रङ्गेली समाचारदाता
विराटनगर, फागुन ११ गते । सङ्घीय सरकार अन्तर्गत सडक विभागको क्षेत्राधिकारभित्र पर्ने कोशी राजमार्गको विराटनगर महानगरपालिका रानी–कञ्चनबारी खण्ड जताततै ‘उबडखाबड’ भएपछि दुर्घटना बढेको गुनासो बढेको छ । राजमार्ग ‘राजमार्ग’ जस्तो नभएर कच्ची कालोपत्रेमा रूपान्तरण भएपछि स्थानीय तह विराटनगर महानगरपालिकामा दबाब बढेको छ । सडकमा सवारी गुडिरहेको छ कि ‘चाकाचुली’ खेलिरहेको छ भन्ने अवस्था आएपछि विराटनगर महानगरपालिकाले छ लेन सडक आयोजनालाई तत्काल मर्मत गरिदिन आग्रह गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी कोशी राजमार्ग अन्तर्गत रानी–धरान खण्डको विराटनगर बजार क्षेत्रमा हुने अधिकांश दुर्घटना सडकको अवस्थाका कारण भएको भनेर स्थानीय सरकारको आलोचना बढेपछि आयोजनासँग महानगरपालिकाले सडक मर्मतका लागि आग्रह गरेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत पराजुलीले भन्नुभयो, “छ लेन सडक आयोजनाले निर्माण विस्तार गरेको मध्ये विराटनगरको रानीदेखि कन्चनबारीसम्म जताततै डाँडाकाँडा छन् । ‘अपन–डाउन मोसन’ मा सवारी गुड्ने गर्छन् ।”
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुलीसहितको टोलीले मङ्गलबार छ लेन सडक आयोजनाको कार्यालय इटहरी पुगेर मर्मतमा चासो लिन आग्रह गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत पराजुलीले भन्नुभयो, “राजमार्ग विस्तारको काम छ लेन आयोजनाले गरेको छ, केही भए गाली स्थानीय तहले खानु परेको छ । ठेकेदारले आयोजनालाई हस्तान्तरण गरेका छन्, आयोजनाले सडक डिभिजनलाई हस्तान्तरण गर्ने समयमा सडक भत्किसक्ने स्थितिमा देखिन्छ ।”
छ लेन सडक आयोजनासमेत हेर्ने जिम्मेवारी सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख राजेन्द्रप्रसाद साहलाई तोकिएको छ । आयोजना तथा सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख इन्जिनियर साहले सडक बिग्रिएको कुरा जानकारीमा रहेकाले रानीदेखि दुहबीसम्म मर्मतका लागि सूचना प्रकाशित गरिसकेको बताउनुभयो ।
उहाँले छ लेन सडक आयोजना मातहतै रहेको जानकारी दिँदै त्यही अनुसार मर्मतका लागि सूचना प्रकाशित भइसकेको बताउनुभयो ।
छ लेन सडकलाई मेडियन स्ट्रिप्सले तीन/तीन लेनमा विभाजन गरेको छ । उत्तर–दक्षिण सडकको मेडियन स्ट्रिप्सबाट पूर्वतर्फ तीन र पश्चिम तीन लेन छ । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्रे सडकमा सवारीसाधन जथाभाबी गुड्ने अवस्था छ । सडकमा सवारी आवागमन हुनुपर्नेमा पार्किङले दुवै साइडको एक एक लेन सडक ओगटेको छ ।
त्रिदेशीय लाइफलाइन मानिएको यो सडकको विराटनगर बजार क्षेत्रमा सधैँ समस्या दोहोरिने गरेको छ । सडकको भारवहन क्षमताभन्दा दोब्बर वजन बोकेका मालवाहक सवारी जतिबेलै केन्द्र भागतर्फबाट गुड्ने गरेका कारण मेडियन स्ट्रिप्सको पश्चिमतर्फ बढी समस्या हुने गरेको छ । किनकि औद्योगिक क्षेत्रका मालवस्तु बोकेर आएका सवारीले अधिक भार बोकेर आएका हुन्छन् । जुन भार वहन गर्न सक्ने क्षमताको सडक छैन ।
आयोजना प्रमुख साहका अनुसार जुन समयमा सडकको डिजाइन भयो, त्यस बेला एक लेनको ४५ प्रतिशत भारवहन अवधारणा थियो तर एउटै लेनमा ४० टनका गाडी गुडिरहँदा त्यो लेन भासिएर बिग्रियो । उहाँले भासिएको क्षेत्र हेर्दा मेडियन स्ट्रिप्ससँग जोडिएको भन्सारबाट छुटेका मालवाहक सवारी गुडेको लेन मात्रै रहेको बताउनुभयो । त्यही सवारी सामान अनलोड गरेर फर्कने क्रममा पूर्वतर्फ भासिने समस्या कम रहेको बुझाइ छ । विराटनगर भन्सार क्षेत्रबाट सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा मालवस्तु बोकेर आउने सवारीले सडकको क्षमताभन्दा तेब्बर वजन बोक्ने गरेका छन् । विराटनगरमा १० टनदेखि ४० टनसम्मको वजन भएका मालवाहक सवारी सडकमा गुड्ने गरेका हुन् ।
२०६९/७० सालदेखि सुरु भएको आयोजनाको काम सकिँदा सडकको अवस्था पुरानै स्थितिमा फर्किने आशङ्का गरिएको छ । निर्माणाधीन सडकमा क्षमताभन्दा बढी भार भएका सवारीको आवागमनको व्यवस्थापन नहुँदा यस्तो समस्या दोहोरिने गरेको आयोजना प्रमुख साहको दाबी छ ।
सडकको भारवहन क्षमता गाडीको एक्सलदेखि एक्सलसम्मको १० टन वजन हो । अहिले एउटै लेनमा ४० टन क्षमतासम्मका सवारी गुड्ने गरे पनि त्यसको व्यवस्थापन मिलाउने निकाय मौन रहने गरेको आयोजनाका अधिकारीको बुझाइ छ । सरकारको १० अर्ब ९८ करोड रुपियाँ लागतमा ४९ किलोमिटर रानी–धरान व्यापारिक सडक निर्माणको काम भइरहेको छ । हालसम्म नौ अर्ब खर्च भइसकेको छ । धरानमा पाँच किलोमिटर र दुहबीको ६३० मिटरबाहेकको काम सम्पन्न उन्मुख रहेको छ । हालसम्म ३७ किलोमिटर सडक सम्पन्न भइसकेको जनाइएको छ ।