• ८ मंसिर २०८१, शनिबार

संसार हाँक्ने युवा

blog

फ्रान्समा दोस्रो पटक राष्ट्रपति चुनिएका इम्यानुयल म्याक्रोले गत जनवरी ९ मा ३४ वर्ष १० महिना उमेरका ग्याब्रियल अत्तललाई प्रधानमन्त्री नियुक्त गरेका छन् । यो निर्णयलाई राजनीतिक वृत्तमा म्याक्रोले आफ्नो गुमाउँदै गरेको साख पुनः हासिल गर्ने प्रयासका रूपमा व्याख्या गरिँदै छ ।

आधुनिक युगको फ्रान्सका राष्ट्रपतिले संवैधानिक सुविधा अनुसार आवश्यक पर्दा आफ्ना प्रधानमन्त्री फेरबदल गर्न सक्छन् । प्रधानमन्त्री बोर्नले एक वर्ष २३८ दिनमा राजीनामा दिएपछि राष्ट्रपतिले अत्तललाई प्रधानमन्त्रीमा नियुक्त गरे । उनले सुरुमा इडोवार्ड फिलिपेलाई प्रधानमन्त्री बनाएका थिए । उनलाई तीन वर्ष ४९ दिनपछि हटाएर जिन कास्टेक्सलाई एक वर्ष ३१७ दिन राखेर एलिजाबेथलाई मनोनीत गरेका थिए ।

फ्रान्सको आधुनिक इतिहासमा यसभन्दा अगाडि ३७ वर्षका लोरेन्ट फाबियसलाई राष्ट्रपति फ्रान्सिस मितेरान्डले सन्  १९८४ जुलाई १७ देखि सन् १९८६ मार्च २० सम्म प्रधानमन्त्री नियुक्त गरेका थिए । सन् २०१७ मा  पहिलो पटक राष्ट्रपति निर्वाचित हुँदा म्याक्रो पनि ३९ वर्षका मात्र थिए । उनले आफ्नो गुरुआमासँग विवाह गरेको विषयमा विवाद उत्पन्न भयो ।

पहिलो श्रीमान्सँग पारपाचुके गरेकी ब्रिगित्तेले ला प्रोभिडेन्स हाइस्कुलमा अध्यापन गर्दा १५ वर्षीय म्याक्रोसँग उनको भेट भएको थियो । त्यही कक्षामा उनकी छोरी लरेन्स पनि म्याक्रोको सहपाठी थिइन् । ब्रिगित्ते र म्याक्रोबीच सन् २००६ अक्टोबरमा विवाह भएको थियो । उनीहरूबीच २५ वर्ष उमेर फरक छ ।

अत्तलले सन् २०१७ जुनमा राष्ट्रपति म्याक्रोको पुनर्जागरण पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि द्रुत गतिमा राजनीतिक फड्को मार्न थालेका हुन् । सन् २०१८ मा उनी राष्ट्रिय शिक्षा र युवा सहायकमन्त्री बनेका थिए भने सन् २०२० मै सरकारको प्रवक्ता बन्न सफल भए ।

सन् २०२२ मा सार्वजनिक कार्य र लेखामन्त्री तथा अर्को वर्ष राष्ट्रिय शिक्षा र युवामन्त्री बनेका थिए उनी । त्यति मात्र हैन फ्रान्सका प्रधानमन्त्री अत्तलले आफूलाई समलिङ्गीसमेत भनेका छन्  । हाल विश्वमा खुला रूपमा ‘एलजीबीटीक्यु’ हुँ भनेर घोषणा गर्ने अत्तलबाहेक नौ जना राज्य वा सरकार प्रमुख छन् ।

प्रधानमन्त्री भएको दुई दिनपछि अत्तलले मन्त्रीमण्डलमा महिला सात र पुरुष आठ गरी जम्मा १५ सदस्य चयन गरे । जसमध्ये सात जनालाई पूर्वजिम्मेवारी दिइएको छ तथा चार जनाको मन्त्रालय हेरफेर गरिएको छ भने चार नयाँ अनुहार छन् । सरकारको प्रवक्तामा ३८ वर्षीय प्रिस्का थेभेनतलाई तोकिएको छ । परराष्ट्र तथा युरोपियनमन्त्रीमा म्याक्रोका सल्लाहार र पुनर्जागरण पार्टीका महासचिव ३८ वर्षीय स्टेफन सेजर्नलाई नियुक्त गरिएको छ । छ जनामन्त्री चालिस वर्षमुनिका छन् भने तीन जना पचास वर्षमुनिका ।

यसैगरी डब्लिनमा जन्मे हुर्केका लियो वराडकर आयरल्यान्डको एसियाली मूलको तथा खुला समलिङ्गी पहिलो प्रधानमन्त्री हुन् । यसअगाडि उनी यातायात, पर्यटन र खेलकुद, स्वास्थ्यमन्त्री तथा सामाजिक सुरक्षामन्त्री थिए ।

