• २० वैशाख २०८२, शनिबार

अस्ट्रेलियामा जमेका नेपाली अनुहार

blog

विश्वकै समृद्ध र अवसरले भरिभरिभराउ मुलुक हो अस्ट्रेलिया । शिक्षा, रोजगारी, व्यापार, अनुसन्धान र समृद्ध जीवनस्तरका दृष्टिकोणले अस्ट्रेलिया आज विश्वभरका आप्रवासीका लागि आकर्षणको केन्द्र बनेको छ । अवसरको खोजीमा अस्ट्रेलिया पुग्ने नेपालीको सङ्ख्या अहिले तीन लाख नाघिसकेको छ ।

अस्ट्रेलियाको समृद्धिमा आफ्नो भविष्य र परिवारको समृद्धि खोज्न धेरै नेपाली त्यहाँ पुगेका छन् । धेरैजसो नेपाली उच्च शिक्षा हासिल गर्न त्यहाँ पुगेका हुन् । यसबाहेक रोजगारी, व्यापार वा अन्य पेसागत कारणले त्यहाँ पुग्नेहरू पनि मनग्गे छन् । तीमध्ये केही नेपाली लोभलाग्दो परिवेशमा रहेका छन् । यो मुकाम त्यसै हासिल भएको होइन । प्रारम्भमा धेरैले सङ्घर्षका दिन व्यतीत गरे । भाषा, संस्कृति, सामाजिक प्रणाली नै फरक छ हामी भन्दा । ती कठिनाइ पार गर्दै आज अस्ट्रेलिया पुगेका अधिकांश नेपाली कुनै न कुनै स्वरूपमा उम्दा छन्् ।

यस क्रममा, त्यहाँ रहेका हजारौँ नेपालीले आफूलाई दक्ष व्यवसायी, कुशल पेसाकर्मी वा अग्रणी सामाजिक अभियन्तालगायतको पहिचान स्थापित गरिसकेको अवस्था छ । तीमध्ये केही नेपाली त अस्ट्रेलियाको बहुसांस्कृतिक र बहुपहिचान समाजमा नेतृत्वदायी भूमिकामा समेत अब्बल साबित भएका छन् । शेष घले जो आफैँमा नेपाली ब्रान्ड बने, उनको व्यापार व्यावसायको अन्तर्राष्ट्रिय सञ्जाल नै छ । यहाँ भने अलि तल्लो अवस्थामा रहेका तर अरूका लागि प्रेरणापुञ्जका रूपमा कहलिएका केही पात्रको चर्चा यस लेखमा गरिएको छ ।

सफलता चुम्दै सन्तोष मल्ल

२०३४ सालमा बाँकेको नेपालगन्जमा रामबहादुर मल्ल र सुशीला मल्लको जेठा छोराका रूपमा जन्मनुभएका सन्तोष मल्ल अहिले अस्ट्रेलियाको राजधानी क्यानबेरामा एक सफल व्यवसायी, सामाजिक अभियन्ता र मानवसेवीका रूपमा परिचित हुनुहुन्छ । आफ्नो देशमा रोजगारीको स्पष्ट सम्भावना नदेखेपछि तीन वर्षको सानी छोरीलाई नेपालमै छोडेर सन् २००७ मा अस्ट्रेलियाको ब्रिसबेन सहरमा नयाँ भविष्यको खोजीमा पुग्नुभएको थियो ।

सङ्घर्षको सुरुवात ब्रिसबेनबाट भयो । भाषाको अप्ठ्यारो, हातमा सिपको अभाव र अपरिचित परिवेश–यी सबै चुनौती हुँदाहुँदै पनि सन्तोषले आफ्नो यात्रा रोक्नुभएन । केही महिना बेरोजगार रहनु परेको थियो । यसै क्रममा उहाँको भेट असल मित्र उमेश खड्कासँग भयो जसको साथ र सहयोगले उहाँले नयाँ मोड लिनुभयो । नौ महिना ब्रिसबेनमै सङ्घर्षपछि उमेशकै सिफारिसमा क्यानबेरामा बसाइ सरी नयाँ जीवन आरम्भ गर्नुभयो ।

