• ४ असार २०८२, बुधबार

मन्त्रालयको बेथिति : हाजिर भएको चौबिस घण्टामै सरुवा

blog

प्रवीणकुमार शर्मा 

चन्द्रपुर (रौतहट), असार ४ गते   । रौतहटको गुजरा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा डाक्टर श्रवणकुमार साह हाजिर भएको २४ घण्टा नबित्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उहाँको सरुवा गरेको छ । मन्त्रालयले सप्तरीको राजविराज नगरपालिकाबाट रौतहटको गुजरा नगरपालिकामा सरुवा गरेपछि डाक्टर साह आइतबार गुजरा नगरपालिकामा हाजिर हुनुभएको थियो । हाजिर भएर कार्यालयको कामकारबाही तथा आउँदो आर्थिक वर्षका लागि नगर सभाको तयारी सम्बन्धमा गृहकार्य गर्न नपाउँदै सोमबार उहाँलाई रौतहटकै चन्द्रपुर नगरपालिकामा सरुवा गरिएको छ ।

उपसचिव डाक्टर साहका अनुसार आफूले सरुवा नमागे पनि मन्त्रालयले आर्थिक वर्षको अन्त्यमा आएर एक दिनमै सरुवा गरिदिनु दुःखद भएको बताउनुभयो । मन्त्रालयले खटाएका कारण नचाहँदानचाहँदै पनि चन्द्रपुर नगरपालिकामा सोमबार नै हाजिर भएको प्रमुख प्रशासकीय अधिकृत डाक्टर साहले बताउनुभयो । 

गुजरा नगरपालिकाका नगरप्रमुख सन्तलालप्रसाद चौधरीले मन्त्रालयले रकमी चलखेल गरेर पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत खटाउन प्रयास गरिरहेको आरोप लगाउनुभयो । नगरप्रमुख चौधरीका अनुसार आफूलाई दरबन्दी अनुसारको उपसचिव नै प्रमुख प्रशासकीय अधिकृत चाहिएकाले मन्त्रालयले आफ्नो दायित्व बिर्सन नहुने बताउनुभयो । आवको अन्त्यमा नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइदिँदा कार्यादेश, भुक्तानी तथा नगर सभा प्रभावित भएको नगरप्रमुख चौधरीले गुनासो पोख्नुभयो ।

गुजरा नगरपालिकाका यसअघिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाललाई मन्त्रालयले जनकपुरधाम उपमहानगरपालिकामा सरुवा गरेपछि एक महिना १० दिन नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव भीमकान्त पौडेलका अनुसार उपसचिव डाक्टर साहले सुरुवातमा चन्द्रपुर नगरपालिका नै माग गरेकाले सुरुमा पठाउन नसके पनि सोमबार खटाएको प्रतिव्रिmया दिनुभयो ।