अमरराज नहर्की
तनहुँ, कात्तिक ४ गते । तनहुँको भिमाद नगरपालिका–९ का किसानले व्यावसायिक रूपमा डल्ले (अकबरे) खुर्सानीखेती गरेर मनग्य आम्दानी लिन सफल भएका छन् । स्थानीय किसानहरू अहिले “खुर्सानीले जीवन गुलियो बनाएको” भन्दै उत्साहित छन्।
गण्डकी प्रदेश सरकारको सहयोगमा सञ्चालन गरिएको भानुमति जलवायु मैत्री मुख्यमन्त्री नमुना कार्यक्रम अन्तर्गत ३५ जना किसानले सामूहिक रूपमा खुर्सानीखेती थालेका हुन् । सो कार्यक्रममार्फत ५० हजारभन्दा बढी बिरुवा वितरण गरेर खेती सुरु गरिएको भानुमति मुख्यमन्त्री जलवायु मैत्री नमुना कृषक समूहका अध्यक्ष डोलराज गुरुङले जानकारी दिनुभयो । पोखरा र काठमाडौँका व्यापारीलाई प्रतिकिलो २५०–३०० मा बिक्री भइरहेको उहाँको भनाइ छ । “२०७६ सालदेखि प्रयास गर्यौं, अहिले सामूहिक प्रयासले सफलता हात लागेको छ,” गुरुङले भन्नुभयो।
समूहका सदस्य तथा पूर्व वडाध्यक्ष इमान थापाका अनुसार खुर्सानीखेतीबाट किासनले मनग्य आम्दानी गरिरहेका छन् । उहाँका अनुसार यस वर्ष ५० लाख रुपियाँभन्दा बढी बिक्री भइसकेको छ भने ७५ लाखसम्म आम्दानी हुने अनुमान गरिएको छ । थापाले भन्नुभयो, “अकबरे खुर्सानी पिरो भए पनि आम्दानीले किसानको जीवन गुलियो बनाएको छ ।” कृषकहरूले यस वर्ष वार्षिक २ लाख ५० हजार केजी खुर्सानी उत्पादन गर्ने लक्ष्य राखेका छन् । उत्पादन भएको खुर्सानी पोखरा, भिमाद र खैरेनीटारका बजारमा बिक्री भइरहेको छ ।
भिमाद नगरपालिका–९ का किसानलाई थप प्रोत्साहनका लागि १ लाख रुपियाँ अनुदान उपलब्ध गराइसकेको छ । साथै, नगरपालिका स्तरबाट यो खेतीलाई स्थायी आम्दानीको मोडल कार्यक्रमका रूपमा विस्तार गर्ने तयारी भइरहेको छ ।
भिमाद नगरपालिकाका कृषि शाखा प्रमुख कृष्णप्रसाद भण्डारीका अनुसार, “डल्ले खुर्सानी खेतीले यहाँका किसानमा आत्मनिर्भरता र आधुनिक कृषि प्रविधिप्रतिको विश्वास बढाएको छ । अब नगरपालिकाले यसको बजार व्यवस्थापन र प्रशोधनमा सहयोग पुर्याउने योजना बनाएको छ,” उहाँले भन्नुभयो ।