• २२ वैशाख २०८१, शनिबार

छात्र फुटबलमा लोयल्टीको दोहोरो जित

blog

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू ।

काठमाडौं, फागुन ६ गते । आयोजक लोयल्टी एकेडेमी ‘बी’ ले १२औँ लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ ।

मण्डिखाटारस्थित घरेलु मैदानमा लोयल्टी ‘बी’ ले उद्घाटन खेलमा सिद्धार्थ बनास्थलीलाई २–० गोलले हरायो । लोयल्टीकोृ जितमा ‘म्यान अफ दि म्याच’ बन्नुभएका विंगु थापाले दुई गोल गर्नुभयो । 

अर्को खेलमा लोयल्टी ‘बी’ ले काभ्यालाई ९–० गोलको फराकिलो अन्तरले हरायो । उक्त खेलमा विंगु थापाले पाँच, साहिल राईले तीन र यसुप खनालले एक गोल गर्नुभयो । काभ्याका सुप्रिम केसी ‘म्यान अफ दि म्याच’ हुनुभयो । दोहोरो जितसँगै लोयल्टी ‘बी’ ले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । 

अर्को खेलमा चेल्सी वर्ल्ड स्कुलले मनास्लुलाई २–० गोलले पाखा लगायो । चेल्सीका दर्शित थापा र शङ्कर शेर्पाले एक एक गोल गर्नुभयो । मनास्लुका निश्चल अधिकारी ‘म्यान अफ दि म्याच’ चुनिनुभयो । रिलयान्स इन्टरनेसनल एकेडेमी र सिद्धार्थ वनस्थलीबिचको खेल १–१ गोलको बराबरीमा सकियो । 

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो । उद्घाटनको क्रममा मन्त्री लिम्बुले विद्यालय खेलकुदले भविष्यका खेलाडी पहिचान गर्न मद्दत पुग्ने बताउनुभयो । 

लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्बाङले स्थापनाकालदेखि नै लोयल्टीले विद्यार्थीको चौतर्फी विकासलाई ध्यानमा राखी खेलकुदसँगै अन्य अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको बताउनुभयो । 

लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार केदार ढुङ्गाना, वडा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । फागुन ११ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक लोयल्टीको दुई सहित १३ टिम सहभागी छन् ।