उनका बुबा भारतको मुम्बईका हुन् । एक लाइसेन्स प्राप्त मेडिकल डाक्टर वराडकरले आफ्नो मेडिकल इन्टर्नसिपका क्रममा मुम्बईमा केही समय बिताएका थिए । मानव अधिकार अभियानका अनुसार उनी विश्व इतिहासमा सरकार प्रमुख बन्ने चौथो खुला समलिङ्गी हुन् । ४४ वर्षीय वराडकर प्रधानमन्त्री निर्वाचित हुँदा ३८ वर्षका थिए ।

फ्रान्स र स्पेनबीचको पाइरेनिस पहाडी क्षेत्रमा अवस्थित तथा करिब ७७ हजार जनसङ्ख्या रहेको युरोपको छैटौँ सानो स्वतन्त्र राष्ट्र एन्डोरामा सन् २०१९ मा ३९ वर्षीय ज्याभियर एस्पोट जामोरा प्रधानमन्त्री निर्वाचित भए । न्यायाधीशबाट राजनीतिमा प्रवेश गरेका जामोरा त्यसअघि सामाजिक मामिला, न्याय र आन्तरिकमन्त्री थिए । उनले बार्सिलोनाबाट कानुनमा डिग्री प्राप्त गरेका थिए । गत सेप्टेम्बरमा एक रेडियो अन्तर्वार्तामार्फत उनले आफू समलिङ्गी भएको खुलासा गरे ।

यसैगरी कतारका वर्तमान अमिर तमिम बिन हमाद अल थानी सन् २०१३ मा सत्तामा आएका थिए । उनी त्यतिबेला केवल ३३ वर्ष थिए । अमिर बन्नुअघि उनले बेलायतको स्यान्डहस्टर््को रोयल मिलिटरी एकेडेमीबाट स्नातक उत्तीर्ण गरेर कतारको सशस्त्र बलमा प्रवेश गरेका थिए ।

भुटानका राजा जिग्मे खेसर वाङ्चुक आफ्ना पिता जिग्मे सिङ्गे वाङ्चुकले राज्य त्याग गरेपछि सन् २००६ मा २६ वर्षकै उमेरमा राजा बनेका थिए । उनले अमेरिका र बेलायतबाट उच्च शिक्षा हासिल गरेका छन् ।

सन् २०२१ देखि कोसोभोमा ३९ वर्षीय भ्जोसा ओस्मानी राष्ट्रपति रहेकी छन् । उनी अङ्ग्रेजी, टर्केली, स्पेनी, सर्बियाली र अल्बेनियाली भाषा बोल्न सक्छिन् । कोसोभोको युनिभर्सिटी अफ प्रिस्टिनामा कानुन अध्ययन गरेपछि उनीले पिट्सबर्ग स्कुल अफ ल विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधि उपाधि हासिल गरेकी थिइन् ।

सान साल्भाडोरका पूर्वव्यापारी तथा मेयर नाइब बुकेले सन् २०१९ फेब्रुअरीमा एल साल्भाडोरको चुनाव सजिलै जितेर राष्ट्रपतिका रूपमा शपथ लिएका थिए । उनको राष्ट्रिय एकताका लागि महागठबन्धनको जितले एफएमएलएन र एरेना पार्टीको प्रभुत्व समाप्त भएको थियो ।

पहिले ट्विटरमा ५८ लाख ‘फलोअर’ भएका बुके एक उत्साही सामाजिक सञ्जाल प्रयोगकर्ता हुन् । उनले पदभार ग्रहण गरेपछि केही अधिकारीलाई ट्विटमार्फत बर्खास्त गरेका थिए । उनी त्यतिबेला केवल ३८ वर्षका थिए ।

जर्जियामा इराक्ली ग्यारिबास्भिली ३१ वर्षको उमेरमा पहिलो पटक सन् २०१३ देखि २०१५ सम्म प्रधानमन्त्री बनेका थिए । त्यसपछि रक्षामन्त्री बनेका इराक्ली सन् २०२१ मा पुनः प्रधानमन्त्री निर्वाचित भएका छन् ।

यसैगरी सेरदार बर्दिमुहामेडो ४१ वर्षको उमेरमा सन् २०२२ मा तुर्कमेनिस्तानको राष्ट्रपति भए । उनले आफ्ना पिता राष्ट्रपति हुँदा सरकारका कतिपय जिम्मेवार पदमा रहेर पिताको सहायकको भूमिका पनि निर्वाह गरेका थिए । उनलाई स्थानीय मिडियाले प्रायः ‘राष्ट्रको छोरा’ भन्ने गरेको छ । तुर्कमेनिस्तानमा इन्टरनेट पहुँच सीमित गर्ने र महिलामाथि विभिन्न प्रतिबन्ध लगाएका कारण बर्दिमुहामेडोको आलोचना हुने गरेको छ ।

