• १४ जेठ २०८१, सोमबार

राति १० बजेसम्मका लागि निषेधाज्ञा हट्यो

blog

फाइल तस्विर

दिपकप्रसाद गौतम

वीरगञ्ज, फागुन ९ गते । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ५ बजे देखि जारी गरेको अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) बुधबार राति १० बजेसम्मका लागि हटाएको छ । 

सोमबार साँझ ५ बजेदेखि जारी निषेधाज्ञा आदेश सर्वसाधारणको सुविधालाई मध्येनजर गर्दै मंगलबार ४ घण्टा खोलेर पुनः लगाइएको थियो भने बुधबार बिहान ६ बजेदेखि ११ बजेसम्म खुकुलो पारिएको र बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको हो । 

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम फागुन ७ गते साँझ ५ बजेदेखि अर्को आदेश नभइन्जेलका लागि जारी निषेधाज्ञा बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि स्थगित गरिएको जनाइएको छ । 

गएको बिहीबार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा दुईपक्षबिच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा पनि जुलुसका क्रममा सोमबार विवाद र झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले वीरगन्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलाबे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सार क्षेत्र चारकिल्ला तोकेर सोमबार साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको थियो ।