• १९ वैशाख २०८१, बुधबार

बैङ्कहरू बलिया छन् : गभर्नर

blog

काठमाडौँ, फागुन १५ गते । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नियामक निकायका रूपमा राष्ट्र बैङ्कले सही तरिकाले काम गरिरहेकाले बैङ्कहरूलाई ढल्ने अवस्था आउन नदिने बताउनुभएको छ ।

नेपाल बैङ्कर्स सङ्घले सोमबार आयोजना गरेको ‘बैङ्किङ क्षेत्रको समसामयिक विषय र आगामी बाटो’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले नेपाली बैङ्क डुब्ने अवस्था रहेको छैन, यो क्षेत्र सहज अवस्थामा रहेको र सही तरिकाले काम गरिरहेको बैङ्कलाई ढल्न नदिने तथा सर्वसाधारणको निक्षेप पनि डुब्न नदिने बताउनुभएको छ । 

पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाप्रति फैलाइएको भ्रमको पछि नलाग्न आग्रह गर्दै उहाँले भन्नुभयो, “बैङ्कहरूलाई बुझ्ने समाज भएन । खराब कर्जा बढे पनि आत्तिनुपर्ने अवस्था छैन । बैङ्कहरू डुब्ने अवस्थामा छैनन्, राष्ट्र बैङ्कले हेरिरहेको छ ।” सानो झिल्कोले पनि विस्फोट हुन सक्ने भन्दै बैङ्कङ क्षेत्रको विषयमा भ्रम फैलाउन नहुने र जोगाउने प्रयासतर्फ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बैङ्कहरूको आधिकारिक तथ्याङ्कलाई हेरेर विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याउँदै गभर्नर अधिकारीले बैङ्कहरू डुबे भने अर्थतन्त्र पनि सङ्कटमा जाने बताउनुभयो । बैङ्कहरूले क्षमताभन्दा बढी ऋण लगानी गर्दा समस्या आएकोतर्फ ध्यानाकर्षण गराउँदै उहाँले ऋणीहरूले आफ्नो घाँटी हेरेर ऋण लिएको भए र बैङ्कहरूले पनि ऋण दिने बेलामा सोचेको भए अहिलेको अवस्था आउने थिएन भनी धारणा राख्नुभयो । 

सहकारी र अनौपचारिक अर्थतन्त्रले समस्या

सहकारीमा हुने कारोबारबाट नै बैङ्कहरू चल्ने भएकाले सहकारी समस्यामा परेका कारण त्यसको असर बैङ्कमा पनि देखिएको बताउँदै उहाँले भन्नुभयो, “साना व्यवसायीले सहकारीबाट नै कारोबार गरेका छन् । उक्त रकम फाइनान्स हुँदै बैङ्कमा आउने हो । सहकारी समस्यामा परेको कारण ऋणीहरू चल्न सकेका छैनन् ।”

राष्ट्र बैङ्कले पुराना र अव्यावहारिक व्यवस्थामा सुधार गरेको र त्यो क्रममा केही पीडा हुनु स्वाभाविक रहेको भन्दै यथार्थ चित्र बाहिर आउनुलाई अन्यथा मान्न नहुने उहाँले बताउनुभयो । यो वर्ष खराब कर्जा बढेको भन्दा पनि बैङ्किङ क्षेत्रको वास्तविकता बाहिर आएको भन्दै उहाँले नेट एनपिए १.४० प्रतिशत हाराहारी रहेको उहाँले बताउनुभयो । 

नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष सुनील केसीले पछिल्लो समय बैङ्क तथा वित्त कम्पनीमाथि चौतर्फी प्रहार भइरहेको अवस्थामा सबैको साथ र सहयोग चाहिएको बताउनुभयो । लघुवित्तको ऋण तिर्नु पर्दैन भन्ने भ्रम छरिनु, बैङ्कहरू डुब्न लागे भन्ने भ्रम र हल्ला फैलाइएकोतर्फ ध्यानाकर्षण गराउँदै उहाँले भन्नुभयो, “खुद तरल सम्पत्ति २९ प्रतिशत छ । पछिल्लो चार वर्षदेखि लगातार रिटर्न अन इक्विटी घटेर पछिल्लो त्रैमासमा १० प्रतिशतभन्दा तल करिब नौ प्रतिशत छ ।”