• १३ साउन २०८१, आइतबार

नीलो झण्डाले चिनाउँछ गर्भवतीको घर

blog

चौतारा, फागुन ९ गते । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर नीलो झण्डा राखेको छ । पोषण तथा खाद्य सुरक्षा नेपाल र बलेफी गाउँपालिकाको सहकार्यमा वडा नम्बर २ भित्रका गर्भवती र दुई वर्षसम्मका सुत्केरीको ४५ घरधुरीमा नीलो झण्डा राखेर कार्यक्रम सुरुआत गरिएको हो ।  

उक्त झण्डामा गर्भवती आमा, छ महिनासम्मका स्तनपान गर्ने बच्चा, छ महिनादेखि दुई वर्षसम्मका बालबालिका देखिने लोगो राखिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाप्रमुख चेतन घिमिरेका अनुसार पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि सुनौला हजार दिनका आमाका घरपहिचान तथा सचेतना कार्यक्रमअन्तर्गत झण्डा राख्ने कामको सुरुआत गरिएको हो । 

गर्भवती र दुई वर्षसम्मका सुत्केरी सुनौला हजार दिनका आमा हुन् । सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको वडा नम्बर २ स्थित धन्सार आधारभूत स्वास्थ्यचौकीको इन्चार्ज सुभद्रा नेपालले जानकारी दिनुभयो । गर्भवती महिला सुत्केरी नहुञ्जेलसम्म गर्भ जाँचका साथै उनीहरूलाई आवश्यक अन्य सेवा प्रवाहमा सहजता र लक्षित वर्ग पहिचानका लागि यो अभियान सञ्चालन गरिएको पोषण तथा खाद्य सुरक्षा नेपालकी सहजकर्ता सविता श्रेष्ठले बताउनुभयो । रासस