सन् २०२२ को सेप्टेम्बरमा तत्कालीन नेता पल–हेनरी दामिबालाई सत्ताच्युत गरेर सेना प्रमुख ३४ वर्षीय इब्राहिम ट्राओरे बुर्किनाफासोको राष्ट्रप्रमुख बने । ट्राओरे भूविज्ञानको विद्यार्थी थिए र पछि उनले जर्जस नमोनाओ मिलिटरी स्कुलमा अध्ययन गरेका थिए ।

यसैक्रमाा लागूपदार्थ तस्करीको समस्या झेलिरहेको इक्वेडरमा हालसालै निर्वाचित राष्ट्रपति ड्यानियल नोओबा केवल ३५ वर्षका छन् । विश्वमा इक्वेडर सर्वाधिक केरा उत्पादक मुलुकका रूपमा परिचित छ ।

नोओबाका धनाढ्य बाबुले पाँच पटक राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिए पनि सफल भएका थिएनन् तर उनका छोरा सांसद बनेको दुई वर्षपछि नै सदन भङ्ग भएर सन् २०२३ मा सम्पन्न निर्वाचनबाट राष्ट्रपति निर्वाचित भए । केही हप्ताअघि उनले देशमा सङ्कटकाल घोषणा गरी तस्करी, हत्याहिंसाको अन्त्य गर्ने वाचा गरेका छन् ।

सन् २०२३ देखि मोन्टेनेग्रोमा प्रधानमन्त्रीको भूमिका निर्वाह गरिरहेका मिलोज्को स्पाजिक पनि ३६ वर्षका छन् । उनले फ्रान्सको एचइसी पेरिसबाट अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थिए । उनले राजनीतिमा प्रवेश गर्नुअघि टोकियो र सिङ्गापुरका बैङ्कमा काम गरेका थिए ।

सान मारिनोको राष्ट्रप्रमुख निर्वाचनको व्यवस्था अलि रोचक छ । प्रत्येक छ महिनामा त्यहाँको व्यवस्थापिका ग्रान्ड एन्ड जनरल काउन्सिल सदस्यहरूबाट दुई जना प्रमुख चयन गरिन्छ । उनीहरूलाई ‘क्याप्टेन रिजेन्ट’ भन्ने गरिएको छ ।

गत अक्टोबरमा निर्वाचित एक ‘क्याप्टेन रिजेन्ट’ गाइतानो ट्रोइनाको उमेर ३६ वर्ष मात्र छ । उनले बोलोग्ना विश्वविद्यालयमा कानुन विषय अध्ययन गरेका छन् ।

चिलीमा पनि सन् २०२२ मार्चदेखि ३५ औँ राष्ट्रपतिका रूपमा ३६ वर्षीय ग्याब्रियल बोरिक सत्तामा छन् । उनी कलेजका दिनबाटै राजनीतिमा सक्रिय थिए । उनले चिलीलाई प्रगतिशील संविधान प्रदान गर्न जनमतसङ्ग्रह गरेका थिए तर जनताले उनलाई साथ दिएनन् ।

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले सन् २०२२ देखि प्रधानमन्त्रीको कार्यभार पनि सम्हाल्दै आएका छन् । राजकुमार सलमान बिन अब्दुलाजिजका छोरा सलमान ३७ वर्षका छन् । यसअघि उनले निजी क्षेत्रमा विशेष गरी कर्पोरेट कम्पनीहरूको नेतृत्व गर्दथे ।

चाडका पूर्वराष्ट्रपति इड्रिस डेबीको सन् २०२१ अप्रिलमा पुनः निर्वाचित भएको केही दिनमै मृत्यु भएपछि उनका ३८ वर्षीय छोरा महामत डेबी त्यहाँको अन्तरिम सरकारको प्रमुख बने । उनले १८ महिनाभित्र निष्पक्ष निर्वाचन गर्ने प्रतिबद्धता जनाएका थिए तर दुई वर्ष भयो निर्वाचन भएको छैन ।

गत जनवरी १ मा डेबीले ४० वर्षीय सुक्सेस मस्रालाई चाडको सङ्क्रमणकालीन प्रधानमन्त्री नियुक्त गरे । द ट्रान्सफर्मर्स पार्टीको अध्यक्षका रूपमा मस्रा लामो समयदेखि विपक्षी दलको नेता थिए ।

मालीमा सन् २०२१ मा भएको सैन्य विद्रोहको नेतृत्व गर्दा असिमी गोइटा ४० वर्षका थिए । उनले आफ्नो बाबुको पदचापलाई अनुसरण गरेका हुन् ।

