बाबुराम कार्की
वराहक्षेत्र, फागुन ८ गते । किसानकै खेतबारीमा गएर बाली उत्पादन अवधिभर सामूहिक रुपमा किसानहरुलाई सिकाइने कृषक पाठशाला किसानमाझ प्रभावकारी बन्दै गएको छ ।
कृषिमा अधुनिक खेती प्रणाली भित्रिरहेका बेला सुनसरीका किसानहरु कृषक पाठशालामार्फत् प्राविधिक ज्ञान बटुलिरहेका छन् । किसानहरुकै बारीमा गएर बेर्ना राखी उत्पादन अवधिभर देखा पर्ने समस्याहरुमा केन्द्रित भई खोज र प्रयोगका आधारमा बाली उत्पानदन गरिने अभ्यासले किसानहरुमा प्राविधिक ज्ञान बढ्दै लगेको छ ।
जिल्लाका पालिकाहरुले कृषक पाठशाला कार्यक्रम राख्दा किसानहरुमा आधुनिक कृषि प्रविधि सम्बन्धी ज्ञान बढ्दै गएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार ज्ञान केन्द्र सुनसरीले दुई स्थानमा लहरे तरकारी बालीमा कृषक पाठशाला सञ्चालन गर्ने तयारी छ । किसानलाई तरकारी र अन्न उत्पादनमा आत्मनिर्भर बनाउन कृषक पाठशाला प्रभावकारी हुने गरेको छ ।
किसानहरुलाई व्यवहारिक प्रयोगात्मक र खोजपूर्ण तरिकाहरु अपनाएर बाली अवधिभर गरिने अवलोकन, विश्लेषण र समूह छलफल गराई तत्काल आएका समस्याहरुको समाधान गर्न पाठशालाले कृषक लाई दक्ष बनाउने गरेको हो । पाठशालामा कृषि प्राविधिकको सहयोगमा किसानहरुले आफैं रोग, किराको पहिचान गर्नेदेखि बालि उत्पादनसँग सम्बद्ध समस्याहरुमा केन्द्रित भई सामूहिक खोज गर्ने हुँदा किसानहरुमा प्राविधिक र प्रविधिको ज्ञान बढ्दै गएको छ ।
बारीदेखि बजारसम्मका बारेमा किसानलाई पाठशालामा सिकाई हुने हुँदा कृषकहरु पाठशालामा बढी आकर्षित हुन थालेको कृषि प्राविधिक निर बहादुर राई बताउनुहुन्छ । उहाँका अनुसार पाठशालामा किसानहरु भौतिक रुपमै उपस्थिति भएर सिकाई हुने हँुदा किसानहरु खेती गर्न अब्बल हुँदै गएका छन् । कृषक समूहमा गरिने अभ्यासले समूह बाहिरका किसानहरु समेत लाभान्वित हुँदै आएका छन् ।
कृषक पाठशालाको माध्यमबाट नविनतम कृषि प्रविधि किसान समक्ष पुर्याउन कोशी प्रदेश सरकारले २०७५ सालमै कृषक पाठशाला सञ्चालन कार्यविधि ल्याएको थियो । प्रदेश सरकारले किसानसम्म प्रविधि पुर्याउन पाठशाला कार्यक्रम कार्यान्वयन गरी प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ को दफा ३ को अधिकार प्रयोग (१) गरी लागु गरिएको थियो । अन्न बालीमा एक बाली उत्पादन अवधिभर गरिने प्रशिक्षक प्रशिक्षण तालिम प्राप्त कृषि प्राविधिकले मात्र गराउने हँुदा पाठशालामा प्रभावकारी सिकाई हँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।
जिल्लाको चतरा, प्रकाशपुर र मधुवनमा तरकारी, मकै बालीहरुमा कृषक पाठशाला सञ्चाल हुँदै आएको छ । कृषि प्राविधिक नीर बहादुर राईका अनुसार चतराको बगुवामा काक्रा र टमटर खेतीमा पाठशाला चलाइएको छ ।
पाठशालामा माटो तयारी गर्ने, नर्सरी राख्ने र विरुवा सार्नेदेखि उत्पादन हुँदासम्म देखिने रोग किराका बारेमा समेत जान्न पाएको जनजागृति (आइपिएम) कृषक पाठशाला चतराका कृषक गोपाल राईले बताउनुभयो । उहाँले भन्नुभयो, “बोट विरुवामा देखा पर्ने हरेक समस्याहरुको पहिचान गरेर सामुहिक रुपमा निष्कर्ष निकालिन्छ । पाठशालामा आएका सबै किसानले बुझने र आफ्नै हातले काम गर्न पाउँछन् ।”
नेपालमा उत्पादित मकैको जातीय परीक्षणको लागि प्रकाशपुरको देउराली टोलमा कृषक पाठशाला समूहमा चालाइएको छ । प्राविधिक र पाठशालामा सहभागी कृषकहरुले मकै बालीको निग्रानी गरिरहेको कृषि प्रविधिक राईले जानकारी दिनुभयो । आठ कठ्ठा क्षेत्रफलमा सञ्चालित पाठशालामा रामपुर ८, रामपुर १०, रामपुर १२, रामपुर १४ र रामपुर १६ लाई परीक्षणका लागि खेती गरिएको छ ।
मधुवनमा खनजोत गरी रोपिएको र शून्य खनजोत गरी रोपिएको मकैमा पाठशालामा सञ्चालन गरिएको छ । दुबै तरिकाको खेती गराईमा कुनमा बढी उत्पानद हुन्छ भनेर सिकाई भइरहको सहभागी रोशन गुप्ताले बताउनुभयो । कृषक हरुलाई जानकारी तथा चेतना जगाई कृषकको क्षमता विकास गरी कृषि उत्पानदमा वृद्धि गर्नु पाठशालाको मुख्य उद्देश्य रहेको सूचना अधिकृत प्रविणलाल श्रेष्ठले बताउनुभयो ।