क्यानबेरामा सुरुमा सामान्य होटल भान्साको कामबाट पेसागत यात्रा सुरु भएको थियो । इमानदारिता र निष्ठाका साथ काम गर्दै जानुभएका सन्तोषले त्यही समयको प्रयोग गर्दै स्वास्थ्य क्षेत्र र क्यानबेरा विश्वविद्यालयमा पनि काम गर्ने अवसर पाउनुभयो । उहाँ भन्नुहुन्छ, “अस्ट्रेलियामा आएपछि मैले बुझेँ–यहाँ काम सानो–ठुलो हुँदैन, मालिक–कामदारको विभाजन हुँदैन । आफ्नो काम आफैँ गर्नुपर्ने र इमानदार भएर गर्नुपर्ने संस्कार यहीँबाट सिकेँ ।” यही आदर्श सिकाइको क्रममा उहाँले पछिल्लो समयमा केही साथीहरूसँग मिलेर उहाँले नर्सिङ कलेज तथा अपाङ्गता पुनस्र्थापना केन्द्र नामको प्राविधिक शिक्षालय, अस्टे«लियन क्यापिटल केयर नामको एजेन्सी, रियल स्टेट कारोबारलगायतका व्यवसायमा सफलता हात पार्नुभएको छ । उहाँको मातहतमा अहिले करिब पचास कर्मचारी काम गरिरहेका छन् ।

आज अस्ट्रेलिया बसाइको १८ वर्षपछिको यात्रामा सन्तोष मल्ल सफल व्यवसायी, सामाजिक अगुवा र सनातन धर्मका अभियन्ताका रूपमा नेपाली समुदायमा सम्मानित हुनुहुन्छ । उहाँको योगदान केवल व्यवसायमा सीमित छैन । सन्तोष धार्मिक, सामाजिक र मानवीय सेवामा पनि अगाडि हुनुहुन्छ । उहाँकै नेतृत्वमा अस्ट्रेलियामा नेपाली समुदायको पहिलो गैरनाफामूलक संस्था ‘सनातन समाज अस्ट्रेलिया’ स्थापना गरिएको हो, जुन अहिले चार वर्षदेखि नेपालीको हक, हित, अधिकार, धर्म र संस्कृतिको संरक्षणमा समर्पित छ ।

हालै सन्तोष मल्लकै अगुवाइमा क्यानबेरामा पशुपतिनाथको मन्दिर निर्माण अभियान अघि बढाइएको छ । मन्दिरका लागि आवश्यक जग्गा व्यवस्थापनका लागि अस्ट्रेलियाको सङ्घीय तथा प्रान्तीय सरकारका पदाधिकारीहरूसँग छलफल भइसकेको छ । उहाँले उठाउनु भएको मागलाई क्यानबेराको विपक्षी दल लिबरल पार्टीले गत वर्ष आफ्नो चुनावी एजेन्डामा नै राखेर साथ दिएको छ । उहाँकै पहलमा क्यानबेरा सरकारले नेपाली हिन्दु समुदायका मृतकको दाहसंस्कारका लागि जग्गा उपलब्ध गराइएको छ भने सरकारले नै वर्सिप एन्ड कम्युनिटी सेन्टरसमेत खोलिदिएको छ । 

यसै साता सरकारको खर्चमा किरिया घर निर्माण गर्ने निर्णय भएको छ, जुन सन्तोष र उहाँको टिमको अथक प्रयासको फलस्वरूप सम्भव भएको हो । सङ्घीय सरकार जनप्रतिनिधिदेखि क्यानबेरा सरकारका उच्च अधिकारीसम्म सिधा पहुँच राख्ने सन्तोष नेपाली समुदायको हितका लागि दर्जनौँ सामाजिक कार्यव्रmममा सव्रिmय रहनुभएको छ ।

इटहरीका उज्ज्वल नक्षेत्र दिनेश कठायत

सुनसरीको इटहरीको सामान्य परिवेशमा जन्मिएर हुर्किएका दिनेश कठायत अहिले अस्ट्रेलियामा नेपाली समुदायका लागि प्रेरणाको उदाहरण बन्नुभएको छ । नेपाली उत्पादन विदेश पु¥याउने अभियानमा जोडिनु भएका कठायत अस्ट्रेलियाको सिड्नीमा जमेर व्यवसाय गर्दै हुनुहुन्छ । नेपाल, भारत, अस्ट्रेलियालगायत विश्वका विभिन्न मुलुकबाट उत्पादित दैनिक उपभोग्य सामग्रीको आयात निर्यात तथा होलसेल सप्लायर्सका रूपमा स्थापित व्यवसायलाई अस्ट्रेलियाका सबै राज्य र ठुला सहरमा विस्तार गर्न सफल हुनुभएको छ । उहाँले सञ्चालन गर्नुभएको काठमाडौँ ट्रेडिङ कम्पनी नामको आयात निर्यात तथा होलसल सप्लायर्स र काठमाडौँ बुचरी नामको मासुको होलसेल तथा खुद्रा व्यवसाय अहिले अस्टे«लियामा बस्ने आमनेपाली समुदायमा प्रख्यात छ ।