विगतमा पनि संसारमा विशेषतः राजतन्त्रात्मक देशमा सानो उमेरमै राष्ट्रप्रमुख बन्ने गरेको कतिपय दृष्टान्त छन् ।

पु यी सन् १९०८ मा दुई वर्षको उमेरमा चीनको सम्राट बनेका थिए । उनले लामो समय शासन गर्न भने पाएनन् । केवल तीन वर्षपछि त्यहाँको क्रान्तिले शाही शासन समाप्त गरी गणतन्त्र चीन स्थापना गरेको थियो ।

स्वाजिल्यान्डमा एक वर्षको उमेरमा राजा भएका सोभुजा द्वितीय इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने राजा हुन् । सन् १८९९ जुलाई २२ मा जन्मेका सोभुजा नाच्दै गरेका बाबु अकस्मात् लडेर मरेपछि राजा घोषणा भएका थिए । सन् १९८२ सम्म जीवित सोभुजाले आफ्नो देशलाई बेलायतबाट स्वतन्त्र बनाए । यस्तै सन् १६२३ देखि १६४० सम्म राज गरेका मुराद चौथो अटोमन साम्राज्यको सुल्तान घोषणा हुँदा केवल ११ वर्षका थिए ।

इरानको शासानियन साम्राज्यकालमा सबभन्दा कम उमेर, त्यसमा पनि जन्मिनुभन्दा पहिले आमाको गर्भमै राजा घोषणा गरिएको घटना छ । सन् ३०९ मा त्यहाँका राजा हर्मिज्दको मृत्यु भएपछि उनका छोरा अदुर नार्सेहको केही महिनापछि नै हत्या भएकाले आमाको गर्भमा रहेका शापुर द्वितीय द ग्रेटलाई राजा घोषणा गरिएको थियो ।

तर उनले १६ वर्षको उमेरदेखि मात्र सक्रिय रूपमा राजकाज सम्हालेका थिए । उनको मृत्यु ७० वर्षको उमेरमा भएको थियो ।

त्यस्तै स्पेनका राजा अल्फोन्सो तेह्रौँ पनि सन् १८८६ मा जन्मनेबित्तिकै राजा तोकिए पनि १६ वर्ष पुगेपछि मात्र राजा भएका थिए । बेलायतमा नौ महिनामा राजा भएका हेनरी छैटौँ  बेलायती इतिहासमा सबैभन्दा कान्छा शासक हुन् । ५० वर्षको उमेरमा टावर अफ लन्डनमा उनको हत्या भएको थियो ।

नेपालमा पनि राजा त्रिभुवनले देश छाडेर भारत गएपछि राणाहरूले उनका नाति ज्ञानेन्द्रलाई राजा बनाउँदा उनी तीन वर्ष १२३ दिनका मात्र थिए । यस्तै इराकमा सन् १९३९ मा तीन वर्ष ३३७ दिन उमेर पुगेका फैसल द्वितीयलाई राजा बनाइएको थियो ।

विश्वको सबैभन्दा कम उमेरको प्रधानमन्त्री हुने सौभाग्य भने बेलायतका विलियम पिट योङ्ले पाएका छन् । केवल २४ वर्ष २०५ दिनको उमेरमा प्रधानमन्त्री बनेका उनले झन्डै १८ वर्ष सेवा गरेका थिए । अमेरिकामा हालसम्म भएका ४६ राष्ट्रपतिमध्ये कान्छो राष्ट्रपति  हुँदा थियोडोर रुजबेल्ट ४२ वर्ष ३२२ दिनका थिए ।

अहिलेसम्म कान्छी प्रधानमन्त्री चाहिँ फिनल्यान्डकी सन्ना मारिन हुन् । सन् २०१९ को डिसेम्बर १० मा पद बहाली गर्दा उनको उमेर ३४ वर्ष २४ दिन मात्र थियो ।

विश्वको पहिलो महिला प्रधानमन्त्री सिरिमावो बन्दरनायके हुन् । सन् १९६० मा आफ्नो पार्टीलाई पहिलो बनाएर श्रीलङ्का सरकारको नेतृत्वमा पुग्दा उनी ४४ वर्षकी थिइन् ।

मुस्लिम बाहुल्य देशमा लोकतान्त्रिक सरकारको निर्वाचनद्वारा पहिलो पटक महिला प्रधानमन्त्री बन्दा बेनजिर भुट्टोको उमेर केवल ३५ वर्ष थियो । उनले २७ वर्षको उमेरमा सन् १९८० देखि सन् २००७ मा हत्या हुँदासम्म पाकिस्तान पिपुल्स पार्टीको नेतृत्व पनि गरेकी थिइन् ।   

Author

सुरेन्द्र नेपाल श्रेष्ठ