• १३ मंसिर २०८१, बिहिबार

सात वर्षपछि महाभारतमा खानेपानी

blog

खानेपानीको अवलोकन गर्दै पालिका प्रमुख जितेन्द्र राई तथा स्थानीय ।

कविराज घिमिरे 

हिले, फागुन १० गते । निर्माण सुरु भएको झण्डै सात वर्षपछि साँगुरीगढी गाउँपालिका-७ माखावा लिफ्टिङ खानेपानी योजनाको पानी पुगेको छ । माखावा खोलादेखि १३ सय ८९ मिटरको उचाइमा रहेको पोखरी डाँडामा लिफ्टिङ प्रविधिबाट पानी झारिएको हो । 

खोलाबाट सङ्कलन गरिएको पानीलाई दुई स्थानबाट लिफ्ट गरिएको छ । खोलादेखि ६ सय ३९ मिटर उचाइमा रहेको एप्मालामा रहेको करिब ५० हजार लिटर क्षमतामा ट्याङ्कीमा पानी झारिएको छ । त्यहाँदेखि ५ सय ५० मिटर उचाइमा रहेको पोखरी डाँडाको करिब ५० हजार लिटर ट्याङ्कीमा झारिएको माखावा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका सचिव ओमप्रकाश राईले जानकारी दिनुभयो ।  

योजनाबाट साविक महाभारत गाउँ विकास समितिका वडा नं. १, २, ३ र ४ वडाका २ सय ५० भन्दा बढी घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष धर्मध्वज राईले बताउनुभयो । खानेपानी योजनाले गोलखाडी, होङ्गकुटोल, लेक सिरान, खोङ्गजाली, खाक्चीराङ्ग, डढुवा, छिनामचोक, वैंका, गैरीटोल, खोलिम्फू, आसकोट गरी ११ वटा टोल समेटिनेछन् । खानेपानी अभावकै कारण बसाइँ सर्नुपर्ने स्थिति रहेकोमा अब त्यो समस्या हटेको उहाँको विश्वास छ । 

पोखरीडाँडामा सङ्कलन गरिएको पानीलाई ६ स्थानमा ट्याङ्की निर्माण गरी वितरण गरिनेछ । साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले निर्माण सुरु भएको लामो समय बित्दा पनि खानेपानी योजना सम्पन्न नहुँदा यहाँका स्थानीय बासिन्दा निराश भएकोमा अब भने निराशा आशामा बदलिएको बताउनुभयो ।