• ५ माघ २०८१, शनिबार

डकैतीको घटनाले स्थानीय त्रसित

blog

सोमबार राति लुटपाट भएको व्यवसायी श्यामप्रसाद साहको घर । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, फागुन ९ गते । सर्लाहीको लालबन्दी बजारमा सोमबार राति भएको डकैतीको घटनापछि स्थानीय बासिन्दा र व्यवसायीले सुरक्षा चिन्ता व्यक्त गरेका छन् । 

सोमबार राति ८ बजेको आसपासमा लालबन्दी नगरपालिका–६, स्थित जनवादी चोकनजिक व्यवसायी श्यामप्रसाद साहले सञ्चालन गरेको श्याम जनरल स्टोर्समा हतियारधारी समूहले साङ्घातिक आक्रमणसहित लुटपाट गरेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रारम्भिक अनुसन्धानअनुसार साहको पसलबाट ४९ लाख २६ हजार रुपियाँ नगद लुटिएको जनाइएको छ । 

साहले आफ्नै घरमा व्यवसाय सञ्चालन गर्नुभएको छ । उहाँले नेपाली सेनाको रासन ढुवानी, एनसेलको डिलर सञ्चालन र विभिन्न खाद्य वस्तुहरू होलसेलमा बिक्री गर्दै आउनुभएको थियो । 

लुटेरा समूहले व्यवसायी साह र एक जना कर्मचारीमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् । साहको टाउकोमा सातवटा र अर्का एक जना कर्मचारीको ढाडमा चारवटा टाँका लगाइएको छ । 

आफूसहित घरका सदस्य र कामदार घरमा बसिरहेका बेला अचानक मुखमा पट्टी बाँधेर घरभित्र प्रवेश गरेका व्यक्तिले पेस्तोल देखाएर लुटपाट गरेका व्यवसायी साहले बताउनुभयो । यस घटनापछि उद्योग वाणिज्य सङ्घ लालबन्दी र चेम्बर अफ कमर्स लालबन्दीले छुट्टाछुट्टै विज्ञप्ति जारीगरी घटनाको भर्त्सना गर्दै संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेको छ । 

उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले घटनापश्चात् संलग्नलाई पक्राउ गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन जिल्लास्थित सुरक्षा निकायको ध्यानाकर्षण गराएको बताउनुभयो । “सङ्घको तर्फबाट निरन्तर दबाब दिइरहेका छौँ, उहाँहरूले सूक्ष्म अनुसन्धान भइरहेको भन्नुभएको छ” बलम्पाकीले भन्नुभयो, “आगामी दिनमा यस्ता घटना नदोहोरियोस् भनेर ध्यानाकर्षण गराएका हौँ ।” 

प्रहरीले घटनाका दोषी चाँडै पक्राउ पर्नेमा आशावादी रहेको बलम्पाकीको भनाइ छ । लुटपाट घटनाका दोषीलाई तत्काल पक्राउ गर्न माग गर्दै चेम्बर अफ कमर्स लालबन्दीले बुधबार दिउँसो पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दीबजार क्षेत्रमा दबाब कार्यक्रम गरेको छ ।  

सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पञ्जियार थारुले आफूहरू घटनाको अनुसन्धानमा केन्द्रित रहेर अनुसन्धान गरिरहेको बताउनुभयो । “लालबन्दीकै घटनामा ‘फोकस’ भएका छौँ, विभिन्न कोणबाट अनुसन्धान जारी छ” डिएसपी थारुले भन्नुभयो । 

लालबन्दीमा पछिल्लो समय चोरीका घटना बढिरहेको स्थानीयको भनाइ छ । लालबन्दीमा यसअघि गत असोज ३ गते राति हतियारधारी समूहले वडा ५, शान्ति टोलका रामचन्द्र ठाकुरको घरमा हतियार देखाएर लुटपाट गरेको थियो । लुटेरा समूहले धारिलो हतियार प्रहार गर्दा घरधनी ठाकुर घाइते हुनुभएको थियो । 

त्यस घटनामा संलग्नहरू अहिलेसम्म पक्राउ परेका छैनन् । पछिल्लो हप्ता मात्र लालबन्दी ७ स्थित बजार क्षेत्रमा समेत दुई ठाउँमा चोरी भएको थियो । लालबन्दी ७ का माधव पोखरेलको घर र झुम्का धितालले सञ्चालन गरेको होटलमा चोरी भएको थियो ।