गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १७ गते । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले मिटरब्याजी पीडितहरूको माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा उहाँले सो माग गर्नुभएको हो ।
उहाँले काठमाडौँमा आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडितहरू आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनेपछि १४ गते संसद् भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भएको अवस्थालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने उहाँको सुझाव छ । उहाँले प्रदर्शनका क्रममा पक्राउ परेकालाई तत्काल रिहा गर्नुपर्ने माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘धेरै दिनदेखि काठमाडौँमा आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडितहरू आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनिसकेपछि यही १४ गते संसद् भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भए । छिर्नु आफैँमा संवेदनशील कुरा हो भने अर्को संवेदनशील विषय उहाँहरूलाई पक्राउ गरेर अहिलेसम्म छोडिएको छैन ।’
मिटरब्याज पीडितका आफ्नै वार्ताका कुरा रहेकाले सरकारले समयमा सम्बोधन नगर्दा अरू पनि थप दुर्घटना हुन सक्नेतर्फ उहाँले सजग गराउनुभयो । ‘यो विषयमा सरकारले समयमा ध्यान दिएर वार्ता अघि बढाओस्’ उहाँले भन्नुभयो । उहाँले मिटरब्याज पीडितका माग समयमै सम्बोधन नगर्दा थप दुर्घटना हुनेतर्फ सरकारले सोच्न आवश्यक रहेको बताउनुभयो ।