• १२ साउन २०८१, शनिबार

कृषकलाई गुणस्तरीय बिरुवा उत्पादनसम्बन्धी तालिम

blog

रमेश विश्वकर्मा 

गुल्मी, फागुन ११ गते । गुल्मीमा नर्सरी उत्पादन कृषकहरुलाई गुणस्तर बिरुवा उत्पादनसम्बन्धी तालिम प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइको आयोजनामा १२ वटै स्थानीय तहका विभिन्न ठाउँका सुन्तला जात फलफूल नर्सरीमा आबद्ध २१ जना कृषकहरुलाई जिल्लामा बिरुवाको गुणस्तर बढाउनका लागि तालिम प्रदान गरिएको हो। 

परियोजना कार्यान्वयन एकाइका प्रमुख गङ्गाकुमारी पोखरेलले तीन दिनसम्म तम्घासमा सञ्चालन भएको जिल्लास्तरीय सुन्तला जातको फलफूलको कलमीसम्बन्धी तालिममा नर्सरी उत्पादन गर्ने कृषकलाई जिल्लामा गुणस्तरीय बिरुवाको अभाव हुन नदिने उद्देश्यसहित तालिम प्रदान गरिएको बताउनुभयो । यस तालिमले सीप विकासमा टेवा पुर्‍याउने भन्दै नर्सरी तथा कलमी बिरुवा उत्पादन गरेका कृषकहरुलाई कलमी, कलमी बिरुवाको हेरचाह, जालिघरभित्र बिरुवा उत्पादन र सुन्तलासम्बन्धी विभिन्न ज्ञान प्रदान गरिएको छ । सुन्तला खेतिमा आबद्ध कृषलाई सुन्तला विभिन्न जात, सुन्तला उत्पादन गरेपछि हुने फाइदा, कलमी र बिजु बिरुवाबीच फरकलगायतका कुरा जानकारी गराइएको उहाँले बताउनुभयो ।

त्यस अवसरमा छत्रकोट गाउँपालिका–३, लुम्छाका सहभागी कृषक कृष्णप्रसाद पन्तले विगतदेखि नै आफ्नो फार्ममा कलमी प्रक्रियाबाट बिरुवा उत्पादन गरेको भन्दै यस तालिमले अझ बढी सहयोग गरेको बताउनुभयो । पछिल्लो समय सबैले बिजु बिरुवाभन्दा कलमी बिरुवालाई बढी प्राथमिकता दिने गरेको भन्दै कलमी बिरुवामा छिटो उत्पादन, थोरै क्षेत्रफलमा धेरै बिरुवा लगाउन सकिने र यसमा रोग पनि कम लाग्ने जानकारी पाएको बताउनुभयो । अम्लिए जातमा जरा कुहिने रोग लाग्ने भएको हुँदा ड्राइफुलेट र तिनपाते बिरुवामा कलमी गर्ने तालिमले ठूलो सहयोग पुर्‍याएकाे भन्दै उहाँले कलमी प्रविधिलाई निरन्तर दिने बताउनुभयो ।

धुर्कोट गाउँपालिका–१, नयाँ गाउँका निवर्तमान वडाअध्यक्ष एवम् कृषक कमल थापाले सुन्तलाको आयु बढाउनका लागि यो तालिमले निकै सहयोग पुर्‍याएको बताउनुभयो । राम्रो अभ्याससहित भएको यस तालिमले सुन्तला खेती गर्नको लागि प्रविधिलाई अगाडि बढाउन सहयोग पुगेको उहाँले बताउनुभयो । तालिममा सिकेका कुराहरु आफ्नो टोलमा विस्तार गरेमा जिल्लामा सुन्तला खेतीमा विगतभन्दा अझ बढी सुधार हुने बताउनुभयो ।

त्यस्तै, जिल्ला समन्वय समितिका सदस्य एवम् कृषक वीरबहादुर कार्कीले तालिमबाट बिजु बिरुवा नर्सरीलाई कलमी बिरुवामा लैजानका लागि कलमी नर्सरी र बगैंचा व्यवस्थापनसम्बन्धी सिकेको बताउनुभयो । कृषका लागि निकै फलदायी बन्ने यो तालिममा विषादी र फलफूल बगैंचा सुधारसम्बन्धी कुराहरु सिकेको भन्दै उहाँले आफूले हालसम्म बिजुबाटा बिरुवा उत्पादन गर्दै आएको बताउनुभयो । सुन्तला र कागती एउटै माटोमा उत्पादन गर्न नहुने भन्दै माटोलाई एक-दुई वर्षमा परिवर्तन गर्नेसँगै बिजु बिरुवालाई राज्यले समेत निकट भविष्यमा निरुत्साहित गर्ने कुराको जानकारी पाएको बताउनुभयो । आगामी दिनमा आफूले कलमी बिरुवा उत्पादन गर्ने सोच बनाएको उहाँको भनाइ छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गुल्मी जिल्लामा सुन्तलाको क्षेत्र विस्तार, चक्लाबन्दी, सुन्तलासम्बन्धी विभिन्न तालिम, कृषकलाई चाहिने मेसिनरी सहयोगका कार्यहरु गर्दै आएको छ । सुन्तलाको व्यवसायिक खेतीका लागि २०० जति फार्म, समूह र सहकारी यस कार्यालयमा सुचिकृत भएका छन् । यस जिल्लामा कुल एक हजार २७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनयोग्य जग्गा छ । जसमा यसवर्ष ६२३ हेक्टर क्षेत्रफलमा छ हजार ५७२ दशमलव चार मेट्रिकटन सुन्तला उत्पादन भएको छ । २३ करोड रुपियाँको सुन्तला उत्पादन भएकोमा १२ करोड ८४ लाख रुपियाँको सुन्तला जिल्लाभन्दा बाहिर निर्यात भएको बताइएको छ ।