• २१ वैशाख २०८२, आइतबार

पुलिसलाई एमएम कप उपाधि

blog

उपाधि विजेता पुलिस टोली ।

काठमाडौँ, वैशाख २० गते । तेस्रो संस्करणको एमएम कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा पुलिसले अघिल्लो दुई संस्करणको विजेता त्रिभुवन आर्मी क्लबलाई २४ रनले हरायो । जितको लागि २४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाएर २१५ रन मात्र बनाउन सक्यो । 

आर्मीको ब्याटिङमा हिमांशु दत्ताले अर्धशतकीय योगदान दिनुभयो । यस्तै निश्चल क्षेत्रीले ३६, इमरान शेखले २४ तथा नरेन साउदले २१ रन बनाउनुभयो । विशाल सुश्लिंगले १८, कप्तान विनोद भण्डारीले सात रन बनाउन सके। 

राम्रो सुरुवात गरेको आर्मीले एक सय ३० रन बनाउदा मात्र एक विकेट गुमाएको थियो । २७औँ ओभरमा हिमांशु दत्तालाई विपिन खत्रीले क्याच आउट गरेपछि पुलिस खेलमा फर्किएको थियो । 

दायाँ हाते मिडीयम पेसर श्रवन यादवले विनोद भण्डारी, नरेन साउद, तुलबहादुर थापा र सुमित श्रेष्ठको विकेट लिँदै पुलिसलाई जित दिलाउन अहम भूमिका खेले। 

पुलिसको बलिङ्तर्फ श्रवन यादवले सर्वाधिक चार विकेट लिए जुन क्रममा १० ओभरमा ६३ रन खर्चिए । चित्र बिस्टले दुई विकेट लिँदा बिपिन खत्री र सुनिल दौल्यालले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३९ रन बनाएको थियो । पुलिसको ब्याटङमा अरुण ऐरीले सर्वाधिक ६४ रन बनाउनुभयो । यस्तै कप्तान शङ्कर रानाले ५१, दीपक डुम्रेले ३६, श्रवन यादवले ३२ तथा अविनाश कर्णले १९ रन बनाउनुभयो । 

आर्मीको बलिङतर्फ दुर्गेश गुप्ता, नरेन साउद र तुल बहादुर थापाले दुई दुई विकेट लिनुभयो । विशाल सुश्लिङ, पवन कार्की र सुमित श्रेष्ठले एक एक विकेट लिनुभयो । 

उपाधिसँगै पुलिसले चार लाख रुपियाँ पुरस्कार पायो । आर्मीले दुई लाख रुपियाँ पुरस्कार पायो । उत्कृस्ट खेलाडी त्रिभुवन आर्मी क्लबका नरेन साउद घोषित हुनुभयो । उहाँले २५ हजार रुपियाँ पाउनुभयो । 

यस्तै उत्कृस्ट ब्याटर पुलिसका शङ्कर राना तथा उत्कृष्ट बलर कोशी प्रदेशका प्रेम कामत घोषित हुनुभयो । दुवैले जनही १५ हजार रुपियाँ पाउनुभयो । प्रतियोगितामा ६ टोलीले भाग लिएका थिए ।