• २ वैशाख २०८१, आइतबार

रोसी सभ्यता र संस्कृति

blog

ललितपुर जिल्लामा फूलचोकी अवस्थित छिन् । फूलचोकीको दायाँबाट लीलावती, बायाँबाट गोदावरी बग्छिन् । लीलावती भूमिडाँडा र्‍यालेबाट उद्गमित छिन् । खोपासीका विद्वान् विश्वनाथ उलकले लीलावतीको सन्दर्भसँग जोडिएको एउटा चर्चित किंवदन्ती व्यक्त गर्नुभएको छ । उहाँका अनुसार नेपालको पौराणिक कालखण्डमा फूलचोकी माईसमक्ष पनौती र पाटनका राजाहरू पानी माग्न गएछन् । फूलचोकी देवीले आफूलाई राम्रा राम्रा सुन चाँदीका गरगहना दिनेलाई खोलाको पानी छोडिदिने प्रस्ताव राख्नु भयो । त्यो प्रस्ताव सम्झिँदै पनौतीका राजा सुनको गहना बनाउने समयमा घोत्लिएछन् । त्यस्तो अवस्थामा राजालाई उनका भारदारहरूले सुनको सट्टा तोरीको फूल, पहेँलो फूलको माला र चाँदीको सट्टा मुलाको माला बनाएर देवीको घाँटीमा लगाइदियो भने देवी खुसी हुन्छिन् भन्ने सल्लाह दिएछन् । राजाले फूलचोकी माईको घाँटीमा सोही अनुसार माला लगाइदिएपछि देवी खुसी भएर खोला छोडिछन् । उनै खोला लीलावती हुन् । लीलावती एक पौराणिक नाम हो । लीलावती नै रोसी हुन् । 

कोशीमा मिल्ने हेतु रोसी पूर्वतर्फ लामो गन्तव्य तय गर्न काभ्रेपलाञ्चोक जिल्लाको पावन नगरी पनौतीको त्रिवेणीघाट पुग्छिन् । त्रिवेणीघाट एक धार्मिक ऐतिहासिक धाम हो । त्यो घाट रोसमती (रोसी), पुण्यमती, गुप्तमती जस्ता नदीहरू मिलेको त्रिवेणीधाम हो । यहाँ १२ वर्षमा एक पटक बाह्रवर्षे मेला लाग्छ । त्रिवेणीधामका यी नदीहरू त्रिवेणीघाटमा एकाकार भई रोसीको नामबाट खोपासीतर्फ बग्छिन् । खोपासी एक त्यो नगरी हो, जहाँ नेपाली राजकुमारी तिब्बतकी महारानी भृकुटीको जन्म स्थान हो । यस सन्दर्भमा यहाँ एउटा ऐतिहासिक पदचापको स्मरण गर्नुपर्ने हुन्छ । राजा उदयदेव, रानी धर्मावतीको गर्भबाट सन् ६३३ ताका जन्मिनुभएकी राजकुमारी भृकुटीको बाल्यकालको एउटा प्रसङ्ग मननीय छ । भृकुटी आफ्नी बालसङ्गिनीसँग खेल्न आफ्नो दरबारबाट रोसीको किनारतर्फ जाने गर्नुहुन्थ्यो । 

भृकुटीले आफ्ना साथीसङ्गीले नदेख्ने गरी रोसीको किनारमा रहेको एउटा ठुलो ढुङ्गोमा उत्तरतिर फर्किएर शिर निहुराएर ढोग्ने गर्नुहुन्थ्यो । त्यो दृश्य एक दिन अचानक भृकुटीकी मिल्ने बालसङ्गिनी दिव्यवतीले देख्नु भएछ । दिव्यवतीले त्यो विषयमा भृकुटीसँग जिज्ञासा राख्दै सोधनी हुँदा भृकुटी गम्भीर मुद्रामा उत्तरको देश पनि हाम्रै वशमा आओस् भनेर वरदान मागेको बताउनुभयो । भृकुटीले त्यहाँ नजिकै रहेको धारामा स्नान गर्नुहुन्थ्यो । आज पनि खोपासीमा द्रौपदी, भृकुटी जस्ता महान् नारीहरूले नुहाउने गर्नुभएको धारालाई ऐतिहासिक भृकुटी धाराको नामले चिनिएका तथ्यहरू यहाँको जनमानसमा व्याप्त छ । यहाँनिर एउटा मननीय पक्ष के छ भने उनै भृकुटीको विवाह उत्तरको देश तिब्बतका शक्तिशाली राजा स्रङचङ गम्पोसँग भयो । भृकुटी तिब्बतकी शक्तिशाली महारानी हुनुभयो । भृकुटीले कुनै समय आफ्नी सङ्गिनीलाई भन्नु भए जस्तै तिब्बत नेपाली राजकुमारी भृकुटीको प्रभावमा थियो । विदुषी नारी भृकुटीको विवाह भएदेखि तिब्बतको इतिहासमा सातौँ शताब्दी अविस्मरणीय छाप बनेर रहेको छ । त्यो समयदेखि तिब्बतमा नेपाली राजकुमारी भृकुटीको प्रभाव र प्रेरणाले राजनीतिक, प्रशासनिक, धार्मिक, सांस्कृतिक, कूटनीतिक कार्यको विकासमा कोशेढुङ्गा साबित भयो । भृकुटीको बुद्धि, विवेक, दूरदर्शिताको मात्रा उच्च कोटीको मानिन्छ । उहाँ सौम्य, सुशील र सहनशील नारी हुनु हुन्थ्यो । राजा स्रङचङ गम्पोले आफ्नी महारानी भृकुटीको राय सल्लाह लिएर तिब्बतमा प्रायः अधिकांश राजकीय निर्णय लिने गर्नुहुन्थ्यो । ल्हासाको ऐतिहासिक नगर विकास योजना, जोखाङ गुम्बा निर्माणलगायतका विकास निर्माण कार्यको योजनाकार, सल्लाहकार भृकुटी नै हुनुहुन्थ्यो । यसरी रोसीसँग जोडिनु भएकी भृकुटीको सम्बन्ध तिब्बत (ल्हासा) सँग अन्तर्निहित छ । यसले नेपाल–चीन (तिब्बत) सम्बन्धको ऐतिहासिक जगलाई बलियो बनाएको छ । एसियाली सभ्यतालाई उँचो उठाएको छ । 

