• १३ साउन २०८१, आइतबार

निःशुल्क स्वास्थ्य शिविरमा ३७५ जनाले लिए सेवा

blog

निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउँदै प्रहरीहरु । तस्बिर : सिराज खान ।

सिराज खान 

नेपालगन्ज, फागुन ५ गते । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा नेपालगन्जमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ३७५ जनाले स्वास्थ्य परीक्षण गराउनुका साथै निःशुल्क औषधी समेत प्राप्त गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय, बाँकेको सहकार्य तथा शिक्षण अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा बाँके जिल्ला अन्तर्गतमा रहेका विभिन्न कार्यालयमा कार्यरत प्रहरी कर्मचारी तथा उनका आश्रित परिवारसमेत गरेर ३७५ जनाले स्वास्थ्य चेकजाँच गराएर सेवा लिएको बाँकेका प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहोराले बताउनुभयो । 

उहाँले सो स्वास्थ्य शिविरमा नेपालगन्ज मेडिकल कलेजका विशेषज्ञ चिकित्सकद्वारा दाँत सम्बन्धी रोग, स्त्री रोग, बालरोग लगायतका विभिन्न रोगसँग सम्बन्धित प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण, परामर्श तथा निःशुल्क औषधी वितरण गरिएको बताउनुभयो । 

यसअघि सो शिविरको उद्घाटन नेपाल प्रहरी श्रीमती संघका केन्द्रीय अध्यक्ष लक्ष्मी कुवँरले गर्नुभएको थियो । उहाँले सो अवसरमा बोल्दै यस्ता स्वास्थ्य शिविरबाट दिनरात जनताको सेवामा खटिने राष्ट्रसेवक प्रहरी र उनका परिवारको उपचारमा सहज हुने बताउनुभयो । 



सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुँवेर कडायत, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका अध्यक्ष निलम कडायत, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका प्रशासन प्रमुख कुमार अधिकारी, जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो । 

स्वास्थ्य शिविर सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा बाँकेका प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहोरा, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका प्रशासन प्रमुख कुमार अधिकारी र चिकित्सकलाई नेपाल प्रहरी श्रीमती संघका केन्द्रीय अध्यक्ष लक्ष्मी कुवँरले प्रंशसापत्र प्रदान गर्नुभएको थियो ।