।

पक्राउ परेका राजबन्दीलाई नर्कतुल्य कालकोठरीमा राखिएको थियो । कालकोठरीमा रहेका बन्दीको दुरवस्था बाहिरी संसारलाई थाहा थिएन । त्यसैले राजबन्दीहरूको अवस्था सार्वजनिक गर्न टङ्कप्रसाद आचार्यकी पत्नी रेवन्तकुमारी र रामहरि शर्माकी पत्नी सीतादेवी नेपालले मुख्य भूमिका निर्वाह गरेका थिए ।

बन्दीहरूको अवस्था बाहिर ल्याउन सीतादेवी नेपालले चामल र भटमासका कोसाले छोपेर टिनको बाकसमा जेलभित्र क्यामरा पुर्‍याएकी थिइन् । जेलभित्र क्यामरा पुगेपछि खिचिएका तस्बिरको नेगेटिभ र क्यामरा उनैले बाहिर ल्याएकी थिइन् । त्यसपछि टङ्कप्रसाद आचार्य, रामहरि शर्मा, गोविन्दप्रसाद उपाध्याय, चूडाप्रसाद शर्माको सामूहिक तस्बिर बम्बईबाट प्रकाशित ‘ब्लिज’ पत्रिकाको सन् १९४९ फेब्रुअरी १९ को अङ्कमा छापिएको थियो ।

टङ्कप्रसाद आचार्यसँगै जेलमा रहेका दशरथ चन्दलाई भने मृत्युदण्ड सुनाइयो । दशरथ चन्दलाई सफाइ कर्मचारी राममाया नेपाली (पोडे) को सहयोग रहेको थियो । दशरथ चन्दले “आफ्नो मृत्युपछि आफ्नो रुने मान्छे कोही नभएकाले तिमी रोइदिनु है राममाया” भनेका थिए । तथापि पक्राउ पर्नुअघि भने दशरथ चन्द पकनाजोलस्थित सौतेनी आमा लालकुमारीसँग बस्दै आएको बताइएको छ ।

प्रधानमन्त्री जुद्धशमशेरकै पालामा भोजपुरकी योगमाया न्यौपानेले वनजङ्गल र चरिचरनको सुरक्षा र जातपात–छुवाछूतविरोधी अभियान चलाएकी थिइन् । आफ्ना मागपत्रको सुनुवाइका लागि दुई पटक काठमाडौँ आएर उनले प्रधानमन्त्री जुद्धशमशेरलाई भेटिन् पनि । ‘धर्म उदय’ सहित ‘राह थिति जुग चलन’ बदल्नुपर्नेलगायतका उनका मागउपर जुद्धशमशेरबाट सुनुवाइ नभएपछि उनले विसं १९९५ कात्तिक २७ गते सामूहिक ‘अग्नि समाधि’ लिने निर्णय गरेकी थिइन् ।

सो कुरा जुद्धशमशेरले थाहा पाएपछि योगमायालगायतलाई पक्राउ गरी थुनिएको थियो । थुनामुक्त भएपछि योगमायाले आफ्ना माग पूरा नभएको भन्दै अरुण नदीमा ‘जल समाधि’ लिएकी थिइन् ।

प्रजातान्त्रिक आन्दोलनमा महिला

विसं २००३ चैत महिनामा विराटनगरमा जुट मिल आन्दोलन भएको थियो । आन्दोलनमा सहभागी बीपी कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालालगायत पक्राउ परेका थिए । त्यसपछि विराटनगरमा दिव्या कोइरालाको नेतृत्वमा प्रदर्शन भएको थियो ।

प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु र कैयौँ घाइते भएका थिए । प्रदर्शनकै क्रममा दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी कोइरालालाई पक्राउ गरी धनकुटा जेल चलान गरिएको थियो । दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य र कामिनी कोइरालालाई छ महिना धनकुटा जेलमा राखियो ।

विसं २००४ वैशाखमा काठमाडौँ भएको विशाल प्रदर्शनमा पुष्पलाल, टङ्कविलास वज्राचार्य, शम्भुराम श्रेष्ठ, तिलकराज शाहीसँगै साधना प्रधान, सहाना प्रधान, स्नेहलता, कनकलता पनि थुनिएका थिए । जुलुसमा सहभागी प्रमिला श्रेष्ठलाई भने उनको परिवारका सदस्यले घर लगेका थिए । राजनीतिक कारणले गिरफ्तार हुने ‘पहिलो महिला राजबन्दी’ उनीहरू नै थिए ।

