रामकृष्ण बोहरा
बागलुङ, मङ्सिर १० गते । कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको मालढुङ्गा–बलेवा सडक खण्डको एक्लेसाल र कालाखोलामा खसेका दुई भीमकाय पहिरोले वर्षायाममा सास्ती दिएपछि यात्रा सहज यात्राका लागि विकल्पको रुपमा पर्वतको नयाँपुल र बागलुङको कालाखोला जोड्ने गरी कालीगण्डकी नदीमा मोटरेवल पुल निर्माणको काम सुरु भएको छ ।
करिडोरको कालाखोला र मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डको नयाँपुल जोड्ने मोटरेबल पुल बनाउने काम थालिएको हो । गण्डकी प्रदेशको पूर्वाधार विकास निर्देशनालयको ठेक्का सम्झौतामा मोटरेवल पुल निर्माणको काम थालिएको हो । निर्देशनालयले गत असारमा मुक्तिनाथ अमित संयुक्त निर्माण कम्पनीसँग १७ करोड रुपियाँमा पुल बनाउने ठेक्का सम्झौता गरेको थियो ।
सोही ठेक्काको अधारमा ठेकेदार पक्षले नै यो स्थानमा माटो परीक्षण गरी डिजाइन समेत पेश गरेपछि निर्देशनालयले पुल निर्माण गर्न अनुमति दिने प्रावधान सहितको सम्झौतामा काम थालिएको हो । एक सय मीटर लामो र ११ मीटर चौडा भएको यो पुल तीन वर्षभित्र बनाइसक्नुपर्ने ठेक्का सम्झौता रहेको निर्देशनालयका सव–इन्जिनियर विजय सुवेदीले जानकारी दिनुभयो ।
यो पुलले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलाई नयाँ पुलमा जोड्ने छ । गत वर्षातमा कालाखोलामा खसेको भिषण पहिरोले करिडोर अबरुद्व भएको र एक्लेसालमा वर्षेनी खस्ने पहिरोले दक्षिण बागलुङ र करिडोर हुँदै गुल्मी, पाल्पा र बुटवल जाने यात्रीले सास्ती खेपेका थिए । ‘‘यो पुल बनेमा दक्षिण बागलुङदेखि गुल्मी, पाल्पादेखि बुटवल आउजाउ गर्ने यात्रुले सहज यात्रा गर्न पाउने छन्’’ बलेवाका धु्रव श्रेष्ठले भन्नुभयो ।
हाल करिडोरको मालढुङ्गादेखि बलेवा खण्ड पनि कालोपत्रको तयारी छ । तर एक्लेसालदेखि कालाखोला सम्मको खण्ड जोखिमपूर्ण छ । वर्षायाममा पटक पटक अवरुद्ध हुने खतरा भएपछि नयाँपुल–कालाखोला पुलको व्यवस्था गरिएको हो । जनप्रतिनिधिले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गरेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गतवर्ष पुल बनाउन सहमति दिनुभएको थियो । चालु वर्ष बजेट व्यवस्थापन भएपछि असारमै ठेक्का लगाइएको हो ।
अहिले ठेकेदार पक्षले कालीगण्डकी किनारको दुवै तर्फबाट २० मीटर तलको माटो निकालेर परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । प्रतिवेदन आएपछि उक्त स्थानमा पुलको काम थालिने सुवेदीले जानकारी दिनुभयो । ‘‘ठेकेदार पक्षले नै डिजाइन बनाएर निर्माण गर्ने यो नौलो र पहिलो पटकको अभ्यास समेत हो,’’ इन्जिनियर सुवेदीले भन्नुभयो । यो कामले ठेकेदारले समयमा काम सक्ने पद्धती समेत विकास हुने विश्वास लिइएको छ ।