कोकिला भण्डारी
धनकुटा, फागुन १६ गते । संस्कृति लोपहुन नदिई बचाई राख्न धनकुटाको तमोर नदी किनारमा बसोबास गर्दैआएका माझी समुदायले सामूहिक रूपमा लदी पूजा गरेका छन् ।
लदी भनेको माझी भाषामा नदी अर्थात् कोशीको रूपमा अर्थ लगाउने गरेको सो समुदायको अगुवाहरूको भनाइ छ । खोला तथा नदी किनारमा आश्रित हुने भएकाले डुङ्गा चलाउँदा, माछा मार्दा र नदीमा पौडी खेल्दा सुरक्षित हुने कामना गर्दै पहिले–पहिले लदी पूजा गरिन्थ्यो । माझी समुदायका अगुवा नविन माझिका अनुसार लामो समयसम्म बन्द रहेको सो पूजा अघिल्लो वर्ष साँगुरीगढी गाउँपालिका –३ कुसेटारमा मनाएको बताउनुभयो ।
यो वर्ष चौबिसे गाउँपालिका–५ समुदायमा निकै खुसीयालीपूर्वक मनाएका हौँ । धनकुटाको साप्तिङटार, भैँसे, लेगुवा, कुसेटार, याक्चाना, सदाम र सिम्सुवा लगायतका स्थानमा माझी जातिको बसोबास छ ।
खोला तथा नदी किनारमा बसोबास गर्ने माझी समुदायले फागुन महिनाको तेस्रो मंगलबार परम्परागत लदी पूजा मनाउने गरेका छन् । यसको मुख्य उद्देश्य भनेको युवा पुस्तालाई आफ्नो संस्कृतिबारे जानकारी गराउनु रहेको माझी समुदायको अगुवा देवी माझीको भनाइ छ । माझी समुदायले लदी पूजा मनाउन थालेपछि धनकुटास्थित पालिकाले पनि चासो दिन थालेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनुभयो ।
पछिल्लो समय माझी जातिले मनाउने लदी पूजा लोप हुँदैगएको सो समुदायका प्रतिनिधिको भनाइ छ । संस्कृति लोप हुनबाट बचाउन युवा पुस्ता लाग्न जरुरी रहेको संस्कृतिका जानकारहरूको सुझाव छ ।