• २० वैशाख २०८२, शनिबार

मदन भण्डारी राजमार्ग कालोपत्रे

blog

गुल्मीको रिडी–तम्घास खण्डको रुरु र छत्रकोट क्षेत्रमा कालोपत्रे गरिँदै । तस्विर : टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), वैशाख २० गते  । गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास खण्डको रुरु र छत्रकोट क्षेत्रमा कालोपत्रे सुरु गरिएको छ । मदन भण्डारी राजमार्ग अहिले दुई खण्डमा ४१ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रेको काम हुँदै छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत जिल्लाको रुरुक्षेत्र र छत्रकोट गाउँपालिका तथा मदाने गाउँपालिका क्षेत्रमा सडक निर्माणको काम भइरहेको छ । 

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका अनुसार पहिलो खण्ड रिडी–तम्घास अन्तर्गत रुरुक्षेत्र गाउँपालिकाको रिडीदेखि छत्रकोट गाउँपालिकाको भेडुकासम्मको २५ किलोमिटर सडक पर्छ । समानान्तर एलाइट जेभीका पब्लिक कोर्डिनेटर रवि कँडेलले कालोपत्रे र ढलानका लागि कम्पनीको सम्पूर्ण तयारी पूरा भएकाले बर्सातबाहेक अरू समस्या नरहेको बताउनुभयो । 

उहाँले अहिले रुरुक्षेत्र गाउँपालिका र छत्रकोटका अधिकांश भागमा कालोपत्रे हुने बताउनुभयो । कँडेलले बलेटक्सार, विरबास र पानी ट्याङ्की बजार क्षेत्रमा केही प्राविधिक कारण काम रोकिए पनि भिओ स्वीकृत हुनेबित्तिकै समयमै काम सक्ने बताउनुभयो । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीका सूचना अधिकारी इन्जिनियर हुमानाथ पौडेलले २०७९ फागुन २६ मा समानान्तर–एलाइट जेभीले एक अर्ब ५० करोडको लागतमा सडक कालोपत्रेको सम्झौता गरेको जानकारी दिनुभयो । 

यो खण्डको काम २०८२ फागुन २६ मा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार कटिङ, नाली, स्ट्रक्चर, ग्राभेल र कालोपत्रे गरिने छ । पौडेलका अनुसार अहिलेसम्म समानान्तर–एलाइट जेभीले ६० प्रतिशत भौतिक र ५४.३८ वितीय प्रगति भएको छ । 

कालोपत्रे सुरु भएपछि सडक निर्माणका कारण सहज यात्रा गर्न नपाएका स्थानीयदेखि काममा सहजीकरण गरिरहेका स्थानीय सरकारलाई समेत खुसी मिलेको छ । 

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले कालोपत्रेको काम सुरु भएकाले अबको वर्षामा सडक निर्माणका कारण जनताले सास्ती खेप्नु नपर्ने बताउनुभयो । ज्ञवालीले आफ्नो पालिकाभित्र तीव्र गतिमा राष्ट्रिय गौरवको आयोजनाको काम भएकोमा खुसी व्यक्त गर्नुभयो । 

ठुलो सडक निर्माणका कारण केही समयमा नागरिकले दुःख पाउनु परेको थियो तर कामको रफ्तारले धेरैले आलोचना गर्ने गरेका थिएनन् । सो सडकमा दैनिक सयौँ सवारीसाधन चल्ने गर्छन् । इस्मा–बुटवल गाडी चलाउँदै आउनुभएका इस्मा गाउँपालिका–४ का सवारीचालक दामोदर बस्नेतले काम समयमै सकिने भएपछि आफूलाई ठुलो राहत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बर्सातमा गन्तव्य पुग्न मुस्किल पथ्र्यो । त्यो दुःखका कारण आज चौडा पक्की सडकमा कुद्न  पाउने भएका छौँ ।”