• १३ मंसिर २०८१, बिहिबार

ताप्लेजुङमा चिराइतो निकासीमा वृद्धि

blog

जिल्ला बाहिर निकासी गर्न चिराइतो ट्रकमा लोड भण्डारण गर्दै स्थानीय व्यापारी । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन ७ गते । ताप्लेजुङमा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार विगत दुई वर्षको तुलनामा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको हो ।

जिल्लामा चिराइतो उत्पादनमा कमी आएको भएपनि पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार यस वर्ष निकासीमा वृद्धि भएको हो । तुलनात्मक रुपमा यो वर्ष केही परिमाणमा चिराइतो निकासी वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८०-८१ मा पाँच हजार ८२० किलोग्राम चिराइतो निकासी भएको छ ।

डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८-७९ मा तीन हजार २८० किलोग्राम मात्र चिराइतो निकासी भएको थियो । यस्तै आर्थिक वर्ष २०७९÷८० मा पाँच हजार ८०० किलोग्राम चिराइतो निकासी भएको छ । अघिल्लो दुई वर्षभन्दा पछिल्लो अर्थात यो वर्ष थोरै परिमाणमा भए पनि चिराइतो निकासी वृद्धि भएको डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहले जानकारी दिनुभयो ।

पछिल्लो केही वर्षयता चिराइतोको मूल्यमा आएको गिरावटसँगै धेरै किसानले खेती लगाउन छाडेको पाइएको डिभिजनल वन अधिकृत साहले बताउनुभयो । किसानले खेती लगाउन छोडेसँगै उत्पादन घट्दै गएको भए पनि निकासीका हिसाबले बितेको दुई वर्षको तुलनामा यो वर्ष निकासी वृद्धि भएको उहाँको भनाइ छ ।

यस वर्षका चिराइतो निकासीबाट प्रतिकिलोग्राम १५ रुपियाँका दरले ८७ हजार ३०० रुपियाँ राजस्व सङ्कलन भएको पनि डिभिजन वन कार्यालयले जानकारी दिएको छ । चिराइतो उत्पादनमा कमी आउन थालेपछि निकासी घट्दै गएको र चिराइतो निकासीबापत सङ्कलन हुने राजस्व रकम पनि घटेको वन कार्यालयले जनाएको छ । यता चिराइतोको मूल्य पनि यो वर्ष केही वृद्धि भएको छ । स्थानीय व्यापारीका अनुसार गत वर्षको तुलनामा यसवर्ष प्रतिमन (४० किलोग्राम) पाँच हजार रुपियाँसम्म मूल्य वृद्धि भएको छ । गत वर्ष चिराइतो प्रतिमन ४२ हजार रुपियाँ सम्ममा कारोबार भएको स्थानीय व्यापारी टासी शेर्पाले बताउनुभयो । उहाँका अनुसार यस वर्ष भने ४५ देखि ४८ हजार रुपियाँ प्रतिमनका दरले चिराइतोको कारोबार भएको छ ।

हाल यहाँ उत्पादन हुने चिराइतो भारत निर्यात हुँदै आएको स्थानीय व्यापारीले जनाएका छन् । कोरोना भाइरस (कोभिड–१९) महामारीपछि चीनको स्वशासित क्षेत्र तिब्बतसँगको उत्तरी नाका टिपताला भञ्ज्याङ बन्द भएपछि चिराइतो भारततर्फ निर्यात हुन थालेको हो । टिपताला नाका खुला हुँदासम्म तिब्बतका व्यापारीसँग चिराइतोको कारोबार गर्दा यहाँका व्यापारीले निकै राम्रो अर्थात प्रतिमन ७५ देखि एक लाख रुपियाँसम्म पाउने गरेका थिए ।

टिपताला नाका बन्द भएसँगै भारततर्फ निर्यात हुन थालेपछि चिराइतोको मूल्य पनि घटेको स्थानीय व्यापारी शेर्पाको भनाइ छ । उहाँका अनुसार तिब्बतमा अहिले पनि चिराइतोको मूल्य राम्रै भएको बताउनुभयो । टिपताला नाका खुलेमा यहाँका किसान तथा व्यापारीले चिराइतोबाट राम्रै मूल्य आर्जन गर्ने र खेती बिस्तार भई उत्पादन पनि बढ्ने स्थानीय व्यवसायी बताउँछन् ।