तर २००४ साल वैशाखमा साधना प्रधान, सहाना प्रधान, कनकलता पक्राउ पर्नुअघि २००३ साल चैत १४ गते विराटनगरमा दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी कोइरालालगायत पक्राउ परेका थिए । विसं २००५ मा नानीमैयाँ नकर्मी, केशरी प्रधानाङ्ग, जगदीश्वरी हाडा, उमादेवी हाडासहित ११  महिला राणा शासनविरुद्धको सत्याग्रहमा सहभागी भए । महिलाले भक्तपुरमा सडक प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा नानीमैयाँ, लक्ष्मी मानन्धर र देवयानी ताम्राकारलाई गिरफ्तार गरी थुनिएको थियो । जेलमा रहेका महिला बन्दीलाई शारीरिक यातनासमेत दिइयो ।

राजनीतिक दलमा महिला

नेपाल प्रजातन्त्र कांग्रेसको सन् १९४९ जनवरी १५ (२००५ साल माघ २) असमको गुवाहटी सम्मेलनका लागि तयारी सभा गरिएको थियो । तयारी सभामा शुक्रवती सुब्बा, इन्दुकुमारी सुब्बा, शान्तकी सुब्बालगायत महिला सहभागी थिए  ।

सन् १९४८ जुलाई १६ (२००५ साल साउन १)मा कोलकातामा ‘नेपाल प्रजातन्त्र कांग्रेस’ गठनका लागि तयारी भेला भएको थियो । भेलामा मेहन्द्रविक्रम शाह, सुवर्णशमशेर, सूर्यप्रसाद उपाध्याय, महावीरशमशेर, निर्मल लामा, श्रीमती सुशीला नेपाल चालिसे, मायादेवी शाह, नकली चित्रकार, टीकारथी बस्नेत, गुलवदन ताम्राकार, लक्कीदेवी परियारलगायत ६३ जना उपस्थित थिए ।

त्यसै गरी भारतको कोलकातामा सन् १९४९ अप्रिल २२ (२००६ साल वैशाख १०)मा पुष्पलालसहित पाँच जनाको गोप्य बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना भएको थियो । नेकपाको संस्थापक सदस्य पुष्पलाल, मोतीदेवी श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी थिए तर निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशीले भने मोतीदेवीलाई नेकपाको संस्थापक सदस्य मानेका छैनन् ।

“कोलकाताको श्यामबजारस्थित सरकारी टोलालिनमा पुष्पलाल, नारायणविलाश जोशी, निरञ्जनगोविन्द वैद्य र नरबहादुर कर्माचार्यको उपस्थितिमा एक बङ्गालीको घरमा बसी पार्टीको स्थापना गरिएको थियो । मोतीदेवी उक्त अवसरमा उपस्थित नभएको तर पुष्पलालले मोतीदेवीलाई पार्टीको काममा खटाइएकाले संस्थापक मान्नुपर्ने तर्क पनि गरिन्छ ।


२००७ सालको क्रान्तिमा महिला

नेपाल प्रजातन्त्र कांग्रेसले गुवाहटी सम्मेलनपछि सशस्त्र क्रान्तिको तयारीका लागि काठमाडौँ आएका ज्ञानबहादुर सुब्बा, सीबी राई र जमुना राईलाई बद्रीविक्रम थापाले सहयोग गरे । नेपाल प्रजातन्त्र कांग्रेसको ‘जनमुक्ति सेना’मा इन्दुकुमारी सुब्बा, रेणु सुब्बा र जमुना राई सहभागी थिए ।

