• १३ असोज २०८१, आइतबार

प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्दलाई

blog

कविराज घिमिरे

हिले, फागुन ६ गते । धनकुटाको सहिदभूमि गाउँपालिकामा सम्पन्न चौथो प्रकाश थापा स्मृति कप प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका भोजपुरले उचालेको छ । सहिदभूमिको वडा नम्बर एक घंघरुमा शनिबार सम्पन्न फाइनल खेलमा षडानन्द नगरपालिका भोजपुरले झापाको दमक नगरपालिकालाई २५–२२, २५–१५ र २५–२२ को सेटमा हराउँदै उपाधि जितेको हो । विजेता षडानन्द नगरपालिकाले उपाधिसँगै नगद एक लाख एक्काइस हजार एक सय एक्काइस रुपियाँ हात पारेको छ भने उपविजेता दमक नगरपालिकाले ६५ हजार रुपियाँमा चित्त बुझाएको छ । 

कोशी प्रदेशका नौ पालिकाको सहभागिता रहेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी षडानन्दका बालकुमार रायमाझी घोषित हुनुभयो । उहाँले नगद १० हजार रुपियाँ हात पार्नुभयो । यस्तै उत्कृष्ट स्पाइकर षडानन्दकै कृष्ण रसाइली, उत्कृष्ट सरभर सभापोखरी गाउँपालिका संखुवासभाका प्रदिप कट्टेल र उत्कृष्ट सेटर षडानन्दका जयराम खत्री घोषित हुनुभयो। यता उत्कृष्ट डिफेन्स बेलबारी नगरपालिका मोरङका लीला श्रेष्ठ, उत्कृष्ट ब्लकर दमकका रोमन बस्नेत र उत्कृष्ट कोच षडानन्दका कुमार कटुवाल घोषित हुनुभयो । कार्यक्रममा कोशी प्रदेशको आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापाले पुरस्कार वितरण गर्नुभयो । विधागत उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपियाँ प्राप्त गरेको सहिद प्रकाश थापा स्मृति ट्रष्टका सचिव अर्जुन थापाले जानकारी दिनुभयो । प्रतियोगितामा कोशी प्रदेशका विभिन्न ९ पालिकाको सहभागिता थियो । २०५७ सालमा तत्कालीन माओवादीसँगको कालिकोटमा भएको भिडन्तमा मृत्यु भएका प्रहरी नायब निरीक्षक प्रकाश थापाको सम्झनामा २०७६ सालबाट ट्रस स्थापना गरी प्रतियोगिता हुँदै आएको छ।

विजेता टोली । तस्बिरः गोरखपात्र