• २० वैशाख २०८२, शनिबार

बुहारीको योजनामा ससुराको हत्या

blog

प्रहरीको साथमा हत्याको योजनाकार । तस्बिर : ध्यान कुलुङ

ध्यान कुलुङ
सङ्खुवाभा, वैशाख २० गते ।
जिल्लाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा बुहारीको योजनामा ७२ वर्षीय ससुराको हत्या गरिएको छ । गत शनिबार तुम्लिङटारमा मनबहादुर कुमालको ४५ वर्षीय बुहारीले दुई जना नाबालक परिचालन गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हत्याका योजनाकारले १७ वर्षीया दुई नाबालक र आफ्नै १३ वर्षीया छोरीको प्रयोग गरेर ससुराको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीले हत्यामा संलग्न एक नाबालिका, दुई नाबालक र योजनाकार मृतककी बुहारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । घटनामा संलग्नहरू नाबालक तथा नाबालिका रहेकाले मृतकको योजनाकार बुहारीको पहिचान गोप्य राख्नुपरेको प्रनाउ बस्नेतले जानकारी दिनुभयो ।

मृतककी श्रीमतीको नाममा रहेको जग्गा बेच्न खोजेपछि उक्त जग्गाको लोभमा बुहारीले ससुराको हत्या गर्ने योजना बनाएको खुल्न आएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो । जग्गा बेचिहाले आफुने नपाउने भएकाले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको उहाँको भनाइ छ ।

पूर्व योजना अनुसार गत शनिबार राति दुई नाबालक बोलाई वृद्ध ससुराको हत्या गर्न लगाएको हो । मृतक र बुहारीको घर करिब सय मिटरको दूरीमा पर्छ । हत्या गर्नु अघि बुहारीले दुई जना नाबालकलाई घरमै बोलाइ र राति सुतिरहेको अवस्थामा हत्या गर्न लगाएको अनुसन्धामा देखिएको प्रहरीले जनाएको छ ।

मध्यराति नकाब लगाएर आएकाहरूले आफ्नो श्रीमानको घाँटी थिचेर हत्या गरी भागेको मृतकको श्रीमती सुनामाया कुमालले बताउनुभएको थियो । मृतककी श्रीमतीको ठुलो आवाज नआउने समस्या छ । घटनापछि छिमेकीलाई खबर गरी अस्पताल लगिए पनि अस्पतालले मृतक घोषणा गरेको थियो ।

नाबालकहरूलाई २० हजार रुपियाँ दिने सर्तमा हत्या गर्न लगाएको अनुसन्धानमा देखिएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो । ०७१ मा मृतक र आफ्नै छोरा (हत्याका योजनाकारको श्रीमान) बिच विवादको क्रममा मृतकले छोरालाई खुकुरी प्रहार गरेको थियो । त्यस बेलादेखि नै उनीहरू बिच विवाद हुँदै आएको अनुसन्धानको क्रममा खुलेको प्रनाउ बस्नेतले जानकारी दिनुभयो । मृतकका छोरा अहिले वैदेशिक रोजगारीमा छन् ।