• ४ जेठ २०८१, शुक्रबार

बर्दिबासमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

रवीन्द्र उप्रेती

बर्दीबास, फागुन ६ गते । बर्दिबासमा सोमबारदेखि प्रदेश स्तरीय चौथो मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर बर्दिबास नगरपालिका तथा बर्दिबास ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा पुरुष डवल्स स्पर्धामा प्रतिस्पर्धा हुने जनाइएको छ । 

प्रतियोगितामा मधेश प्रदेशका ८ र सिन्धुलीसमेत गरी ९ जिल्लाका ३२ वटा टिमबिच प्रतिस्पर्धा हुने आयोजक बर्दिबास ब्याडमिन्टन सङ्घका अध्यक्ष पोषणा थापाले संचारकर्मीलाई बताउनुभयो । ‘‘नाम दर्ता गर्ने क्रम जारी रहेकाले प्रतियोगितामा सहभागी हुने टिमको सङ्ख्या थपघट हुन सक्छ,’’ थापाले बताउनुभयो ।

प्रतियोगितामा विजयी टिमलाई ३१ हजार रुपियाँसाथै मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गर्ने व्यवस्था मिलाइएको छ । यस्तै उपविजेता टिमले १५ हजार र तेस्रो स्थान प्राप्त गर्ने दुई टिमलाई ११ हजार रुपियाँ प्रदान गरिनेछ । 

पाँच लाख ५० हजार रुपियाँ लागत खर्च अनुमान गरिएको प्रतियोगिताका लागि बर्दिबास नगरपालिकाले चार लाख रुपियाँ सहयोग गरेको छ । बाकी खर्चको जोहो एन्ट्री चार्जबाट प्राप्त रकम र अन्य श्रोतबाट व्यवस्थापन गरिने आयोजकले जनाएको छ । 

बर्दिबास ब्याडमिन्टन कभर्ड हलको तीन वटा कोर्टमा एकैसाथ आयोजना हुने प्रदेश स्तरीय प्रतियोगितालाई सभ्य र भव्य रूपमा सञ्चालन गर्नका लागि खेल व्यवस्थापन, अर्थ व्यवस्थापन, मेस व्यवस्थापन लगायत छुट्टाछुट्टै पाँच वटा उपसमिति गठन गरिएको छ । 

बर्दिबासमा सडक खाना महोत्सव पनि चलिरहेको अवस्थामा आयोजना हुन लागेको प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताप्रति थप आकर्षण र चासो बढेको आयोजकसङ्घका अध्यक्ष थापाले बताउनुभयो ।