• १३ साउन २०८१, आइतबार

फुङ्लिङमा निःशुल्क आँखा शिविर

blog

फुङ्लिङमा बुधबारदेखि सुरु भएको आँखा शिविरमा लगोको सेवाग्राहीको भीड । तस्बिरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन १६ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बुधबारदेखि आँखा शिविर सुरु भएको छ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा तीन दिने निःशुल्क आँखा शिविर सुरु भएको हो । 

नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको आयोजना तथा तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा शिविर सुरु भएको छ । नेत्रज्योति सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आँखा शिविर सुरु भएको हो । शिविर आयोजकको भूमिकामा फुङ्लिङ नगरपालिका, सेवा फाउन्डेसन काठमाडौँसमेत रहेका छन् ।

शिविरमा मोतीबिन्दु रोग भएको बिरामीको निःशुल्क शल्यक्रिया गरिने नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ शाखाको उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिने आँखा शिविरलाई लक्षितगरी नेत्रज्योति सङ्घले गाउँ–गाउँमा गएर मोतीबिन्दु भएका रोगीहरूको खोजी गरेको थियो । 

जिल्लाको मैवाखोला र मिक्वाखोला गाउँपालिकामा घुम्ती शिविर सञ्चालन गरी मोतीबिन्दु पहिचान भएका बिरामीको पहिचान गरिएको छ । सो घुम्ती शिविरमार्फत मोतीबिन्दु पहिचान भएका रोगीहरूले आँखा शिविरमा सहभागिता जनाएको र उहाँहरूलाई शल्यक्रियासहितको उपचार सेवा प्रदान गरिने नेत्रज्योति सङ्घले जनाएको छ । 

सङ्घका अनुसार मैवाखोला र मिक्वाखोला गाउँपालिकामा मात्र ३७ जना मोतिविन्दुका बिरामी पहिचान गरिएका छन् । मोतीबिन्दु पहिचान भएकासमेत जिल्लाभित्र तथा बाहिर पाँचथर र तेह्रथुमसमेतबाट बिरामी आएका छन् । पहिलो दिन बुधबार करिब एक हजारको सङ्ख्यामा सर्वसाधारण शिविरमा सेवा लिन आएका नेपाल नेत्रज्योति सङ्घका जिल्ला सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो । 

गुरुङका अनुसार उपचार सेवा लिन आएको सेवाग्राहीको भीड लागेको बताउनुभयो । उहाँले शिविरमा आँखा परीक्षणको क्रम धमाधम चलिरहेको र मोतीबिन्दु पहिचान भएका बिरामीको बिहीबारदेखि शल्यक्रिया सुरु हुने जानकारी दिनुभयो ।

शिविरमा मोतीबिन्दु पहिचान भएका ४० वर्षमाथि उमेर समूहका बिरामीलाई निःशुल्क शल्यक्रियासहित चस्मा र आवश्यक औषधी पनि निःशुल्क रूपमा उपलब्ध गराइने आयोजकले जनाएको छ । मोतिबिन्दुबाहेक आँखाका अन्य बिरामीलाई शिविरमा परीक्षण तथा उपचार सेवा प्रवाह गरिँदैआएको छ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतको संलग्नता रहेकाले सेवाग्राहीको उल्लेख्य चाप भएको छ ।