काठमाडौँमा सेनाका जवानलाई पढाउँदै आएका सिन्धुलीका थापा भित्रभित्रै क्रान्तिको प्रचारमा थिए । थापाले आवश्यक खर्च सुन्दरराज चालिसेबाट पाउँथे । चालिसे नहुँदा थापालाई उनकी श्रीमती सुशीलाले खर्च दिने गरेकी थिइन् । २००७ सालको क्रान्तिमा सघाउन मेजर दिलमानसिंह थापामगरले वीरगन्जमा पान पसल खोलेका थिए । थापामगरलाई इन्दुकुमारी सुब्बाले सघाउने गरेकी थिइन् । २००७ सालको व्रmान्तिताका नेपालगन्ज आउने मानिससँग सम्पर्क राख्न कल्लु सिंहको अध्यक्षतामा गुप्त समिति बनेको थियो । समितिमा रत्नदेवी कर्माचार्य, लक्ष्मीदेवी कर्माचार्य, दुर्गादेवी कर्माचार्य, मुन्नीदेवी बाहुनी र प्रेमलाल तुलाधरकी दिदीलगायत सदस्य थिए ।

विसं १९९९–२००० ताका काठमाडौँमा ‘गोप्य भूमिगत सङ्गठन’ बनेको थियो । सङ्गठनका संस्थापकमा प्रेमबहादुर कंसाकार, पुष्पलाल श्रेष्ठ, सूर्यबहादुर भारद्वाज थिए । सङ्गठनमा पछि कामाक्षादेवी, राजाराम कर्माचार्य, भैरवगोपाल वैद्य, जगतप्रतापजङ्ग शाह, शम्भुराम श्रेष्ठ, गङ्गालाल श्रेष्ठ (हलवाई) आदि थपिए ।

उक्त सङ्गठनको गठनपछि भुवनलाल प्रधानको संयोजकत्वमा काठमाडौँमै अर्को ‘भूमिगत सङ्गठन’ बन्यो । महिला जागरण र शिक्षा प्रचारका लागि गठित भूमिगत सङ्गठनमा गजसुन्दर प्रधान, नन्दलाल जोशी, चित्तरञ्जन नेपाली, सहाना प्रधान, साधना प्रधान, शङ्करप्रसाद प्रधानलगायत जोडिएका थिए । सङ्गठनले २००२–२००३ सालतिर काठमाडौँ र पाटनमा २०–३० जना महिलालाई तालिम दिएको थियो ।

२००७ साल कात्तिक २६ गते राणाको आँखा छल्दै भारतीय दूतावासमा शरण लिएका राजा त्रिभुवनलाई भारत लैजान काठमाडौँको गौचरनमा भारतीय डेकोटा विमान उत्रिएको थियो । विमान अवतरणका क्रममा महिलाहरूले ‘त्रिभुवन इज आवर किङ’, ‘लङ लिभ किङ त्रिभुवन’, ‘वी वान्ट डिमोक्रेसी’, ‘ब्रिटस मिसन गो ब्याक’ नारा लगाए । नारा लगाउनेमा शान्ति निकुन्जकी छात्रा शान्ता श्रेष्ठ र प्रभा हलुवाई थिए ।

२००७ सालको क्रान्तिताका रानुदेवी पौडेल अधिकारीले विराटनगरमा स्थापित ‘नेपाल प्रजातन्त्र रेडियो’मा क्रान्तिकारी गीत गाएकी थिइन् । २००७ सालको क्रान्तिमा पाल्पा गौँडामा महिलाहरूले राणा शासनविरुद्ध जुलुस निकालेका थिए । २००७ साल पुस १९ गते पाल्पामा प्रजातान्त्रिक आन्दोलनको पहिलो दिन १७ जनाको जुलुस निस्केको थियो । जुलुसमा त्रिरत्न वज्राचार्य, हरि सुमेर, बुद्धप्रसादसहित १३ पुरुष तथा अनमोल बोहरा, सत्यलक्ष्मी श्रेष्ठसहित चार महिला सहभागी थिए ।

जुलुसमा हिँडेकी अनमोल बोहरालाई सरकारविरुद्ध नेपाली कांग्रेसलाई सहयोग गरेको अभियोगमा नजरबन्दमा राखिएको थियो । अनमोल बोहरा सेनाका सुवेदार प्रतिमान चन्द बोहराकी छोरी थिइन् ।

यसरी नेपालमा निरङ्कुश राणा शासन विरोधी आन्दोलन र जनअधिकारसहित प्रजातन्त्र स्थापनामा महिलाको भूमिका समेत उल्लेख्य थियो । राजधानीभित्र मात्र नभई देशका विभिन्न भाग र देश बाहिरबाट पनि महिला राणा विरोधी आन्दोलनमा जोडिएका थिए ।   

Author

रतन भण्डारी