 रोसी भृकुटी नगरी खोपासी हुँदै नेपालथोकमा पुगेर सुनकोशीमा मिल्छिन् । सुनकोशी सप्तकोशीको सहायक नदी हुन् । यहाँ जनजनको मनमा एउटा प्रश्न उठ्न सक्छ : बागमती प्रदेशको ललितपुर जिल्लामा उत्पत्ति भएकी रोसी दूरीको हिसाबले कोशीको तुलनामा नजिकैका बागमती, गण्डकीतर्फ किन नमोडिएकी होलिन् ? बागमती प्रदेशबाट यति लामो दूरी तय गर्दै पूर्व कोशी प्रदेशमा कसरी गईन् ? तिब्बतको खासा हुँदै सिन्धुपाल्चोक जिल्लाभित्र बगेर आएको भोटेकोशी र तिब्बतको कुती क्षेत्र समीपको सिमाना हुँदै नेपालबाट बगेर आएकी सुनकोशी किन सप्तकोशीकै सहायक नदी हुन राजी भईन् ? अनि मध्य–उत्तर नेपालमा अवस्थित लाङटाङ हिमालय क्षेत्रबाट उद्गमित इन्द्रावती पनि सप्तकोशीमै मिल्ने हेतु सुनकोशीसँगै पूर्वतिर हाँकिनुको रहस्य के होला ? यी प्रश्नहरूको उत्तर नदीविद्, विशेषज्ञहरूको शब्दकोशमा अवश्य हुनु पर्छ तर यस्तो नदी संस्कृति र प्रणालीले यो प्रमाणित गर्छ कि राजनीतिक भूगोलमध्ये नेपाल र पूर्वी नेपालको संज्ञा दिइए पनि जल पकड क्षेत्रगत शक्ति, संरचना, स्वरूपले बागमती र कोशीको जलाधार केन्द्रका धेरै आधार मिल्छन् । अर्थात् राजनीतिक–प्रशासनिक मनले बागमती, कोशीलाई छुट्याए पनि नदी संस्कृतिले बागमती र कोशीलाई छुट्याएको पाइँदैन । यसरी कोशी नदीका प्रायः अधिकांश ठुला सहायक नदीहरू बागमती प्रदेशको उच्च हिमाली तथा पहाडी भेग, कोशी प्रदेशको उच्च हिमाली भेग तथा तिब्बतबाट उत्पत्ति भएको पाइन्छ । अतः रोसी, पुण्यमती, इन्द्रावती, भोटेकोशी, सुनकोशी, अरुणलगायतका सहायक नदीहरू धार्मिक–सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण मानिन्छन् । तामाकोशी, लिखु, दुधकोशी, तमोरलगायतका नदीहरू पनि उच्च पहाडी तथा हिमाली भेगबाट नै उत्पत्ति भएर सप्तकोशीमा मिसिएका छन् । यसरी नदी सभ्यता, संस्कार र संस्कृतिले मध्य तथा पूर्वी नेपालको अस्तित्व उँचो उठाएको देखिन्छ । जलपकड क्षेत्रको प्रारूपमा निर्मित पुरानो प्रशासनिक संरचनाले पनि आफ्नै किसिमको पहिचान दिएको थियो । अतः बागमती प्रदेशबाट बगेर कोशी प्रदेशमा गएका नदीहरूको प्रारूपकै आधारमा काठमाडाैँ–भक्तपुरबाट समीपमा रहेको जिल्ला काभ्रेलाई पूर्व मानिँदै आएको छ । तद्अनुसार पूर्व १ नं. काभ्रे, २ नं. रामेछाप, ३ नं. ओखलढुङ्गा, ४ नं. भोजपुर र भोजपुरले ताप्लेजुङसम्म हेथ्र्यो । 

सप्तकोशीको अर्को रोचक प्रसङ्ग पनि छ । अरुण नदी नेपालको लाङटाङ प्रस्रवण क्षेत्रको उत्तर पारिपट्टि रहेको चीनको तिब्बतमा अवस्थित सिसापाङ्मा हिमवत् क्षेत्र समीप रहेको फुच्चोबाट उत्पत्ति भएको छ । यसरी अरुण नदी पनि मध्य–नेपाल र समीपको मध्य–तिब्बत क्षेत्रबाट उत्पत्ति भई पूर्व बग्दै सप्तकोशी नदीमा गएर मिलेको छ । तमोर नदी भने ताप्लेजुङ जिल्लाकै कञ्चनजङ्घा प्रस्रवण क्षेत्र समीपको जनक हिमालबाट उद्गमित भएर सप्तकोशीमा मिसिएको छ । जनक हिमाल पनि उत्तरी अन्तर्देशीय सीमा क्षेत्र चीन (तिब्बत) समीपमा पर्छ । अन्ततः बागमती (ललितपुर)की रोसी भृकुटी नगरी खोपासी हुँदै सुनकोशीमा मिसिएर कोशीमा पुग्छिन् । यो मेलले बागमती, कोशी सम्बन्धको जग मजबुत बनाएको छ ।   

Author

कविता सुब्बा