बबई समाचारदाता
बबई (बर्दिया), वैशाख २१ गते । बर्दियामा केही वर्षअघि महिलाले सञ्चालन गरेको ढाका उद्योग सङ्कटमा परेको छ । बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–८ स्थित कालिका महिला उद्यमी समूहले चार वर्षदेखि सञ्चालनमा ल्याएको ढाका उद्योग आर्थिक अभाव बढ्दै जाँदा बन्द हुने अवस्थामा पुगेको हो ।
सरुवाती समयमा ढाकाका कुर्ता सुरवाल, सर्ट, पछ्यौरा, चोलोलगायतका सामग्री उत्पादन हुने उद्योगमा आर्थिक सङ्कट बढ्दै जान थालेपछि अहिले सारी मात्र उत्पादन गर्ने गरिएको छ । सञ्चालनको समयमा १३ जनालाई रोजगारी दिएको उद्योगले अहिले भने जम्मा पाँच जनालाई रोजगारी दिएको छ ।
बर्दियाबाट उत्पादन भएको ढाकाका सामग्री बर्दिया, बाँकेलगायत काठमाडौँसम्म बिक्री हुने गरेको थियो तर उत्पादन घट्दै जान थालेपछि बजार क्षेत्रसमेत खुम्चिँदै गएको छ ।
कालिका महिला उद्यमी समूहकी अध्यक्ष नीलम गौतमले उद्योग सञ्चालनमा स्थानीय सरकारले पनि सहयोग नगरेको गुनासो गर्नुभयो ।उहाँले गत वर्ष गाउँपालिकाले उद्योगका लागि गाउँ सभाबाट बजेट छुट्याए पनि नदिएको बताउनुभयो ।
समूहकी सचिव बबिता पुनमगरले महिला मिलेर पश्चिम नेपालमा नै ढाका उत्पादन गर्न सके राम्रो बजार पाउने आशाले उद्योग स्थापना गरिएको भए पनि स्थानीय तहबाट कुनै सहयोग नभएपछि उत्पादन घटाउँदै लगिएको बताउनुभयो । बढैयाताल गाउँपालिका–८ मा पर्ने ढाका उद्योगलाई ८ नं. वडा कार्यालयले यस आर्थिक वर्षमा एक लाख सहयोग गर्ने निर्णय गरेको थियो । वडाध्यक्ष तेजनाथ पौडेलले हालसम्म उक्त रकम भुक्तानी हुन नसकेको बताउनुभयो ।