• १३ मंसिर २०८१, बिहिबार

ताप्लेजुङमा धुपीका पात सङ्कलन घट्दो

blog

धुपी । फाइल तस्बिर

फुङ्लिङ, फागुन ८ गते । पछिल्लो समयमा ताप्लेजुङमा धुपीका पात सङ्कलन क्रमिकरुपमा घट्दै गएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार प्रत्येक वर्ष धुपीका पात सङ्कलन घट्दै गएसँगै राजस्व पनि घट्दै गएको हो । 

चालु आर्थिक वर्षमा जिल्लाको राष्ट्रिय वनबाट १७ हजार पाँच सय किलोग्राम धुपीका पात सङ्कलन भएको  छ । हिमाली क्षेत्रमा पाइने धुपीका पात प्रत्येक वर्ष सङ्कलन हुँदै आएको छ । चालु आर्थिक वर्षमा १७ हजार पाँच सय किलोग्राम धुपी सङ्कलन हुँदा प्रतिकेजी दुईका दरले ३५ हजार राजस्व जिल्ला वन कार्यालयमा जम्मा गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । 

गत वर्ष २२ हजार पाँच सय किलोग्राम धुपीका पात सङ्कलन हुँदा ४५ हजार राजस्व जम्मा भएको थियो । आव २०७८/७९ मा ३५ हजार केजी धुपीका पात सङ्कलन भएको र सो बापत ७० हजार राजस्व सङ्कलन भएको थियो । पूजापाठमा धुपीका पात प्रयोग हुँदै आएको छ । धुपीका पातबाट औषधिका लागि प्रयोग हुने  तेल निकालेर राम्रो मूल्यमा बिक्री गरिन्छ । समुद्र सतहदेखि २५ मिटरसम्मका राष्ट्रिय वनमा प्रशस्त धुपी पाइने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । 

फक्ताङलुङ गाउँपालिका-६ घुन्सामा धुपीतेल उद्योग अहिले बेवारिसे अवस्थामा छ । दुई वर्षसम्म सञ्चालन भएपछि दर्ता प्रक्रिया पूरा हुन नसकेपछि बन्द गर्नुपरेको त्यसका सञ्चालक पेमा शेर्पाले बताउनुभयो । घुन्सामा उत्पादन भएको धुपीको तेल काठमाडौँमा प्रतिलिटर तीन हजार पाँच सयका दरले बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयोे । राष्ट्रिय वनमा सङ्कलित धुपीका पात व्यापारीले प्रतिकिलो ६० का दरले खरिद गर्दै आएको मिक्वाखोला गाउँपालिका-५ का  व्यापारी रिङ शेर्पाले बताउनुभयो । 

हिमाली क्षेत्रमा पाइने धुपीपात ताप्लेजुङबाट इलामको पशुपतिनगर हुँदै भारत निकासी हुने उहाँको भनाइ थियोे । नेपाल र भारतको नाका पशुपतिनगरमा प्रतिकिलो एक सय ६० का दरले खरिद बिक्री हुने व्यापारी शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले ताप्लेजुङदेखि इलामको पशुपति नाकाको बजारसम्म पुर्याएर त्यहीँका व्यापारीलाई बिक्री गर्छौ । त्यहाँका व्यापारीले भारतका विभिन्न बजारमा  बिक्री गर्छन् ।” नेपालमा पाइने धुपीका पातको माग भारतमा उच्च छ । रासस