• १८ वैशाख २०८१, मङ्गलबार

लघुवित्तको निष्क्रिय कर्जा बढ्यो

blog

काठमाडौँ, फागुन ७ गते । चालु आर्थिक वर्ष २०८०/८१ दोस्रो त्रैमासम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा रकममा वृद्वि भएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०८० असारको तुलनामा ३.६६ प्रतिशतले बढेर २०८० पुस मसान्तमा तीन खर्ब ८५ अर्ब ५३ करोड रुपियाँ पुगेको छ ।

२०८० असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ५.५२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर ४०.७८ प्रतिशत छ जुन गत आवको सोही अवधिमा ८२.६२ प्रतिशतले बढेको थियो । २०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक संस्थाले पुनरतालिकीकरण गरेको कर्जा रकम ४२ अर्ब १७ करोड रहेको छ ।

चालु आवको पुस मसान्तसम्ममा क्षेत्रगत कर्जा प्रवाहतर्फ लघुवित्त वित्तीय संस्थाबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सामा सामान्य वृद्वि भएको छ । लघुवित्त वित्तीय संस्थाले २०८० पुस मसान्तमा प्रवाह गरेको कुल कर्जाको ४८.९२ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको छ । २०८० असार मसान्तमा कृषि क्षेत्रमा ४८.३२ प्रतिशत कर्जा प्रवाह भएको थियो । आव २०८०/८१ को दोस्रो त्रैमाससम्ममा लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये घरेलु तथा लघु उद्योग क्षेत्रमा ४.४२ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा २५.९१ प्रतिशत कर्जा प्रवाह भएको छ ।

यस्तै चालु आवको पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था बढेको छ । २०८० पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ७.१६ प्रतिशतले बढेर एक अर्ब ६८ करोड पुगेको छ । जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ६७.८६ प्रतिशतले वृद्वि भई ७१ करोड पुगेको छ । अघिल्लो आवको दोस्रो त्रैमासमा कुल कर्जा नोक्सानी व्यवस्था रकम १६.८७ प्रतिशतले र निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम ४४.७७ प्रतिशतले बढेको थियो ।

२०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्थामा वृद्धि भएको छ । २०८० पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाको कुल कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा १९.३८ प्रतिशतले बढेर २० अर्ब २२ करोड पुगेको छ । जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ३२.८९ प्रतिशतले वृद्वि भई १४ अर्ब १७ करोड पुगेको छ । अघिल्लो आवको दोस्रो त्रैमासमा कुल कर्जा नोक्सानी व्यवस्था रकम ३५.६२ प्रतिशत र निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम ७०.२२ प्रतिशतले बढेको थियो ।

कोरोनापछि निरन्तर दबाब

लघुवित्त बैङ्कर्स सङ्घका महासचिव सञ्जयकुमार मण्डल कोभिडपछि आर्थिक मन्दीसम्मको अवस्थामा आइपुग्दासम्म लघुवित्त संस्थाहरूमा एक किसिमको दबाब बढदै गएको औँल्याउनुभयो । अहिले केही समूहले ऋण मिनाहाको हल्ला चलाउने खालका क्रियाकलापले गर्दा समस्या झनै बढेको उहाँ बताउनुहुन्छ । “बैङ्क तथा वित्तीय संस्थाको बदनाम गर्नेदेखि २० लाख रुपियाँसम्मको कर्जा मिनाहा गर्ने हल्ला गरेर सिङ्गो वित्तीय क्षेत्रलाई नै अहिले प्रभावित गर्ने काम भएको छ,” उहाँले भन्नुभयो, “वित्तीय पहुँच गाउँ गाउँमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने लघुवित संस्थाहरूलाई बचाउन सबैको सहकार्य आवश्यक छ ।” स्वस्थ लघुवित्त, समृद्ध सदस्य भन्ने नाराका साथ राजधानीमा शनिबारदेखि सुरु भएको चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन र त्यहाँ भएका छलफलले नयाँ सन्देश दिएको उहाँको भनाइ छ ।

सापटी रकममा ह्रास

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको सापटी रकममा ह्रास आएको छ । यस्ता लघुवित्त वित्तीय संस्थाको प्रमुख वित्तीय स्रोत पुँजी र सापटी रहेको छ । २०८० पुस मसान्तसम्ममा थोक लघुवित्त वित्तीय संस्थाले ४८ अर्ब ३६ करोड वित्तीय स्रोत सङ्कलन गरेका छन् । जुन २०८० असार मसान्तको तुलनामा ८.३१ प्रतिशतले कम हो । आव २०७९/८० को दोस्रो त्रैमासिक अवधिमा वित्तीय स्रोत सङ्कलनमा ५.५७ प्रतिशतले वृद्वि भएको थियो । लघुवित्त वित्तीय संस्थाहरूले प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्न सक्ने व्यवस्था रहेको छ । २०८० पुस मसान्तसम्ममा वित्तीय स्रोत सङ्कलन अघिल्लो त्रैमासको प्राथमिक पुँजीको ४.६४ गुणा रहेको छ ।

लघुवित्त वित्तीय संस्थाको सङ्ख्या मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेको देखिन्छ । २०७९ पुस मसान्तसम्ममा ६४ वटा लघुवित्त वित्तीय संस्थाहरू रहेकोमा २०८० पुस मसान्तसम्ममा ५७ वटा कायम भएको छ । कुल ५७ वटा लघुवित्त वित्तीय संस्थामध्ये तीन वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ५४ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था रहेका छन् ।

लघुवित्त वित्तीय संस्थाहरूको शाखा विस्तार पछिल्लो समयमा सुस्त गतिमा रहेको देखिन्छ । अघिल्लो आवको दोस्रो त्रैमासमा लघुवित्त वित्तीय संस्थाको शाखा सङ्ख्या ०.३४ प्रतिशतले वृद्वि भएकोमा यस आवको दोस्रो त्रैमासमा भने ०.०६ प्रतिशतले वृद्वि भएको देखिन्छ । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरूको सदस्य सङ्ख्या ०.२२ प्रतिशतले घटेर ६० लाख तीन हजार पुगेको छ भने राष्ट्र बैङ्कको निर्देशनबमोजिम एक संस्था एक ऋणीको व्यवस्था भएसँगै ऋणीको सङ्ख्या ८.३३ प्रतिशतले घटेर २७ लाख ३६ हजार पुगेको छ ।

देशगत रूपमा लघुवित्त वित्तीय संस्थाका शाखाहरू लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रहेको देखिन्छ । २०८० पुस मसान्तसम्ममा उक्त प्रदेशमा भएका शाखाको सङ्ख्या कुल सङ्ख्याको २३ प्रतिशत (११५१ शाखा) रहेको छ । पहुँचका हिसाबले कर्णाली प्रदेशमा लघुवित्त संस्थाको उपस्थिति न्यून रहेको देखिन्छ । उक्त प्रदेशमा कुल शाखा सङ्ख्याको पाँच प्रतिशत मात्रै (२३० शाखा) रहेका छन् ।