• ११ मंसिर २०८१, मङ्गलबार

विश्वविद्यालय उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष भएनः सांसद भट्टराई

blog

प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष समयमा धारणा राख्दै सांसद योगेश भट्टराई । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं, फागुन १० गते । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र नरहेको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीले स्वच्छ र स्वतन्त्र ढङ्गले उपकुलपति नियुक्ति गर्ने भनेपनि अन्तिममा पारदर्शी बन्न नसकेको जिकिर गर्नुभयो । उहाँले अनुसन्धान, प्रस्तुतिमा कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राख्ने र अन्तर्वार्ता शिक्षामन्त्री र शिक्षा सचिवले लिने प्रक्रियाबाट योग्य व्यक्ति छनोट हुन नसक्ने बताउनुभयो ।

पार्टीभित्रका गुटका मानिसलाई उपकुलपति नियुक्ति गर्न लागिएको भन्दै सांसद भट्टराईले  उपप्राध्यापकले उपकुलपतिको अन्तर्वार्ता लिने कुरा राम्रो नभएको जिकिर गर्नुभयो । उहाँले अहिलेको उपकुलपति नियुक्ति प्रक्रियाको भर्त्सनासमेत गर्नुभयो । अहिलेको उपकुलपति नियुक्ति प्रक्रिया तत्काल बन्द गरी स्वतन्त्र र निष्पक्ष ढङ्गले उपकुलपति छनोट प्रक्रिया अघि बढाउन माग गर्नुभयो ।

‘‘गत कात्र्तिक महिनादेखि त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ । प्रधानमन्त्रीज्यूले स्वच्छ र स्वतन्त्र ढङ्गले उपकुलपति नियुक्ति गर्ने भनेर अघि बढाउनुभयो । यो प्रक्रियामा स्वच्छ, स्वस्थ, प्रतिस्पर्धी र पारदर्शी केही पनि थिएन । अनुसन्धान, प्रस्तुतिमा असाध्यै कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राखेर अन्तर्वार्ता कसले लिनेभन्दा शिक्षामन्त्री र शिक्षा सचिवले ।,’’ सांसद भट्टराईले भन्नुभयो, ‘‘अनि प्राध्यापक विश्वविद्यालयको उपकुलपति हुने अन्तर्वार्ता कसले लिन्छ भन्दा उपप्राध्यापकले । यस्तो प्रक्रियाबाट पार्टीभित्रका गुटका मानिसलाई विश्वविद्यालयलाई जसरी अहिले बन्धक बनाइएको छ । यसको निन्दा गर्दछु । भर्त्सना गर्दछु र यो प्रक्रिया तुरुन्त बन्द गरेर स्वतन्त्र र निष्पक्ष ढङ्गले उपकुलपति छनोट प्रक्रिया अघि बढाइयोस् । यस्तै अवस्था पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको पनि छ । यतातिर पनि ध्यान जाओस् ।’’

उहाँले पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको अवस्था पनि त्रिविको जस्तै रहेकाले सोबारेमा पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो ।