सन्तोषी रावल,
(बाजुरा) मङ्सिर १० । बाजुरामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमसहित सुरु गरिएको छ । “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नारासहित सुरु भएको अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० (मङ्सिर २४) सम्म चल्नेछ । उद्घाटन समारोहमा सहभागीहरूले डिजिटल प्लेटफर्ममा बढ्दै गएको दुरुपयोग, साइबर बुलिङ, अनलाइन उत्पीडनलगायतका घटनाले महिलामाथि पर्ने जोखिम बढेकाले सामुदायिक सहकार्य र सचेतना अत्यावश्यक भएको बताएका छन् ।
उद्घाटनका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले अनलाइनमार्फत हुने हिंसा ‘देखिँदैन तर अत्यन्त गम्भीर’ भएको बताउँदै डिजिटल सुरक्षा र कानुनी कार्यान्वयन सुदृढ गर्न सबै निकायको समन्वय महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो । त्यस्तै बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले डिजिटल प्रविधिको दुरुपयोगबाट महिलाहरू बढी प्रभावित भएको बताउँदै विद्यालयदेखि समुदायसम्म डिजिटल सुरक्षा तथा जिम्मेवार प्रयोगबारे अनिवार्य रूपमा सिकाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रम बडीमालिका नगरपालिकाको आयोजनामा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय र महिला समूहहरूको सहकार्यमा सञ्चालन गरिएको हो । महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाका अनुसार, अभियानअन्तर्गत १६ दिनसम्म बजार परिक्रमा, सचेतना कार्यक्रम, अन्तरक्रिया तथा जनचेतनामूलक गतिविधिहरू निरन्तर सञ्चालन गरिनेछ ।