प्रकाशविक्रम शाह
धनगढी, वैशाख २० गते। सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले एआईको चेतनाका लागि विज्ञको सल्लाह अनुसार काम गर्ने बताउनुभएको छ। एआई कार्यशालामा सहभागी विद्यार्थीको शनिबार ज्ञापनपत्र बुझदै मन्त्री खड्काले “सेन्टर फर एक्सलेन्स” को स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता गर्ने बताउनुभयो। धनगढीमा पहिलो पटक भएको एआई सम्बन्धी कार्यशालाका सहभागीले एआई सम्बन्धी काम गर्न प्रदेश सरकारले ढिलाई गर्न नहुनेमा जोड दिए।
सो कार्यशालाको उद्घाटन डडेलधुराको क्षेत्र नम्बर (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले आयोजना गर्नु भएको थियो। विकासको लागि कृत्रिम बौद्धिकता भन्ने विषयमा केन्द्रित तीन दिने सेमिनारमा धनगढीका विभिन्न कलेजमा ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीको सहभागिता रहेको थियो।
डा. जोशीका अनुसार एआईको प्रयोग केवल प्रविधिमा सीमित नरही शिक्षादेखि स्वास्थ्य, कृषि, सुरक्षा र प्रशासनसम्म फैलिएको र यस क्षेत्रमा ठूलो करिअर सम्भावना रहेकोले विद्यार्थीलाई यसतर्फ आकर्षित गर्न सो कार्यशाला आयोजना गरिएको हो।
कार्यशालामा कृत्रिम बौद्धिकता (एआई) को विकास, सामाजिक तथा प्राविधिक प्रयोग र नीति निर्माणमा प्रयोगका सम्भावनाका विषयमा विद्यार्थी र विज्ञसँग अन्तरक्रिया भएको थियो। अबको बजेटमा एआई एक्सिलेन्स सेन्टर लगायत प्रविधि र उत्पादनमुलक होस् भनेर आयोजना गरिएको कार्यक्रममा काठमाडौँ विश्वविद्यालय एआई विभाग प्रमुख यज्ञराज पाण्डे, एआई विज्ञ सागर उप्रेती, सुदिप श्रेष्ठ, रोशन श्रेष्ठ, संजोग नेपाली, रामप्रसाद चौधरी र भेषराज जोशीले विद्यार्थीलाई प्रशिक्षण दिनुभएको थियो।
सो सेमिनारमा सशस्त्र प्रहरीका अधिकृत, आइटी इन्जिनियर, युवा उद्यमी, कैलाली बहुमुखी क्याम्पस, सुदूरपश्चिमाञ्चल क्याम्पस र नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका बिआईएम संकायमा अध्ययनरत ७० जना विद्यार्थीको सहभागिता रहेको थियो।