• १३ साउन २०८१, आइतबार

निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा

blog

पृथ्वीचन्द्र अस्पताल । फाइल तस्बिर

पाल्हीनन्दन (नवलपरासी), फागुन ५ गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-५ बुद्धचोकमा निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार निर्माण भइरहेको उक्त अस्पतालको हालसम्म भौतिक प्रगति ९५ प्रतिशत रहेको जनाइएको छ । 

पचास शय्याको उक्त अस्पताल निर्माणका लागि वि.सं.२०७८ असार १४ गते श्यामसुन्दर एण्ड एन्डी जिबी कन्स्ट्रक्सनसँग १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । गत असार ३ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएकामा कोभिडका कारण जनशक्ति तथा बालुवा र गिटीको अभावलगायत कारणले काम नसकिएपछि म्याद थप गरिएको निर्माण कम्पनीका इञ्जिनियर अरविन्द मण्डलले बताउनुभयो । 

उहाँका अनुसार फागुन मसान्तसम्म उक्त भवन अस्पताल विकास समितिलाई हस्तान्तरण गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले १९ लाख (भ्याटसहित) लागत लाग्ने अनुमान गरेको थियो । अनुमानित लागतभन्दा करिब ३३ प्रतिशत खर्च कम लाग्ने गरी अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएपछि १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको मन्त्रालयले जनाएको छ । निर्माणाधीन नयाँ भवनको रङरोगन र फिनिसिङको काम भइरहेको इन्जिनियर मण्डल बताउनुभयो । “वित्तीय प्रगति ९१ प्रतिशत र भौतिक प्रगति ९५ प्रतिशत भइसकेको छ”, उहाँले भन्नुभयो, “फागुनसम्ममा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी काम गरिरहेका छौँ ।” जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुँदा यहाँका नागरिक उपचारका लागि बुटवल, भैरहवा, भरतपुर र भारत पुग्ने गरेका थिए । 

यो अस्पताल सञ्चालनमा आएसँगै यहाँका नागरिकको स्वास्थ्यमा पहुँच विस्तार हुनुका साथै समयमा नै उपचार सुविधा पाउने अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताउनुभयो । भौतिक पूर्वाधार काम सम्पन्न हुने बित्तिकै फागुन अन्तिमदेखि नयाँ भवनबाट सेवा दिने लक्ष्य रहेको उहाँको भनाइ थियो । अध्यक्ष गुप्ताले भन्नुभयो, “पुरानो भवनमा भएका उपकरण सार्नुपर्ने हुन्छ । नयाँ भवनमा सर्दा केही संरचना निर्माण गर्नुपर्ने भएकाले थप रकमको आवश्यकता परेको छ । यसका लागि प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ ।” 

प्रादेशिक अस्पतालका रूपमा सञ्चालन तथा व्यवस्थापनका लागि थप जनशक्तिको आवश्यकता पर्ने भएकाले लुम्बिनी प्रदेश सरकारसँग पहल भइरहेको उहाँले जानकारी दिनुभयो । “अस्पतालमा लैङ्गिक हिंसामा परेका महिलालाई निःशुल्क उपचारको व्यवस्था गर्नेछौँ”, अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.किरण पाण्डेले भन्नुभयो । पचास शय्याको उक्त अस्पतालमा ओपिडी, परिवार नियोजन, खोप, शल्यक्रिया, प्रसूति सेवालगायत आधुनिक ल्याबको पनि व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । रासस