• १३ मंसिर २०८१, बिहिबार

भाषा, धर्म र संस्कृतिको संरक्षण गर्न सङ्ग्रहालय

blog

सुनसरीको मधुवन शुक्रवारेमा रहेको माझी राष्ट्रिय सङ्ग्रहालय ।

बाबुराम कार्की

वराहक्षेत्र, फागुन १३ गते । भाषा, धर्म र संस्कृतिको संरक्षण गर्न सङ्ग्रहालय निर्माण गरिएको छ । माझी समुदायको मौलिक पेशा, रीतिरिवाज, भाषा, धर्म र संस्कृतिको संरक्षण गर्न मुलुकमै पहिलो पटक सुनसरीको मधुवन शुक्रवारेमा नेपाल माझी राष्ट्रिय सङ्ग्रहालय निर्माण गरिएको हो । 

देशभर छरिएर रहेका माझीहरुले सुनसरीको वराहक्षेत्र नगरपालिका ११ मा रहेको सङ्ग्रहालयमा जन्मदेखि मृत्युसम्मको आफ्नो संस्कारमा प्रयोग गरिने भाषा संस्कार, रीतिरिवाज चालचलन भेषभूषा र पहिचानका बहुमूल्य सामग्रीको खोजी गरी सबै सामानहरु राखिने माझी उत्थान सङ्घका केन्द्रीय अध्यक्ष चिनीमाया माझीले जानकारी दिनुभयो ।

सङ्ग्रहालयमा पुरातात्विक बहुमूल्य सामग्री सङ्ग्रहित गर्नदेखि निर्मित सङ्ग्रहालय भवनमा माझी जातिको पुर्ख्यौली प्रमुख पेशाका रुपमा रहेको डुङ्गा, माछा मार्ने जाल, ढोक्सा,लगायतका आफ्नो परम्परा अनुसारका सबै सामानहरु सङ्कलन गरेर सङ्ग्रहालयमा राखिने माझी उत्थान सङ्घका महासचिव बबिन्द्रलाल माझीले जानकारी दिनुभयो । 

दश कठ्ठा क्षेत्रफलमा सङ्ग्रहालय, सामुदायिक भवन र सभाहलको छुट्टाछुट्टै भवन निर्माण गरिएको नेपाल माझी उत्थान सङ्घ सुनसरीका अध्यक्ष घनश्याम माझीले बताउनुभयो। सीमान्तकृत माझी समुदायको पेशा र संस्कृति संरक्षण गर्न पुरातत्व विभाग, कोशी प्रदेश सरकार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सानेपा र वराहक्षेत्र नगरपालिकाको आर्थीक अनुदान सहयोगमा सङ्ग्रहालय, सामुदायिक भवन र सभाहलको निर्माण गरिएको हो । 

पछिल्लो पुस्ताले आफनो संस्कृति, परम्परा र पेसा भुल्दै गएकाले यसको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरेर संरक्षण गर्न लागिपरेको नेपाल माझी उत्थान सङ्घले जनाएको छ । नेपालभरिका माझीहरु समेटिएर २०५१ सालमा नेपाल माझी उत्थान सङ्घ गठन गरिएको थियो । गठित सङ्घले नेपालभरिका माझी समुदायहरुको हक अधिकार र समुदायको उत्थानका लागि काम गर्दै आएको केन्द्रीय अध्यक्ष चिनिमाया माझीले बताउनुभयो । उहाँका अनुसार परापूर्वकालदेखि नेपालमा बसोबास गर्दै आएका माझी जातिहरुको छुट्टै रीतिरिवाज, भाषा, धर्म संस्कृती छ । 

राष्ट्रिय जनगणाना २०७८ अनुसार माझी समुदायको जनसङ्ख्या एक लाख ११ हजार तीन सय ५२ रहेको तथ्याङ्क छ । सुनसरी अध्यक्ष घनश्याम माझीका अनुसार ६३ जिल्लाका तिन सय ४३ स्थानीय तहमा माझी समुदायको बसोबास छ । सबैभन्दा बढी सिन्धुली जिल्लामा माझी समुदायको सघन बस्ती र जनसङ्ख्या छ । सिन्धुलीमा दश हजार ८ सय ७३ जना छन् । 

परम्परागत कृषि पेशामा आधारित रहेको समुदायले जीविकोपार्जनको वैकल्पिक स्राेतको रुपमा माछा मार्ने र कोशी तथा अन्य खोलानालामा डुङ्गा चलाउँदै आएका थिए । माझी समुदायको मौलिक कला संस्कृति नै लोप हुने गरी देखिएको आधुनिकताले माझी समुदायको पहिचान जोगाउँदै नयाँ पुस्ताले जानकारी लिन र बुझ्न सकुन् भनेरै सङ्ग्रहालय निर्माण गरिएको केन्द्रीय पूर्व महासचिव पदमबहादुर माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ पुस्ताहरुलाई आफ्नो संस्कृति, भेषभूषा हस्तान्तरण गर्ने थलोको रुपमा सङ्ग्रहालय रहनेछ ।” 

सङ्ग्रहालयमा माझी जातिले प्रयोग गर्ने लत्ताकपडा, भाँडा, बाजागाजालगायतका सामग्री सङ्ग्रहित हुनेछन् । सङ्ग्रहालय सञ्चालनमा आएपछि आन्तरिक र बाह्य पर्यटकहरु आउने अनुमान माझी सङ्घले गरेको छ । आन्तरिक पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने बताइएको छ । पछिल्लो समय अन्य समुदायका संस्कृति रहनसहन र भेषभूषा पर्यटकको आकर्षण बन्दै आएको बेला माझी समुदायले पनि आफ्नो भेषभुसा, संस्कृति र पहिचान झल्कने खालका सामान सङ्ग्रहालयमा राखेका छन् ।

भवन र हलहरु निर्माण भइसके पनि बजेट अभावले गर्दा सङ्ग्रहालयलाई पूर्णता दिन सकिएको छैन । सङ्ग्रहालयमा राखिने सामान बजेट नभएकैले सङ्ग्रहित गर्न नसकिएको महासचिव बविन्द्रलाल माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्ग्रहालय परिसर क्षेत्रमा पोखरी निर्माण गर्ने काम पनि  रकम नहुँदा अगाडि बढ्न सकेको छैन ।”