नवीन सुवेदी
सुर्खेत, फागुन १८ गते । १० औँ राष्ट्रिय खेलकुद आयोजना सुरु हुन आठ महिना मात्रै बाँकी रहे पनि प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशालाबाहेक अन्य जिल्लामा खेलकुद पूर्वाधार बन्न सकेको छैन । पूर्वाधार निर्माण नभएका कारण १० औँ राष्ट्रिय खेलकुदका सम्पूर्ण खेल सञ्चालनमा कठिनाइ हुने देखिन्छ । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ मङ्सिर २ देखि ९ सम्म हुने जनाइएको छ । प्रतियोगितामा ३० भन्दा बढी खेल खेलाइने छन् ।
प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालका अनुसार प्रदेश रङ्गशालामा बढीमा १५ वटासम्म मात्रै खेल खेलाउन सकिने सम्भावना छ, त्यो पनि कार्यतालिका मिलाएर । सुर्खेतमा जम्मा १८ वटासम्म खेल खेलाउन सकिने छ । त्यति ठुलो प्रतियोगिता सुर्खेतमा भएको भौतिक पूर्वाधारले मात्रै धान्ने अवस्था रहँदैन । बाँकी अन्य खेल खेलाउन विभिन्न जिल्लामा खेलकुद पूर्वाधारका योजना बने पनि काम सुस्त गतिमा छ । कतिपय जिल्लामा अहिलेसम्म काम नै सुरु भएको छैन । कतिपय जिल्लामा अझै जग्गा खोजी भइरहेको बताइन्छ । यस्तो अवस्थामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नु कर्णालीसामु ठुलो चुनौती रहेको खेलसम्बद्ध व्यक्तिहरू बताउँछन् ।
गण्डकी प्रदेशको पोखरामा २०७९ असोजमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी कर्णालीले पाएको थियो । त्यसयता कर्णाली आन्तरिक तयारीमा जुटेको बताइन्छ । खेलकुद प्रतियोगिताका लागि पूर्वाधार विकासको जिम्मेवारी राष्ट्रिय खेलकुद विकास परिषद्को हो यद्यपि अहिलेसम्म परिषद्ले खासै चासो नदिएको बताइन्छ । यावत् समस्याका बिच तोकिएको मितिमै प्रतियोगिता आयोजना गरिनुपर्ने दबाब कर्णालीले दिइरहेको छ ।
प्रदेश खेलकुद विकास परिषद्का अनुसार निर्माणाधीन रङ्गशालाको अहिलेसम्म ७७ प्रतिशत काम सम्पन्न भएको छ । २०७८ मङ्सिरमा रङ्गशाला शिलान्यास गरिएको थियो । एमएसी–जिएसएल कम्पनीले रङ्गशाला निर्माणको जिम्मा पाएको छ । रङ्गशालाको लागत एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार छ सय रुपियाँ रहेको छ । तोकिएको समयमा रङ्गशाला सम्पन्न गर्ने दाबी निर्माण कम्पनीको छ । २०८१ जेठ ११ भित्र रङ्गशाला निर्माण सम्पन्न गरिसक्ने कम्पनीको लक्ष्य छ । परिषद्का सदस्यसचिव सन्ज्यालका अनुसार अहिलेसम्म ९० करोड रुपियाँ बराबरको बजेट खर्च भइसकेको छ । बाँकी काम जेठमा सक्ने लक्ष्य भए पनि असारसम्म जान सक्ने आकलन उहाँको छ । अत्याधुनिक प्रविधि प्रयोग गरी निर्माण भइरहेको रङ्गशाला १० हजार दर्शक अट्ने क्षमताको बनाइँदै छ ।
कालीकोट र जाजरकोटमा कभर्ड हल निर्माणको योजना छ । दुवै जिल्लाका कभर्ड हल बहुवर्षीय बजेट स्वीकृतका लागि अर्थ मन्त्रालयमा पुगेको छ । कालीकोटको १८ करोड र जाजरकोटको आठ करोड रुपियाँको योजना छ । यी दुवै योजना १० औँ राष्ट्रिय खेलकुद लक्षित भए पनि अहिलेसम्म काम अघि बढ्न सकिरहेको छैन । १० औँ राष्ट्रिय खेलकुदलक्षित विभिन्न खेल मैदान मर्मत सुधारका लागि दुई करोड बजेट छ । दैलेख र रुकुमपश्चिममा भएका कभर्ड हलको अहिले मर्मतसम्भारको काम भइरहेको छ । दुवै जिल्लाका कभर्ड हलको उपभोक्ता समितिमार्फत निर्माण भइरहेको बताइन्छ । हुम्लामा हक्की खेल मैदान निर्माणको काम अघि बढेको छ । एक करोड ६२ लाख रुपियाँको लागतमा उक्त मैदान पनि मङ्सिरसम्म सम्पन्न हुने/नहुने अन्योलमै छ ।
जुम्लामा करिब ४८ लाख रुपियाँको लागतमा भलिबलको प्याराफिटको काम भर्खर सुरु भएको छ । वीरेन्द्रनगरकै कालिञ्चोकमा क्रिकेट मैदान पनि बनिरहेको छ । पुस २ गते शिलान्यास गरिएको उक्त योजना चैत महिनामा सम्पन्न भइसक्ने लक्ष्य छ । ९८ लाख रुपियाँ लागत रहेको उक्त क्रिकेट मैदान निर्माणका लागि ठेकेदार कम्पनीले ७३ लाख १८ हजार ३३७ रुपियाँमा ठेक्का सम्झौता गरेको छ ।