उच्च शिक्षा अध्ययनको व्रmममा दिनेश कठायतले सन् २००८ मा सिड्नी पुग्नुभएको थियो । अध्ययनसँगै उहाँले एक जापानी सामग्रीको आयात निर्यात कम्पनीमा काम गर्नुभयो । त्यहाँ काम गरेको अनुभव र सफलतासँगै सन् २०१३ बाट उहाँले सामान्य पहलबाट आफ्नो व्यावसायिक यात्रा थाल्नुभएको थियो । सुरुवाती दिनमा अनेक कठिनाइ र सङ्घर्ष रहेका थिए, भाषा, संस्कृति, कानुनी झन्झट, व्यावसायिक प्रतिस्पर्धा र आप्रवासी जीवनका आरोह–अवरोह । उहाँले हरेस खानुभएन । उहाँले सेवा, गुणस्तर र पारदर्शितालाई आफ्नो व्यवसायको आधार बनाउँदै अगाडि बढ्नु भयो र व्यवसायलाई विस्तार गर्नुभयो । फलस्वरूप उहाँ अस्ट्रेलियाको प्रतिस्पर्धी बजारमा नेपाली मूलका उत्कृष्ट व्यवसायी बन्न सफल हुनुभएको छ ।

विगत १७ वर्षदेखि अस्ट्रेलियामा बसेर उद्योग तथा व्यवसायको उन्नतिको यात्रामा रहेका कठायत केवल व्यापारिक लाभमा मात्र सीमित हुनुहुन्न । सामाजिक उत्तरदायित्व र मानवीय सेवालाई जीवनको मूल मर्म मानेका उहाँले विभिन्न सङ्कटका समयमा नेपाली समुदायलाई साथ र सहयोग प्रदान गर्दै आउनुभएको छ । विशेषतः कोरोना महामारीको समयमा दिनेशको मानवीय पक्ष उदारमना थियो । जब अस्ट्रेलियामा रहेका सयौँ नेपाली विद्यार्थी र आप्रवासी काम र आम्दानी गुमाएर मानसिक, आर्थिक र सामाजिक समस्यामा फसिरहेका थिए, त्यो समयमा उहाँले व्यक्तिगत पहलमा ठुलो सङ्ख्यामा राहत सामग्री, आवास, औषधोपचार र आर्थिक सहयोग उपलब्ध गराउनुभएको थियो । यति मात्र होइन, विभिन्न नेपाली सङ्घ संस्थासँग सहकार्य गरेर राहत संयन्त्रको समन्वयसमेत कठायतले गर्नुभएको थियो । 

उहाँको यस्ता कार्यले नेपाली समुदायभित्र मात्र होइन, अस्ट्रेलियन समाजमै ठुलो छाप पारेको छ । फलस्वरूप अस्ट्रेलिया सरकारका विभिन्न सरकारी तथा गैरसकारी निकाय र जनप्रतिनिधिले कठायतको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान तथा पुरस्कारबाट विभूषित गरेका छन् । दिनेश दम्पत्तिलाई न्यु साउथ वेल्स राज्यको संसद्मा अभिलेख रहने गरी सम्मान गरेको छ । दिनेश र पत्नी गुञ्जालाई संयुक्त रूपमा सम्मानपत्र दिइएको थियो । सिड्नीको पेन्सहर्सट क्षेत्रमा व्यवसाय सञ्चालन गरेर ठुलो सङ्ख्यामा सर्वसाधारणलाई रोजगारी दिएको तथा अप्रावासीको सफलताको कथा बनेको भन्दै सम्मानपत्र दिइएको छ ।

अस्ट्रेलियाका विभिन्न राज्यमा उहाँले सञ्चालन गरेका व्यवसायमा नेपाली मात्र नभई बहुराष्ट्रिय समुदायका मानिसले काम गरिरहेका छन् ।

कामदारदेखि मालिक बनेका मणि (इनाम) 

