• २१ असार २०८१, शुक्रबार

तामाखानी उत्खननको माग गर्दै मुगाली

blog

मुगु समाचारदाता

मुगु, फागुन १८ गते । मुगु जिल्लाको उत्तरी भेगको मुगमकार्मारोङ गाउँपालिकास्थित डोल्फु नाम्लाङ खोला क्षेत्रमा रहेको प्राचीन तामाखानी अन्वेषण गरी उत्खनन गर्न स्थानीयले सङ्घीय सरकारसँग माग गरेका छन् । स्थानीय बासिन्दा टुन्डुल लामाका अनुसार मुगुम कार्मारोङ गाउँपालिकाका–१, डोल्फुगाउँदेखि पाँच घण्टा टाढा नाम्लाङ खोला क्षेत्रको पालाङ्जे, इटिङ, थोङ्वालगायत स्थानका पूरै पहाडमा तामाखानी भएको अनुमान छ ।

मुगमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले कर्णाली प्रदेशकै सम्पत्ति भएकाले तामाखानी उत्खननमा प्रदेश र सङ्घीय सरकारले चासो नदिएको बताउनुभयो । उहाँले मुगुको तामाखानीलाई राज्यले उत्खननमा प्रथामिकता नदिँदा जिल्लाका युवा रोजगारीबाट वञ्चित भएको बताउनुभयो । सरकारले तामाखानी उत्खनन गरेमा जिल्लाका युवाले रोजगारी पाउने उहाँको भनाइ छ । स्थानीय पाल्जु कार्मा लामाले पहिले डोल्फु गाउँका ५५ घरधुरीले खानीबाट तामाका डल्ला निकालेर विभिन्न भाँडा बनाएर जिल्लाका विभिन्न ठाउँमा बेच्ने गरेको स्मरण गर्नुभयो । छायानाथ रारा नगरपालिका–११ का स्थानीय सर्जन बुढाले यहीँको तामा उत्खनन गरी दोल्फुका लामा जातिका मानिसले स्थानीय परम्परागत प्रविधिबाट तामा उत्खनन गरी तामाका ताउला, गाग्री, हुँडा, खड्कुँलो बनाएर मुगुलगायत हुम्ला, डोल्पा, कालीकोट र जुम्लामा बिक्री गरेको बताउनुभयो । उहाँले त्यतिबेला मुगुका भोटेले स्थानीय तामाबाट बनाएका गाग्री अहिले पनि आफ्नो घरमा रहेको उहाँको भनाइ छ । ती तामाबाट निर्मित गाग्रीलाई अहिले पनि ‘करानी तामा’ भनी चिनिन्छ ।  भारतको अल्मोडाको तामाभन्दा यहाँको तामा उत्कृष्ट देखिएको दाबी उहाँको छ । 

एक सय वर्षअघिको तत्कालीन समयमा तामा उत्खनन गरी स्थानीय प्रविधि अनुसार प्रशोधन गरी विभिन्न भाँडाकुँडा बनाउने र बेच्ने व्यवसाय थियो । त्यसको केही समययता सरकारले तामा उत्खननमा रोक लगाएपछि दोल्फुका लामाले तामाका भाँडा बनाएर बेच्ने व्यवसाय नै सङ्कटमा परेको थियो । सन् १९७५ देखि सरकारले डोल्फुको तामाखानी उत्खननमा प्रतिबन्ध लगाएको स्थानीय विग्याल्जो लामाले बताउनुभयो । गाउँपालिकाले पनि खानी अन्वेषण गरी उत्खननका लागि खानी तथा भूगर्भ विभागमा लिखित तथा मौखिक रूपमा आग्रह गर्दै आएको पालिकाले जनाएको छ ।