• १४ मंसिर २०८१, शुक्रबार

पुनः प्रयोग गर्न मिल्नेगरी कपडा बैंक स्थापना

blog

क्लोथ बैंकको शुभारम्भ गर्दै नगरप्रमुख पाण्डेय, उपप्रमुख अर्याल र महानायक हमाललगायत । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली 

सिद्धार्थनगर, फागुन ६ गते । बुटवलमा कपडा बैंकको स्थापना गरिएको छ । बुटवल उपमहानगरपालिकाको समन्वय तथा क्लोथ एण्ड फुड बैंक नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैंकको स्थापना गरिएको हो । 

महानायक राजेश हमाल संरक्षक रहेको क्लोथ एण्ड फुड बैंक नेपालले बुटवलमा कपडा सङ्कलनका लागि क्लोथ बक्सको स्थापना गरी सुरुवात गरेको हो । सम्झौतापछि शनिबार औपचारिक रुपमा बुटवलमा क्लोथ बैंक सञ्चालनमा आएको छ । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुराना कपडालाई रिफाइन गरी पुनः प्रयोग गर्न मिल्नेगरी कपडा बैंंकको स्थापना गरिएको बताउनुभयो । जनताले अहिले भौतिक मात्र नभएर मानवीय विकासको खोजी गर्दैआएको बताउनुभयो । बुटवल उपमहानगरपालिकाले भौतिक विकासमा मात्र नभएर मानवीय विकासको लागि बजेट खर्च गर्दैआएको उहाँले बताउनुभयो । 

उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको ठाउँ–ठाउँमा कपडा सङ्कलन केन्द्रको स्थापना गरी पुराना कपडा सङ्कलन गर्न सहयोग गर्न आग्रह गर्नुभयो । महानायक तथा क्लोथ एण्ड फुड बैंक नेपालका संरक्षक राजेश हमालले नागरिकलाई मौलिक हक प्रदान गर्नु राज्यको प्रमुख भूमिका रहे पनि जनस्तरबाट पनि सहयोग गरिनुपर्ने बताउनुभयो ।

विकसित देशमा पनि गाँस, बास, कपासजस्ता मानिसको नैसर्गिक अधिकारलाई सरकार र जनस्तरबाटै सहयोग उठ्नेगरेको बताउँदै नेपालमा पनि जनस्तरबाटै सहयोग गर्न सकिने बताउनुभयो । समाजका सक्षम ब्यक्तिहरुले विभिन्न संघ संस्थाको स्थापना गरी नागरिकलाई मौलिक हक प्रदान गर्न सहयोग गर्नुपर्ने महानायक हमालले बताउनुभयो ।

क्लोथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जिसीले देशका २५४ वटा स्थानीय तहमा समन्वयन गरी कपडा बैंकको स्थापनाको तयारी गरिएको र बुटवलबाट सुरुवात गरिएको जानकारी दिनुभयो ।

पुराना प्रयोगमा नआएका कपडा, जुत्ता, झोला, किताब सङ्कलन गर्ने र प्रशोधन गरेर आवश्यक ब्यक्तिलाई निःशुल्क रुपमा कपडा दिने उद्देश्यले संस्थाको स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । 

७ वटै प्रदेशमा कपडा प्रशोधनको स्वरुम सञ्चालन गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । केही दिनअघि बुटवल उपमहानगरपालिका रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपालबिच क्लोथ बैंक सञ्चालन गर्ने सम्झौता भएको आविस्कार खनालले जानकारी दिनुभयो ।