• १५ मंसिर २०८१, शनिबार

कालोपत्रे गरिएको हुम्डे विमानस्थल अलपत्र

blog

मनाङको हुम्डे विमानस्थल । तस्विरः यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट

मनाङ, फागुन ७ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले २०६९ सालमा ९ करोड रुपियाँ खर्च गरेर कालोपत्रे गरेको मनाङको हुम्डे विमानस्थल अलपत्र परेको छ । 

विकट हिमाली क्षेत्रमा यातायातको भरपर्दो साधनका रूपमा रहेको विमानस्थल सञ्चालनमा नआउँदा हेलिकोप्टरमा लाखौँ रुपियाँ तिरेर बिरामीलाई उपचारका निम्ति लैजानुपर्ने बाध्यताबाट मनाङवासी मुक्त हुन सकेका छैनन् ।

कालोपत्रे गरेको केही दिनमै परीक्षण उडान भएको थियो । तर नियमित उडान हुन भने सकेको छैन । लामो समयदेखि बन्द भएको विमानस्थल सञ्चालनमा सरकारले चासो नदेखाउँदा गौचरणमा परिणत भएको छ भने अर्कोतिर सरकारको करोडौँ लगानी खेर गएको छ । 

परीक्षण उडानपछि पूर्णरूपमा बन्द रहेको हुम्डे विमानस्थलको ६ सय मिटर रहेको धावनमार्ग कालोपत्रे गरिएसँगै बढाएर ९ सय मिटर बनाइएको छ । कालोपत्रे हुनुअघि पोखराबाट सातामा दुई दिन नेपाल वायुसेवा निगमले उडान भर्दैआएको थियो । केही वर्ष मात्र सञ्चालन भएको यस विमानस्थल २०७० सालबाट पूर्ण रूपमा बन्द छ ।

गण्डकी प्रदेश सरकारले पुनः उडान सुरु गर्ने भन्दै परीक्षण उडान गरेता पनि नियमित उडान हुन सकेको छैन । ३ हजार तीनसय ३० मिटर उचाइमा रहेको हुम्डे विमानस्थलमा २०३९ असोजदेखि उडान सुरु गरिएको थियो । 

विमानस्थल कालोपत्रे गरिए पनि अवतरण गर्नमा भौगोलिक विकटताले गर्दा समस्या रहेको पूर्वमन्त्री तथा सांसद राजीव गुरुङले बताउनुभयो । उहाँले सिङ्गल इन्जिन भएको जहाजको सङ्ख्या अत्यन्त न्यून रहेको र पहिला पञ्चायतकालमै विमानस्थल बनाउँदैमा स्वर्गद्वारी हिमाललाई बेवास्ता गरी निर्माण गरिएकाले सञ्चालनमा कठिनाइ रहेको बताउनुभयो । 

गुरुङले भन्नुभयो, ‘दूरीको हिसाबले ३ हजार रुपियाँ भाडा पर्ने भए पनि एकातर्फी मात्र उडान भर्नुपर्ने बाध्यता हुम्डेमा छ, फर्कँदा यात्रु पाइँदैन अनि भाडा बढाउनुपर्ने अवस्था आउँदा १२ हजारको हाराहारीमा पुग्ने बताइन्छ । महँगो भाडामा पर्यटक उड्न चाहँदैनन् ।’ सिङ्गल इन्जिन भएको विमान नेपालमा २ वटा मात्र रहेकाले सबैतिर भ्याउन नसक्ने तर्क उहाँले गर्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा विमानस्थल निर्माण गर्दा हिमाली क्षेत्रमा न्यूनतम ४५ करोड, पहाडमा ३५ करोड र तराईमा ५० करोड रुपियाँ खर्च गरिएको छ । विमानस्थलमा कति खर्च हुन्छ भन्ने यकिन नभए क्षेत्रफल र घनत्वका आधारमा खर्च निर्धारण हुन्छ । 

मनाङमा पर्यटकको बढी आवत–जावत हुने स्थान भएकाले यहाँको विमानस्थल निरन्तर उडान भर्ने उद्देश्यले २०७६ भदौ २७ देखि पुनः सञ्चालनमा ल्याइयो । गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्रीले यस विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन जमर्को गर्नुभयो । तर निरन्तरता पाउन सकेन । 

यहाँको विमानस्थल सञ्चालन हुन नसक्दा स्थानीयका साथै पर्यटकले सास्ती भोग्नुपरेको छ । हुम्डे विमानस्थल उच्च स्थानमा रहेकाले अक्सिजनको कमीले हुनसक्ने लेक लाग्ने बिरामी तथा पर्यटकलाई समस्या हुनेगरेको बताइन्छ । बिरामी वा दुर्घटना भएमा यातायात समस्या रहेको यस स्थानमा हवाई मार्ग मात्र वैकल्पिक तथा उपचारको पहुँचमा पुग्ने आधार हो । तर लामो समयदेखि यहाँ निर्माण भएको विमानस्थल सञ्चालन हुन नसक्दा समस्या रहेको छ । 

हिमाली क्षेत्र भएकाले यहाँको हावापानीमा परिवर्तन आइरहने तथा निर्माण भएको विमानस्थल नचल्दा स्वास्थ्यको पहुँचमा पुग्न सकस हुने गरेको स्थानीय बताउँछन् । गम्भीर चोटपटक वा रोग लागेर अचानक अस्पतालसम्म पुग्नुपर्ने अवस्थामा भने हेलिकोप्टर मगाउनुपर्ने अवस्था रहेको होटल व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।