• १४ मंसिर २०८१, शुक्रबार

दुर्घटना न्यूनीकरणमा सबै सरोकारवाला गम्भीर बन्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

blog

चालकलाई हेल्मेट दिएर कार्यक्रम उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठ । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, फागुन १० गते ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनामा धेरैको ज्यान जाने गरेको जानकारी दिनुहुँदै दुर्घटना न्यूनीकरणमा सम्बन्धित सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

नेपालगन्ज उपमहानगर, कोहलपुर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेद्वारा संयुक्त रुपमा यहाँ सञ्चालन गरिएको ट्राफिक सप्ताहको बिहीबार उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले सार्वजनिक सवारी साधनका चालकलाई हेल्मेट लगाएर तथा सार्वजनिक सवारी साधनमा ट्राफिक सचेतनासम्बन्धी स्टीकर टाँसेर ट्राफिक सप्ताहको उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले दुर्घटना रोक्नका लागि गुणस्तरीय सडक, नियम अनुसारको सवारी साधन परिचालन र सर्वसाधारणमा चेतनाको विकास आवश्यक भएकाले सम्बन्धित सबैले यी विषयमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

माओवादी जनयुद्धमा दश वर्षको अवधिमा जति जनाको ज्यान गयो त्योभन्दा बढी गत दश वर्षको अवधिमा जनताले दुर्घटनामा परेर ज्यान गुमाउनुपरेको उल्लेख गर्नुहुँदै उहाँले यसलाई न्यूनीकरण गर्नु सरकारको प्रमुख दायित्व बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कुनै एउटा मात्र निकाय वा संस्थाले चाहेमा मात्रै दुर्घटना न्यूनीकरण गर्न सकिँदैन, त्यसका लागि सवारी साधनको लाइसेन्स वितरण गर्नेदेखि लिएर सवारी चलाउने, नियमन गर्ने र सर्वसाधारण जनता सबैले आ आफनो भूमिका इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ ।’’

अधिकांश दुर्घटना मानवीय गल्तीकै कारण हुने गरेकाले सो रोक्न नियमन गर्ने निकायले आफ्नो जिम्मेवारी अति नै बढी सक्रियतापूर्ण तरिकाले निर्वाह गर्नुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठको विशेष जोड थियो ।

सो अवसरमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपी श्यामबहादुर खत्रीले ट्राफिक सप्ताहअन्तर्गत सात दिनसम्म गरिने विभिन्न जनचेतनामूलक कार्यक्रमहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डे, सहरी विकास मन्त्री कृष्णा केसी, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआईजी कुबेर कडायत, नेपालगन्ज उपमहानगरका उपप्रमुख कमरुद्दीनराई लगायतको सहभागिता थियो ।

त्यसअघि जनचेतना जगाउने विभिन्न प्लेकार्डसहितको एक सचेतना र्‍याली बिपी चोकबाट सुरु भई धम्बोझीचोकस्थित कार्यक्रम स्थलसम्म पुगेको थियो । सो र्‍यालीमा विद्यार्थी, अभिभावक, व्यापारी, सर्वसाधारण र सुरक्षाकर्मीहरुको सहभागिता थियो ।