• १८ पुस २०८१, बिहिबार

हरिपूर्वामा शिक्षक, कर्मचारी धर्नामा

blog

धर्नामा बसेका हरिपूर्वाका शिक्षक, कर्मचारी । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, फागुन ९ गते । फागुन ७ गते नगर सभा गरेर बजेट पारित गरेको सर्लाहीको हरिपूर्वा नगरपालिकामा शिक्षक र कर्मचारीले धर्ना जारी राखेका छन् । 

गएको साउनदेखि नपाएको तलब अझै प्राप्त गर्ने आधार नरहेको भन्दै शिक्षक कर्मचारीले धर्नाको कार्यक्रम जारी राखेका हुन् । तलब माग गर्दै नगरपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थाका कर्मचारी माघ २८ गतेदेखि कार्यालय बन्द गरेर तथा शिक्षकहरू फागुन ६ गतेदेखि विद्यालय बन्द गरेर धर्नामा बसेका छन् । 

नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थासहित कार्यालय बन्द हुँदा सेवाग्राही सेवा ठप्प भएर मारमा परेका छन् । नगरभित्रका १६ वटै सामुदायिक विद्यालय बन्द हुँदा एसइईको तयारीमा रहेकासहित पाँच हजार विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् । 

नगरप्रमुख विनोदकुमार साह तेलीले बहुमत नगर सभा सदस्यबाट पारित गरेर बजेट ल्याइएपनि कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यालय प्रमुख नभएर खाता नखुल्दा तलब, भत्ता निकासामा समस्या परेको बताउनुभयो । “हामीले नगर सभाबाट बजेट त पास गर्‍यो तर तलब, भत्ता खुवाउन कोलेनिकामा खाता खोल्नुपर्ने हुन्छ,” नगरप्रमुख साहले भन्नुभयो, “कोलेनिकामा कार्यालय प्रमुख नै नभएर काम हुन सकिरहेको छैन ।” 

अब झुटो आश्वासन दिएर शिक्षक, कर्मचारीले नमान्ने भएकाले तत्काल खाता सञ्चालनका लागि पहल गरिदिन प्रमुख जिल्ला अधिकारी र मन्त्रालयमा समेत आग्रह गरेको नगरप्रमुख साहले बताउनुभयो । आफ्नो पालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) शम्भुप्रसाद यादवलाई यहाँबाट अन्यत्र सरुवा गरिसकिएको भएपनि मन्त्रालयले अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाएसम्म यादवलाई रमाना दिएर नपठाउने नगरप्रमुख साहको भनाइ छ । 

उहाँले प्रमुख प्रशासकीय अधिकृत यादवलाई रमाना दिन दबाब दिएर नगरपालिकालाई बन्धक बनाउने षडयन्त्र भइरहेको गुनासो गर्नुभएको छ । सर्लाहीका प्रमुख कोष नियन्त्रक निर्मल न्यौपानेको केही दिनअघि मात्रै सरुवा भएको छ । 

कोष तथा लेखा नियन्त्रक कार्यालयका निमित्त प्रमुख एवम् कोष नियन्त्रक पुरुषोत्तम बरालले नयाँ कार्यालय प्रमुख नआउन्जेल स्थानीय तहको खाता सञ्चालन तथा निकासा नहुने बताउनुभएको छ । “मलाई कार्यालयको नियमित काम हेर्ने जिम्मेवारी मात्रै प्राप्त छ, पालिकाको खाता खोल्ने तथा बजेट निकासा गर्ने अधिकार छैन,” कोष नियन्त्रक बरालले भन्नुभयो । उहाँले हरिपूर्वा नगरपालिकाको हकमा कार्यालय प्रमुख हाजिर भएर आएपछि नगर सभाको कागजात हेरिने र कागजात मिलेर आएको खण्डमा खाता खोलेर तलब, भत्ता निकासा हुने बताउनुभएको छ । उहाँका अनुसार सर्लाहीमा सरुवा भएर आउने प्रमुख कोष नियन्त्रकको टुङ्गो लागेको छैन ।