सिराज खान
नेपालगन्ज, फागुन १७ गते । बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा घडियाल छाड्दै आए पनि संरक्षणमा समस्या देखिएको छ । घडियालका लागि प्राकृतिक बासस्थानका रूपमा रहेको राप्ती नदीमा दुई वर्षको अवधिमा २० वटा घडियाल गोही छाडिएको छ । तीमध्ये १२ वटा जति मात्र नदीमा रहेको निकुञ्जले जनाएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख मनोजकुमार शाहका अनुसार राप्ती नदी घडियालका लागि उपयुक्त बासस्थान भए पनि नदी वरिपरि मानव बस्ती रहेकाले गोही जोगाउन समस्या भइरहेको छ । यस वर्ष छाडिएका घडियाल नदीमा देखिए पनि गत वर्षका मध्ये दुई वटा मात्र देखिएको छ । पछिल्लो समयमा सिमसार क्षेत्र दिनप्रतिदिन चपेटामा परिरहेको अवस्थामा घडियाल संरक्षण गर्न चुनौती देखिएको छ । नजिक रहेको मानव बस्तीकै कारण अधिकांश नदीनालामा माछाको कमी भइसकेको छ । घडियालको आहारा नै माछा हो । यस्तो अवस्थामा यसलाई संरक्षण गर्न चुनौती छ ।
बाँके राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले नदीमा आश्रित समुदायका लागि आयआर्जनको विकल्प नखोजेसम्म राप्तीमा घडियाल गोही संरक्षण गर्न ठुलो चुनौती रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ठुलो समुदाय राप्ती नदीमा आश्रित छ । माछा मार्ने र सुन चालेर जीविकोपार्जन गर्ने समुदाय मुख्य गरी राप्तीमै आश्रित समुदाय हो । नदीमा आश्रित समुदायका लागि पहिले विकल्प खोज्नु पर्छ । समयमा विकल्प खोजिएन भने घडियालको सुरक्षा सम्भव छैन ।”
माछा मार्ने, सुन चाल्ने समुदाय (खुना, कुमाल, बादीलगायत) राप्ती नदी आसपासका गाउँमा धेरै रहेका छन् । जसले गर्दा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमै जोगाउन चुनौतीपूर्ण रहेको सरोकारवालाको भनाइ छ । बाँकेका पर्यटन व्यवसायी कृष्ण चौधरीले राप्ती नदीको चारैतिर खुला रूपमा समुदायको ओहोरदोहोर हुने र माछा मार्ने बढ्दै गएकाले घडियाल संरक्षण गर्न चुनौती रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “घडियाल गोहीको संरक्षणका लागि स्थानीय समुदायलाई सचेत पारेर उनीहरूलाई नै संरक्षणको जिम्मा दिनु पर्छ ।”
बाँके राष्ट्रिय निकुञ्जका अनुसार अन्य गोहीभन्दा घडियाल शान्त स्वभावको मानिन्छ । यसले मानिसलाई आक्रमण गर्दैन । यसको प्रमुख आहारा नै माछा हो । सफा पानीमा मात्र यो बस्न रुचाउँछ । नदीमा माछाको अभावले गर्दा नै घडियाल संरक्षणमा चुनौती बढेको हो । निकुञ्जका अनुसार घडियाल गोहीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ ले पनि संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरेको छ । गोहीलाई कसैले मारेको खण्डमा कडा कानुनी सजाय हुने व्यवस्था गरिएको छ । कसैले सिकार गरेमा वा मारेको ठहर भएमा एक लाखदेखि पाँच लाख रुपियाँसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको निकुञ्जले जनाएको छ ।