• १२ साउन २०८१, शनिबार

सिमकोटमा १५ घण्टा लोडसेडिङ

blog

हिल्दुम विद्युत वितरण केन्द्रको पावर हाउस ।

राजन रावत

हुम्ला, फागुन ११ गते । हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङ समय बढाएपछि सेवा प्रदायक निकायबाट सेवाग्राहीले काम लिन कठिन भएको छ । पावर हाउसका लागि आवश्यक पर्ने पानीको स्राेत कम भएको हुँदा दैनिक लोडसेडिङ समय बढाइएको केन्द्रले जनाएको हो । 

वडा कार्यालयबाट पाँच दिनदेखि जन्म दर्ता गर्ने कार्य नभएको बताउदै सिमकोट गाउँपालिका– ५ कमला रावतले कर्मचारी बत्ती नभएको कारण प्रिन्ट गर्न नसकिएको जवाफ दिने गरेको बताउनुभयो । उहाँले छोरीको भर्ना गर्ने कामका लागि समेत विद्युत् आपूर्ति नभएको कारण समस्या भोगिरहेको बताउनुभयो । सोलारको व्यवस्था भएका कार्यालय बाहेक अन्य सबै कार्यालयले प्रदान गर्ने सेवा प्रभावित भएका छन् ।

नन्द मोबाइल सेन्टरकी सुनमति सिंहले केन्द्रले लोडसेडिङको समय बढाएको कारण सबै काम बन्द गरिएको बताउनुभयो । उहाँले आफ्नो पसलका लागि आवश्यक पर्ने अधिकांश समयमा लोडसेडिङ हुने भएको कारण मोबाइल बिक्री बाहेक अन्य काम बन्द भएको बताउनुभयो । सिमकोट बजारका व्यवसायी सरोज रावतले केन्द्रले लोडसेडिङ समय बढाएपछि उपभोक्ता मारमा परेको बताउनुभयो । उहाँले यसले विद्युतीय सामग्रीको कारोबार समेत घटेको बताउँदै बत्ती बाल्न समस्या भएको बताउनुभयो ।

वितरण केन्द्रका निमित्त प्रमुख शङ्करप्रसाद हमालले पानीको स्राेत कमी भएको कारण विद्युत् उत्पादन कम भएपछि लोडसेडिङ तालिका बढाएर दैनिक पन्द्र घण्टासम्म पुग्ने गरेको बताउनुभयो । दुई वटा सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको केन्द्रले हाल दैनिक १३ देखि १५ घण्टा लोडसेडिङ गर्नुपरेको छ । केही दिन अगाडिसम्म दैनिक चारबाट बढाएर आठ घण्टा दैनिक लोडसेडिङ समय तालिका पुर्‍याइएको थियो । 

पावर हाउसलाई आवश्यक पानीको स्राेत कम भएको कारण यो समस्या आएको हो । घाम लागेमा केही बढी विद्युत् उत्पादन हुने गरेको भएपनि बादल लाग्दा भने ९० किलोवाट विद्युत उत्पादन हुने गरेको छ । पाँच सय किलोवाट विद्युत उत्पादन क्षेमता भएको पावर हाउसले हाल सामान्य र पिक हावरमा एक सयदेखि एक बीस किलोवाटसम्म विद्युत् उत्पादन हुने गरेको छ । जब कि हाल सिमकोटमा एक मेगावाटभन्दा बढी विद्युतको माग छ । 

लोडसेडिङ बढेपछि फर्निचर उद्योग बन्द भएका छन् भने सेवाग्राहीले इलोक्ट्रोनिक्सका सामान प्रयोग गर्न छोडेका छन् । बिहान र बेलुकाको समयमा विद्युत् आपूर्ति नहुने भएकाले सेवाग्राहीकाे दाउराकाे खपत बढेको छ । यसबाट तीन हजारभन्दा बढी सेवाग्राही समस्यामा परेका छन् ।