अवसरको खोजीमा लाखौँ नेपाली अहिले बिदेसिएका छन् । हुनेखाने सम्पन्न मुलुकतिर हान्निएका छन् भने हुँदाखाने मात्र हुने खाडीतिर सोझिएका छन् । स्वदेशमै बसेर केही गरौँ भन्ने सोच र चाहना धेरैमा छ । सोच र चाहेबमोजिमको अवस्थाका अभावमा बाध्य भएर युवा जमात बिदेसिएका छन् । युरोप अमेरिका र अस्ट्रेलिया पुगेका राम्रो पढाइ र सुदृढ भविष्यको परिपूर्तिको आकाङ्क्षा राख्छन् भने खाडी जानेहरू केही वर्ष रोजगारी गरी समृद्ध जीवनको परिकल्पनाका साथ काममा दलिएका छन् । यीमध्ये कतिले भने आफू पुगेकै राष्ट्रका लागि राम्रो आम्दानीको स्रोत जुटाइदिने तहको योगदानसमेत दिने गरेका छन् । यसैमध्ये अस्ट्रेलिया पुगेका मणि (इनाम) दाहालको आफ्नै कथा छ । 

सन् २००६ मा अस्ट्रेलिया पुगेका दाहाल सुरुमा सिड्नीस्थित एउटा रग (गलैँचा) पसलमा काम गर्नुहुन्थ्यो । समयक्रममा उहाँले धेरै मेहनत गर्नुभयो । अहिले उहाँ आफैँ उक्त पसलको मालिक बन्नुभएको छ । यो उचाइमा पुग्न उहाँले ठुलै मेहनत गर्नु प-यो । 

सुनसरीको इनरुवावासी मणि काठमाडौँमा विज्ञापन एजेन्सी चलाएर बस्नुहुन्थ्यो । उहाँको हुटहुटी भने विदेश जानेतिर बढी थियो । कारण साथीभाइको लहैलह । आजभन्दा १९ वर्षअघि मणि पुसको मध्य जाडोमा हान्निएर पुग्नुभयो, अस्ट्रेलियाको सिड्नी । उता कतै नभएको उखर्माउलो गर्मी । पढाइका लागि अस्ट्रेलिया पुगेका मणिलाई काम नगरी पढ्ने, बस्ने र जीवन चलाउने अवस्था थिएन । त्यसैले काम खोज्ने व्रmममा उहाँ सिडनीको पारामट्टा रोडस्थित एउटा रग (गलैँचा) पसलमा कामदारका रूपमा भर्ती हुनुभयो । धेरैलाई थाहा नहुन सक्छ तर यही सानो कामबाट मणिको सफलताको आधारशिला तयार भयो ।

केही वर्ष काम गर्दा साहुले पसल बेच्ने सोच बनाए । मणि आफैँ तम्सिनुभयो पसल किन्न । सिड्नीमा राम्रो ब्रान्डका रूपमा रहेको रग आर्टको धरै चेन थिए । त्यसमध्येको मुख्य पसल उहाँले लिनुभयो । श्रीमती शैलजा उप्रेतीसहित काम गर्न थाल्नुभयो । आज उहाँ सिड्नीमा मात्र नभई पूरै अस्ट्रेलियामा एक मात्र नेपाली रग पसल चलाउने व्यावसायिकमा पर्नुहुन्छ । सिड्नीमा मात्र नभई अस्ट्रेलियाको अन्य भागमा पनि उहाँका ग्राहक छन् । उच्च गुणस्तर, पारदर्शी सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आवश्यक परेमा होम डेलिभरीको सेवासमेत दिँदै आउनुभएका मणिले नेपाली व्यवसायिकतामा एक नयाँ उदाहरण स्थापित गरिसक्नुभएको छ ।

त्यसैले दुःख कष्ट र सङ्घर्षको बेजोड मिलनको एउटा सग्लो स्वरूपमा मणिलाई लिइँदै आएको छ । सपरिवार व्यापारमा तल्लीन मणि नेपाल र नेपालीका लागि एउटा प्रेरणाको स्रोत बन्नुभएको छ ।  

नेपालमा विज्ञापन एजेन्सी सञ्चालन गरिसकेका मणिको सोच अझै पनि देशसँग जोडिएको छ । उहाँ भन्नुहुन्छ, “पैसा कमाउनु मात्रै अन्तिम लक्ष्य होइन, नेपाल र नेपालीको नाम जहाँ बसे पनि उच्च राख्न सक्नु पर्छ ।” विदेशी भूमिमा सङ्घर्ष गर्दै व्यावसायिक उचाइमा पुगेका मणि आज धेरै नेपालीका लागि एक प्रेरणादायी अनुहार र उदाहरणीय नाम बन्नुभएको छ । स्वदेशमै केही गर्न सक्ने चाहना राख्ने तर अवसरको अभावले बिदेसिएका हजारौँ युवाका लागि मणिको कथा सकारात्मक दृष्टान्त बन्न सक्छ ।