• १३ साउन २०८१, आइतबार

महिलाले गराए पाठेघर क्यान्सरसम्बन्धी निःशुल्क परीक्षण

blog

पाठेघर क्यान्सरसम्बन्धी स्क्रिनिङ गराउन स्वास्थ्य परीक्षण गराउँदै महिला । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन ६ गते । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ का महिलाले पाठेघर क्यान्सर रोग पत्ता लगाउन आयोजना गरिएको निःशुल्क स्क्रिनीङ्गमा २३६ जना महिलाले परीक्षण गराएका छन् । 

महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै पाठेघरको क्यान्सरबारे स्क्रिनीङ्ग गर्न निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको वडा ४ का वडा अध्यक्ष गोपाल पुनले बताउनुभयो । 

उहाँले पछिल्लो समय क्यान्सर रोगसम्बन्धी बिरामीहरू बढ्दै गइरहेको हुँदा सोसम्बन्धी महिलाको स्क्रिनीङ्ग गर्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो । 

डा. राम विष्टलगायतको प्राविधिक टोलीले शिविरमा आएका महिलाको स्वास्थ्य परीक्षण गरी पाठेघरको स्क्रिनीङ्ग गरेकोमा १० जना महिलाको रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।  

परीक्षणमा पोजेटिभ रिजल्ट आएका महिलाको थप स्वास्थ्य परीक्षण यो स्वास्थ्य शिविरमा अहम् भूमिका खेलेको जनसेवा फार्मेसीमा निःशुल्क रूपमा गरिने वडा अध्यक्ष पुनले बताउनुभयो । 

केही दिन पहिले मात्र वडा ४ का वडा कार्यालयका एक महिला कर्मचारीको क्यान्सरका कारण मृत्यु भएकाले वडाका महिलाको पाठेघरको निःशुल्क स्क्रिनीङ्ग गरी रोग भए नभएको पत्ता लगाउने काम गरिएको वडा कार्यालयले जनाएको छ ।  

नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडामध्ये वडा ४ ले बेला–बेलामा निरन्तर स्वास्थ्य शिविर, सामाजिक कार्यहरू, शिक्षासम्बन्धी कामहरू गरेर जनताको सेवा गरिरहेको स्थानीयवासी रहीस अहमद हलवाइले बताउनुभयो । उहाँले वडा कार्यालयमा आयोजना गरिने विभिन्न प्रकारका निःशुल्क स्वास्थ्य शिविरबाट वडाका अधिकांश बासिन्दाले लाभ लिइरहेको बताउनुभयो ।